कोरोना भाइरस : सजग र सतर्क रहौँ, अनावश्यक डराउनु पर्दैन

 जेठ ७, २०७७ बुधबार १९:३५:४९ | डाक्टर रवीन्द्र पाण्डे
unn.prixa.net

केही दिनअघि कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएकी सुत्केरी महिलाको शिशु र उनको परिवारको कोरोना रिपोर्ट नेगेटिभ आयो । यस्तै कतिपय कोरोना सङ्क्रमितको परिवारका अरु सदस्यलाई सङ्क्रमण नै भेटिएन । अनि फेरि कुनै लक्षण नै देखा नपरेका व्यक्तिमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भयो । यसले कोरोना सङ्क्रमण कस्तो अवस्थामा सर्ने भन्ने विषयमा झन द्विविधा बढेको छ । आज म कोरोनाका केही तथ्यहरु प्रस्तुत गर्दैछु । 

सङ्क्रमितको आमाबाट शिशुमा कोरोना सर्छ कि सर्दैन ?

चीन, अमेरिका, इटलीलगायत देशहरुमा हेर्ने हो भने त्यहाँ पनि सङ्क्रमित आमाबाट जन्मिएका धेरै जना शिशुहरुमा कोरोना सङ्क्रमण नभएको पाइएको छ । आमाको पेटमा रहेको एम्नियोटिक फ्लुडपमा बच्चा घुम्ने, बस्ने गर्छ । त्यसबाट र स्तनपान गर्दासमेत कोरोना सर्दैन । आजसम्म आमाको दूधबाट बच्चालाई कोरोना सङ्क्रमण पुष्टि भएको रेकर्ड छैन ।

अर्को प्रश्न आमासँग २४ सै घण्टा बच्चा रहँदा किन सरेन त ? भन्ने छ । यदि आमालाई एकदमै धेरै खोकी लागेको छ, बच्चातिर फर्केर खोक्ने, हाच्छ्युँ गर्ने गरिएको छ भने सर्ने सम्भावना रहन्छ । तर बच्चासँगै रहँदा पनि यी कुरामा ध्यान दिइएको छ भने नसर्न पनि सक्छ । हरेक व्यक्तिको इम्युनिटी पावर फरक–फरक हुन्छ । सुत्केरीको शिशु र उसको परिवारका सदस्यको इम्युनिटी पावरले त्यो सङ्क्रमणलाई जितेको पनि हुन सक्छ ।

नेपालमा एउटै घरमा एक जनालाई सङ्क्रमण पुष्टि हुने तर परिवारका अरु सदस्यलाई सङ्क्रमण नभएको भेटिएको छ । सनसिटी अपार्टमेन्टकै घटना हेर्ने हो भने आमा र छोरालाई देखिँदा सङ्क्रमितका श्रीमतीमा भेटिएन । नेपालमा अरु थुप्रै परिवारका यस्ता उदाहरणहरु छन् । कोरोना सर्नका लागि धेरै संयोगहरु मिल्नुपर्छ ।

सङ्क्रमितले छुँदैमा वा छोटो समय कुरा गर्दैमा कोरोना सर्दैन

कोरोना सङ्क्रमण भएको व्यक्तिसँग बोल्दैमा वा उनीसँग छोटो समय बस्दैमा कोरोना सर्दैन । संसारभरका अस्पतालहरुको घटनाक्रम नै हेर्ने हो भने इटलीलगायत युरोपेली देशमा पीपीई र मास्कविना नै चिकित्सक उपचारमा खटिए तर उनीहरुमध्ये धेरैलाई सङ्क्रमण नै भएन ।

अध्ययन अनुसार एक मिनेट बोल्दा एक सय वटा भाइरस शरीरबाट बाहिर निस्कन्छ । १० मिनेटभन्दा धेरै पटक लगातार त्यसरी नै बोलिरहने हो भने एक हजारभन्दा धेरै भाइरस बाहिर निस्कन्छ । एक हजारभन्दा धेरै भाइरस हाम्रो शरीरमा प्रवेश गर्यो भने हाम्रो शरीरमा आक्रमण गर्न सक्छ । 

हामीकहाँ कोरोना सङ्क्रमितसँग छुन र बोल्न नै नहुने भन्ने छ । त्यो गलत हो । दुरी कायम गरी छोटो समय कुरा गर्दा भाइरस सर्दैन । यसो भन्दैमा सतर्क नै नहुने भन्ने हुँदैन । तर छुन नै नहुने र छोटो समय कुरा नै गर्न नहुने भन्ने चाहिँ होइन ।

इम्युनिटी पावरदेखि अरु धेरै फ्याक्टरको संयोग मिलेपछि मात्रै कोरोनाको सङ्क्रमण देखिने हो । अनावश्यक डराउनुपर्ने आवश्यकता छैन । केही विधि अपनाउने र आत्मबल बढाउने हो भने यो त्यस्तो खतरनाक भाइरस होइन । यसलाई सजिलै जित्न सकिन्छ ।

विना लक्षणका मान्छे पनि सङ्क्रमित हुन सक्छन् 

कुनै व्यक्तिमा रोगको कुनै लक्षण नै छैन भने पनि उसमा कोरोना भाइरसको सङ्क्रमण हुन सक्छ । सुरुमा चीनको वुहानमा सामान्य खालका लक्षणहरु मात्रै देखिएका थिए । १०२ भन्दा धेरै ज्वरो आउने, सुख्खा र लहरे किसिमको खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । युरोपेली देशमा सङ्क्रमण पुग्दा पखाला लाग्ने, बान्ता हुनेलगायत लक्षण देखिन थाल्यो । अमेरिकामा सबैभन्दा धेरै खोकी लाग्ने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकोले भयावह बनेको हो । यसले ठाउँअनुसार लक्षण परिवर्तन गरिरहेको छ । तर नेपाल आइपुग्दासम्म लक्षण नै नदेखिएका व्यक्ति सङ्क्रमित भएका छन् ।

लक्षणसहितको भयो भने अरु मानिससँग त्यो मान्छे सम्पर्कमा जाँदैन र धेरैमा सङ्क्रमण नसर्न सक्छ । तर नजिकैको मान्छेलाई यसको सङ्क्रमण तत्काल सर्न सक्छ । लक्षण नै नभएका मान्छेहरु अरु व्यक्तिसँग सम्पर्कमा रहन सक्ने भएकाले यसले चाँडै सार्न सक्ने तर लक्षण नभएकाले छिटो सार्न सक्ने सम्भावना कम हुन्छ । लक्षण भएका व्यक्ति र लक्षण नभएका व्यक्ति दुवैबाट उत्तिकै सङ्क्रमणको सम्भावना हुन सक्छ ।

८५ प्रतिशत कोरोना सङ्क्रमित आफै निको हुन्छन्

नेपालमा कतिपय व्यक्तिमा सङ्क्रमण भइ सकेर पनि निको भइ सकेको हुन सक्छ । सबैको परीक्षण नगरिएको अवस्थामा धेरै व्यक्तिले यो सङ्क्रमण पेलिसकेको वा जितिसकेको हुन सक्छ । यसबाट सङ्क्रमितमध्ये ८५ प्रतिशत बिरामी आफै निको हुन्छन् । बाँकी १५ प्रतिशतमध्ये आधा बिरामी आइसोलेशनमा बस्नुपर्ने हुन सक्छ भने आधा बिरामी चाहिँ गम्भीर प्रकृतिका देखिन सक्छन् । हामीले हाम्रो इम्युनिटी पावर बढाउने हो भने पनि यसलाई सजिलै जित्न सकिन्छ । सामान्य अवस्थाका बिरामीले घरमै बसेर केही विधि अपनाएमा यसलाई जित्न सक्ने खालको सङ्क्रमण हो यो । यसबाट अनावश्यक आत्तिनुहुँदैन ।

सबै सङ्क्रमित अस्पताल जानुपर्दैन

अहिले नेपालमा अरु देशको तुलनामा धेरै सङ्क्रमित छैनन् । त्यसैले सङ्क्रमण हुनेबित्तिकै अस्पतालको आइसोलेशनमा राख्ने गरिएको छ । तर सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्यो भने अस्पतालमा राख्ने ठाउँ नै हुँदैन । त्यस्तो अवस्थामा सामान्य कोरोना सङ्क्रमितले घरमै बसेर पनि कोरोलाई जित्न सक्छन् । सङ्क्रमण फैलिएका अरु देशले पनि कोरोना पोजेटिभ देखियो भने उसलाई घरमै राख्ने र आवश्यक विधि अपनाउन लगाउने गरिएको छ । 

होम आइसोलेशनमा बस्न भनिएको हुन्छ । सङ्क्रमितको नियमित परीक्षण गर्ने र आवश्यक विधि अपनाइयो भने सङ्क्रमित व्यक्ति घरमै बसेर पनि निको हुन सक्छन् । कोरोना सङ्क्रमितको घरमा बस्दा छुट्टै सामान प्रयोग गर्ने, आफूले खाएका भाँडाहरु आफै माझ्ने, दुरी कायम गर्नेलगायत गरियो भने निको हुन अस्पताल नै जानुपर्ने भन्ने होइन ।

सङ्क्रमितलाई लक्षणहरु धेरै देखिन थाल्यो, सास फेर्न गाह्रो हुन थाल्यो भने चाहिँ अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्छ । नत्र सामान्य तर सङ्क्रमित छ भने ऊ अस्पतालमा गएर झन् बिरामी हुने मात्रै हो । घरमै बसेर पनि सङ्क्रमितले कोरोनालाई जित्न सक्छन् । सङ्क्रमितमध्ये ८५ प्रतिशतले घरमै बसेर कोरोना जित्न सक्ने थुप्रै आधारहरु छन् ।

एक सङ्क्रमितले औसतमा अरु ३ जनालाई सङ्क्रमित बनाउन सक्छ

चीनमा कोरोनाको सङ्क्रमण उच्च बिन्दुमा पुगेको समयमा गरिएको एक अध्ययन अनुसार एक सङ्क्रमित मान्छेले पाँचदेखि सात जनासम्म सङ्क्रमण फैल्याउन सक्ने पत्ता लागेको थियो । अरु देशमा अध्ययन गर्दा एक व्यक्तिले दुईदेखि पाँच जनासम्मलाई सङ्क्रमण सारेको देखियो । यसरी हेर्दा एक व्यक्तिले औसतमा तीन जनालाई मात्रै सङ्क्रमण सार्न सक्छ । उसो भए केही देशमा भयावहको अवस्था किन आयो त ? भन्ने प्रश्न उठ्न पनि सक्छन् । सङ्क्रमित व्यक्तिको कति जनासँग भेटघाट भयो, कति समयसम्म घुलमिल भयो भन्ने कुराले पनि फरक पार्छ । यदि सङ्क्रमित व्यक्ति खोक्दै र हाच्छ्युँ गर्दै भिडभाडमा हिँडेको छ भने उसले सयौँ जनालाई पनि सार्न सक्छ । तर कन्ट्रयाक ट्रेसिङको आधार मानेर हेर्ने हो भने सामान्य अवस्थामा औसत तीन जनालाई मात्रै सङ्क्रमण सारेको देखिएको छ । 

सङ्क्रमित निको भएर घरमा सिधै घुलमिल हुन सक्छन् ?

कोरोना निको भएको मान्छे सिधै घरमा बस्न दिने गरिएको अभ्यास विश्वभर नै छैन । सिधै परिवार र समाजमा घुलमिल हुन दिइएको अभ्यास अहिलेसम्म पाइएको छैन । उसँग अझै कोरोनाका केही अवशेष हुन सक्ने भएकोले त्यस्तो गर्न हुँदैन । सामान्यतया अस्पतालबाट डिस्चार्ज भएपछि कम्तीमा १५ दिन छुट्टै क्वरेण्टीनमा बस्नुपर्छ । निको भएर घर फर्किएको १५ दिनसम्म छुट्टै बसेपछि चाहिँ त्यो व्यक्ति सबैसँग घुलमिल हुँदा फरक पर्दैन । किनभने ऊ अरु व्यक्तिसरह भइसकेको हुन्छ ।

हावाबाट कोरोनाको सङ्क्रमण फैलिँदैन

हावाबाट सङ्क्रमण फैलिँदैन । खोक्दा, हाच्छ्युँ गर्दा, सास फेर्दा, बोल्दा, थुक उछिटिँदा, नाक र मुखबाट धेरै कणहरु बाहिर निस्कन्छन् । ती कणहरु चार नानोमिटर साइजभन्दा थोरै ठूलो हुन्छ । बिरामी जहाँ बसेको छ, त्यो ठाउँमा बोल्दा गह्रौँ कणहरु त्यहीँ खस्छ । हलुका कणहरु ६ फिटसम्म पुग्छन् । कणबाहिर निस्किएकै बेलामा हावा आयो, पङ्खा चलाइएको छ भने बढीमा १० फिटसम्म पुग्न सक्छन् । अहिलेसम्म एकदमै टाढा भनेको यो भाइरस १४ फिटसम्म पुग्न सक्ने सम्भावना देखिएको छ । 

त्यसमा पनि कोठाभित्र ६ फिट र कोठाबाहिर ६ फिटमा सङ्क्रमण पुग्नुमा चाहिँ कोठाभित्र फैलिने सक्ने डर बढी हुन्छ । सङ्क्रमितले कोठाभित्र बसेर खोक्यो, हाच्छ्युँ गर्यो भने भाइरस दुई घण्टासम्म रहन सक्छ । तर घरबाहिर छ भने भाइरस खुला ठाउँमा लामो समयसम्म रहन सक्दैन । हावाको माध्यमबाट एकबाट अर्कोमा सर्ने भन्ने पटक्कै हुँदै हुँदैन । 

लामखुट्टे, झिँगालगायतबाट सर्दैन

अहिलेसम्म लामखुट्टे, झिँगालगायतबाट सङ्क्रमण सरेको भन्ने प्रमाणित भइसकेको छैन र सर्दैन पनि । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासमार्फत मात्रै सर्ने भाइरस हो । अहिले हामीले जति सतर्कता अपनाइरहेका छौँ, त्यति धेरै सतर्क हुनुपर्ने र डराउनुपर्ने जरुरी नै छैन । साबुनपानीले हात धुने, मास्क लगाउने, सुकाएर अथवा अलि धेरै सफा गरेर खाने गरिरहेकै छौँ । घरभित्रै बस्ने र सामान्य सतर्कता अपनाउने हो भने यो त्यस्तो खतरनाक भाइरस होइन । खानेकुराहरुबाट पनि त्यति सर्ने सम्भावना हुँदैन । लामखुट्टे र झिँगाको कारण यो सङ्क्रमण सर्दैन, ढुक्क भए हुन्छ ।

औषधि नै पत्ता नलागेको सङ्क्रमणबाट कसरी निको भइरहेका छन् ?

