कोरोना जितेर घर फर्किएकी महिलाको भनाइ- टाढैबाट भए पनि छोराछोरीलाई हेर्दैछु

 बैशाख २७, २०७७ शनिबार १०:५४:२९ | सीताराम ओझा
unn.prixa.net

कैलाली - ‘तपाईको लगातार दुई पटक सम्म कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ । तपाईलाई आजै हामी अस्पतालबाट डिस्चार्ज गर्दैछौ ।’ सेती अस्पतालका डाक्टर शेरबहादुर कमरबाट यो आवाज सुन्नको लागि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ वर्षीया दीपा शाहीलाई ३५ दिन लाग्यो ।

तर जब उहाँले दुई पटक रिपोर्ट नेगेटिभ आएको जानकारी पाउनुभयो, उहाँमा खुसीको सीमा नै रहेन । सामान एकछिनमै प्याक गरेर अस्पतालबाट निस्किने तयारी गर्नुभयो ।

पछिल्लो तीन दिनमा दुई पटक थ्रोट स्वाबको नमुना त लगिएको थियो तर दुवै रिपोर्ट के आयो भन्ने विषयमा शाहीलाई अस्पतालले जानकारी दिएको थिएन। त्यसै कारणले उहाँ शुक्रबार दिउँसोसम्म पनि तनावमै हुनुहुन्थ्यो ।

जुन दिन लम्कीकी ६१ बर्षीय महिलाले ११ दिनमै कोरोना जितेर घर फर्किनुभएको थियो, सो दिनपछि उहाँमा तनाव बढ्दै गएको थियो ।

अस्पताल बसाइको क्रममा ६१ वर्षीया महिलाले कोरोना सहजै जित्न सक्ने तर मैले किन नसक्ने लगायतका हजारौ प्रश्न उहाँको मनमा उब्जिएका थिए । तर पनि कोरोनाई जित्न सक्छु भन्ने दृढ विश्वास भने उहाँमा थियो ।

‘सोही विश्वासले कोरोनालाई जित्न सफल भए जस्तो लाग्छ’, ३५ दिनपछि घर फर्किनुभएकी शाहीले भन्नुभयो । 

उहाँका अनुसार अस्पतालबाट डिस्चार्ज हुँदा सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले अझै एक सातासम्म घर परिवारबाट टाढा बस्न सुझाउनुभएको छ ।

घर पुगेपछि टेलिफोनमा गर्दै ३४ बर्षीय महिला शाहीले भन्नुभयो, ‘जिन्दगीमा ३५ दिनसम्म अस्पतालमा बस्नुपर्ला भन्ने कहिले सोचेको पनि थिएन । तर कोरोनाले बसायो । अहिले घर नजिकैको आफ्नै होटलमा बसेकी छु । टाढाबाट भएपनि चार बर्षको छोरा र ९ बर्षकी छोरीलाई हेर्न पाएकी छु । खुसी लागेको छ ।’

उहाँले उपचारमा संग्लन डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै भन्नुभयो, ‘कोरोना पराजित गर्ने क्रममा अस्पतालका स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण छ । उहाँहरुको सहयोग जिन्दगीभरी सम्झिरहनेछु ।’
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया