काम गर्नेलाई लाइसेन्स दिएर खराब प्रवृत्तिलाई जलविद्युतमा निषेध गर्छौं : मन्त्री पुन

 वैशाख २५, २०७७ बिहीबार १७:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले जलविद्युत क्षेत्रमा लगानीका लागि खराब मानसिकता र प्रवृत्तिका मानिस वा समूहलाई निषेध गरिने बताउनुभएको छ । 

मन्त्री पुनले विगतमा जसरी सामान्य प्रक्रिया पूरा गर्दैमा सजिलै जेनेरेशन लाइसेन्स नदिइने स्पष्ट गर्नुभयो । अबका दिनमा काम गर्नेलाई मात्र लाइसेन्स दिइने उहाँको भनाइ थियो । 

जलविद्युतमा लगानी जोखिमपूर्ण रहेकाले काम गर्न सक्नेले मात्र लगानी गर्न आग्रह गर्दै उहाँले नसक्नेले अरु क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । 

‘अब लाइसेन्स लिएपछि भोलिपल्टदेखि नै काम गर्नेलाई मात्र सरकारले विश्वास गर्छ’, विद्युत नियमन आयोगको प्रथम वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, ‘नसक्नेले आफ्नो लगानीले भ्याउँने गरी अर्कै उद्यम गर्नुस्, लगानीका अरु धेरै क्षेत्र छन् । जलविद्युतमै लगानी गर्नुपर्छ भन्ने बाध्यकारी अवस्था छैन ।'

मन्त्री पुनले प्रतिस्पर्धात्मक र गुणस्तरीय काम गर्ने इमान्दार लगानी कर्तालाई भने सरकारले स्वागत गर्ने स्पष्ट गर्नुभयो । इमान्दार लगानीकर्ता र स्वच्छ लगानीका लागि पारदर्शी तवरले सहजीकरण गर्न तयार रहेको मन्त्री पुनको भनाइ थियो । 

विगतमा बैंक, बीमा कम्पनी र सहकारीमा जनताको लगानी डुब्ने समस्या देखिएपछि सरकारले नियमन गरेको प्रसंग कोट्याउँदै उहाँले जलविद्युत क्षेत्रमा पनि त्यस्तै मापदण्ड बनाएर खराब लगानी रोक्ने योजनामा मन्त्रालय रहेको जानकारी दिनुभयो । 

नेपालमा उत्पादित बिजुलीको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सरकार लागेको भन्दै उहाँले विद्युत प्राधिकरणलाई मात्र बिजुली बेच्ने मानसिकता त्यागेर बाह्य बजार खोज्ने दिशामा अग्रसर हुन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

विद्युत क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने निजी क्षेत्रको माग सम्बोधन गरेर सरकारले ल्याएको विद्युत ऐन संसदमा बिचाराधीन अवस्थामा रहेको भन्दै मन्त्री पुनले आफ्नै मागअनुसार ल्याइएको ऐनको स्वामित्व लिन आग्रह गर्नुभयो । 

निजी क्षेत्रलाई हतोत्साहित गर्ने पक्षमा सरकार नरहेको स्पष्ट गर्दै उहाँले ऐनमा निजी क्षेत्रलाई काम गर्न असहज हुने प्रावधान भए पुनर्विचार गर्न सरकार तयार रहेको बताउनुभयो । 

कार्यक्रममा योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली, ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत सेवालाई थप प्रभावकारी, विश्वसनीय र प्रतिस्पर्धी बनाउन भूमिका खेल्न नियमन आयोगलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया