राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

 बैशाख २६, २०७७ शुक्रबार १५:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आजदेखि सुरु हुन लागेको संघीय संसदको छैटौँ अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उहाँहरुबीच छलफल भएको हो । 

सभामुख सापकोटाले राष्ट्रपति भण्डारीलाई विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देशअनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराउनुुभयो । 

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम बनाउने विषयमा आफूले पहल गर्ने बताउनुभएको छ ।यसअघिको हिउँदे अधिवेशनका केही बैठकमा गणपूरक संख्या नपुग्दा बैठक स्थागित हुँदै आएकोले कतिपय विधेयकमाथिको छलफल नै सम्पन्न हुन सकेको थिएन्। 

बिहान संसद बैठकको तयारीबारे जानकारी दिँदै सभामुख सापकोटाले संसद बैठकमा भाग लिनका लागि उत्प्रेरित गराउन अधिकतम पहल गर्ने बताउनुभएको हो । सभामुख सापकोटाका अनुसार आजको बैठक नियमित एजेण्डा र दलका नेताहरुको शुभकामनापछि समाप्त हुनेछ । 

उहाँले २८ गते ११ बजे प्रतिनिधिसभाको र १ बजे राष्ट्रियसभाको बैठक बस्नेसमेत बताउनुभयो । २८ गतेको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी (प्रि-बजेट) प्रस्तुत गर्नुहुनेछ । 

त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्नेछ र प्रीबजेट माथि छलफल सुरु हुनेछ । २९ र ३० गतेसम्म छलफल चल्ने सभामुख सापकोटाले बताउनुभयो । त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

जेठ ४ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुनेछ । जेठ १३ गते अर्थमन्त्री खतिवडाले आउँदो आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्थाअनुसार नै जेठ १५ गते आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत हुनेछ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया