बजेट परम्परागत ढङ्गबाट आएको सांसदहरुकाे भनाइ

 बैशाख २९, २०७७ सोमबार १७:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले बजेट परम्परागत ढङ्गबाट आएको जीकिर गरेका छन् । सांसदहरुले अहिलेको बजेट पूर्णरुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

छलफलमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अहिलेको बजेट तत्कालीन समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालीनरुपमा समस्या समाधान हुने गरी बजेट ल्याउनुपर्ने थियो । त्यसपछि पूरक बजेट आउन सक्थ्यो । तर विना कुनै योजना बजेट आएको छ।’

स्वास्थ्य मन्त्रालयलाई केन्द्रित गरेर बजेटलाई क्वरेण्टीन व्यवस्थान, परीक्षण वृद्धि र अस्पतालहरुको पुर्नसंरचनामा खर्च गर्नुपर्ने अवस्थामा त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले आउँदो आर्थिक वर्षको बजेटमा ‘परम्परागत बजेटका सप्तरङ्गी विशेषताहरुको झलक’ आइरहेको बताउनुभयो ।

कोरोनाको प्रभावले विश्वव्यापीरुपमा बढिरहेको बेरोजगारी समस्या समाधान, विदेशबाट फिर्ता हुने व्यक्तिहरुको व्यवस्थापनमा बजेट केन्द्रित हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो । 

विष्टले बजेटको पहिलो प्राथमिकता कोरोना नियन्त्रणमा हुनुपर्ने र त्यसपछि उत्पादन र उत्पादकत्व वृद्धिमा हुनुपर्ने बताउनुभयो । उहाँले कृषिजन्य उत्पादनमा सरकारले ध्यान दिँदै आन्तरिक उत्पादनलाई संरक्षण र सहुलियत गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विश्वका अन्य देशहरुले कोरोनासँग विभिन्न आर्थिक प्याकेज घोषाणा गरे पनि नेपाल सरकारले त्यस्ताे गर्न नसकेको बताउनुभयो । सङ्कटमा परेका उद्योग व्यवसायीहरुलाई सङ्कटबाट सरकारले जोगाउन सहयोग गर्न नसके राष्ट्रिय ढुकुटीमा हुँदै आएको सहयोगमा समस्या हुन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभयो ।  

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया