खाडीले घर न घाटको बनाएको छ

 बैशाख १३, २०७७ शनिबार ११:४०:४८ | मेरो कथा मेरो भोगाई

गौरब जंग क्षेत्री, कुवेत ।

डेढ दशक परदेशमा बिताउँदा यो परदेशले धेरैथोक गरेछ । लक्का जवानको स्वरुप नै फेरिदिएछ । तर पनि खै किन यो ठाउँबाट मुक्ति मिलेको छैन ? मलाई नै थाहा छैन ।

खाडीले मेरो मात्र होइन, आफ्नो पनि स्वरुप बदलेको बदलेकै छ । मेरै हातले बनाएका गगनचुम्बी भवनले आकार लिएको छ । सबैको ध्यान खिचेको छ । तर म त्यही भवनको अघिल्तिर सेल्फी खिच्न पनि नसुहाउने भइसकें ।

हिजो जस्तै लाग्छ त्यो कालो झोलामा सपना बोकेर हिँडेको । त्यही झोलाको सिरानी हालेर सुतेको । झोला बोकेर हिँड्दा मेरो मात्र सपना थिए, दिन बित्दै जाँदा मेरा सपना साझा भए । अहिले डेढ दसश हुँदा पनि पूरा हुने छाँटकाँट देखाउँदैन ।

सीमित आम्दानीको लागानी केही प्रतिशत शिक्षामा गरेको छु । सँगै मेरो अर्को सपना पनि थपिएको छ, छोराछोरीलाई पढाएर उच्च शिक्षा दिनु छ ।

भोलि मेरो जस्तो अवस्था नआओस् । त्यो लगानी र प्रतिफल एक लाल पनि आशा राख्न नमिल्ने ।

मेरो साथ अब त्यही सपना बोकेको खाली झोला र टक्ले तालु, सेतै फुलेको दारी र कपाल अनि चाउरिएको थुतुनो मात्रै छ । हात गोडा दुख्ने बिमार । निराश मन । मलाई थाहा छ अहिले त यो सहरलाई पनि कोरोनाले पिरोलेको छ ।

अब भोलिका दिनमा मलाई यो खाडीले जसरी आएको थिए त्यस्तै गरी पठाउने छ । साच्चै भनौं भने त मेरो जीवनलाई यो खाडीले घर न घाटको बनाएको छ ।

 

अन्तिम अपडेट: असार १२, २०७७

तपाईको प्रतिक्रिया