साउदीमा रोजगारदाताले काम गर्ने समय र तलब घटाउन पाउने, कामबाट निकाल्न भने नपाउने

 बैशाख २४, २०७७ बुधबार १४:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाताले श्रमिकको तलब ४० प्रतिशतसम्म कटाउन पाउने नियम ल्याएको छ ।

कोरोना महामारीका कारण रोजगारदाताले अबको ६ महिनासम्म काम गर्ने समयसँगै श्रमिकको तलब ४० प्रतिशतसम्म घटाउन पाउने नियम ल्याएको साउदीको श्रम मन्त्रालयलाई उद्धृत गर्दै अरब न्युजले लेखेको छ । काम गर्ने समय घटेमा पनि ६० प्रतिशत तलब भने श्रमिकलाई अनिवार्य रुपमा दिनुपर्नेछ ।

काम गर्ने समयसँगै तलब घटाउन पाए पनि ६ महिनाको अवधिभर कुनै पनि निजी कम्पनी र रोजगारदाताले श्रमिकलाई हटाउन भने पाउने छैनन् । मन्त्रालयका अनुसार ६ महिनापछि भने रोजगारदाताले आफ्ना श्रमिकलाई फेरि पहिलेकै सेवा, शर्त अनुसार पूरा तलब दिनुपर्नेछ ।

श्रमिकले चाहेमा र रोजगारदाताले दिएमा यो समयमा बेतलबी बिदामा बस्न सक्ने सुविधा भने श्रमिकलाई दिइएको छ ।

रोजगारदाताले महामारीको बेलामा नै श्रमिकलाई बाँकी रहेको वार्षिक बिदामा राख्न सक्नेछन् । तर वार्षिक बिदा दिए पनि त्यो समयको भने तलब समान्य अवस्थाको जस्तै पूरा दिनु पर्नेछ ।

यस्तै, साउदीमा रहेको नेपाली दूतावासले खाद्यान्न लागयतका समस्या परेमा दूतावासमा सम्पर्क गर्न र आफ्नो यथार्थ विवरण टिपाउन अनुरोध गरेको छ ।

साउदीमा कार्यरत श्रमिकलाई परेका समस्या खुलस्त रुपमा टिपाउन र जुनसुकै समस्या परेमा पनि दूतावासको सम्पर्कमा आउन साउदीका लागि नेपाली राजदूत डा।.महेन्द्र प्रसाद सिंह राजपुतले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गर्नुभएको छ ।

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया