कोशी प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आंशिक बदली, तराईका केही...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – साना तथा मझौला उद्योग र असङ्गठित क्षेत्रका मजदुरलाई सम्बोधन गर्ने गरी आउँदो आर्थिक वर्षको बजेट आउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा कोरोनाका कारण साना उद्योग र असङ्गठित क्षेत्रका श्रमिकहरु सङ्कटमा परेकाले आगामी बजेटमा सम्बोधन हुनुपर्ने सांसदहरुले बताएका हुन् ।
लकडाउनका कारण श्रमिकहरु सङ्कटमा परेको, विदेशमा धेरैको रोजगारी गुम्ने खतरा रहेको अवस्थामा बजेटबाट ती समस्या सम्बोधन हुनुपर्नेमा सांसदहरुको माग छ ।
सांसद देवेन्द्र पौडेलले अहिले असङ्गठित क्षेत्रका श्रमिक समस्यामा रहेको र रेमिट्यान्स पनि धरापमा रहेकाले नीति कार्यक्रममा यी कुराहरु सम्बोधन हुनुपर्ने बताउनुभयो । साना उद्योगहरुले ठूला उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा घरेलु उद्योगलाई प्रोत्साहन गर्न बजेट आउनुपर्ने उहाँले बताउनुभयो ।
सांसद भिमसेनदास प्रधानले कृषिलाई प्राथमिकीकरण गर्दै घरेलु तथा मझौला उद्योगहरुलाई अगाडि बढाउने गरी बजेट आउनुपर्ने धारणा राख्नुभयो । नेपाल कृषि प्रधान देश भएकाले अहिलेको सङ्कटबाट उठेपछि कृषिलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
सांसद सरिता कुमारी गिरीले सात सय ५३ वटै पालिकाहरुमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने गरी बजेट आउनुपर्ने बताउनुभयो । नेपालमा पेट्रोल भण्डारको क्षमता बढाउने कुराहरु भए पनि काम नभएको उल्लेख गर्दै उहाँले कम्तीमा पनि तीन महिना भण्डारण क्षमता विस्तारका लागि बजेट विनियोजन हुनुपर्नेमा जाेड दिनुभयाे ।
सांसद सुजता परियारले साना तथा मझौला उद्योगहरुलाई सरकारले नै प्राथमिकता नदिएको बताउनुभयो । ठूला उद्योगलाई मात्रै प्राथमिकतामा राखेर साना उद्योगहरु ओझेलमा परेको उहाँको गुनासो छ ।
छलफलमा सांसद बिन्दा पाण्डेले प्रवासी श्रमिकको उचित व्यवस्थापन र उद्धारका लागि योजना बनाउनुपर्ने बताउनुभयो ।
समितिकाे बैठकले २३ गते परराष्ट्र मन्त्री र श्रममन्त्रीसँग छलफल गर्ने निर्णय पनि गरेको छ । २४ गते अर्थ र उद्योग मन्त्रीसँग पनि आउँदो वर्षको बजेटका विषयमा छलफल गर्ने निर्णय पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।