८५ प्रतिशत सङ्क्रमितलाई त्यस्तो धेरै उपचार नै गर्नुपर्दैन । आफैँ निको हुन्छन् । बाँकी रहेको १५ प्रतिशतमा पनि सात प्रतिशत अस्पताल भर्ना भएर सामान्य औषधि प्रयोग गर्ने र नियमित जस्तै गरी खाना खाने गरेर कोरोनालाई जितिरहेका छन् । जस्तो कि कसैलाई ज्वरो आएको छ भने उसले ज्वरोको औषधि खाएर नै कोरोनालाई जित्ने हो । कसैलाई खोकी लागेको छ भने खोकीको औषधि खाएर नै कोरोनालाई पराजय गराउने हो ।

बाँकी रहेको सातदेखि आठ प्रतिशतलाई आईसीयू, भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ । आईसीयू र भेन्टिलेटरमा बसेको मान्छेमा पनि आधालाई सञ्चो हुन्छ र आधाको ज्यान जान सक्छ । यसको मृत्युदर एकदमै कम छ । अहिले जसरी अफवाह फैलिएको छ, त्यसरी आत्तिनुपर्ने अवस्था होइन । यसको मृत्युदर एकदमै कम छ । त्यसो भन्दैमा सामान्य विधिलाई अपनाउन छाड्नु हुँदैन । दुरी कायम गरियो भने यो भाइरस हाम्रो शरीरमा छिर्न पाउँदैन ।

लकडाउन अनिश्चितकालीन बनाउन पर्दैन  

अहिले जति पनि कोरोना सङ्क्रमितहरु भारतसँगको सम्पर्कबाट आएको देखिन्छ । अहिलेको लकडाउनलाई १५ दिनसम्म शतप्रतिशत बनाउने हो भने यो अवधिमा सामान्य सङ्क्रमित आफै निको हुनेछन् र अरु गम्भीर खालकाहरु आफै अस्पताल पुग्नेछन् । परीक्षणको दायरा बढाएर १५ दिन शतप्रतिशत लकडाउन गर्ने हो भने अवस्था धेरै नै सामान्यीकरण हुनेछ । सधंँभरि यसरी नै लकडाउन मात्रै गरिराख्ने कुरा सम्भव नहुन पनि सक्छ । तर भारतसँगको नाकामा कडाइ गर्नुपर्छ । दक्षिणबाट भाइरस नछिरेको भए नेपालमा यो सङ्क्रमणको कुनै पनि सम्भावना नै थिएन ।

कोरोना हामीले सोचेजस्तो खतरनाक हैन

जुनसुकै रोग पनि विश्वव्यापी भयो अथवा धेरै भाउ पायो भने झन् शक्तिशाली हुँदै जान्छ । कोरोनाको सङ्क्रमणले पनि आवश्यकताभन्दा धेरै भाउ पाइरहेको छ । कोरोना भाइरस हामीले सोचेजस्तो खतरनाक हैन । सार्स, इबोला, मर्सलगायतको सङ्क्रमण हेर्ने हो भने त्यो सङ्क्रमणका कारण मृत्युदर निक्कै उच्च थियो । तर कोरोना लागेपछि यसको सङ्क्रमण दर बढीमा तीन प्रतिशत मात्रै हो । कुनै देशमा त योभन्दा पनि कम मृत्युदर पाइएको छ । कतिपय ठाउँमा शून्य दशमलव २ प्रतिशत सङ्क्रमितको मात्रै ज्यान गएको छ । यसले तयारी गर्ने समय दिन्छ, स्वास्थ्य उपचार गर्ने समय दिन्छ । यसलाई त्यति धेरै घातकको रुपमा लिन मिल्दैन ।

उसो भए के गर्ने त ?

कोरोना भाइरस घातक होइन भन्दैमा जे–जे मन लाग्यो त्यही गर्ने भन्न खोजेको होइन । केही विधि र सावधानी अपनाउने हो भने यो कोरोनालाई सामान्य रुपमै जित्न सक्छौँ भन्न खोजिएको हो । मुख्यतयाः हातलाई एक दिनमा ९० पटकभन्दा धेरै पटक मुख र नाकमा लगिरहेका हुन्छौँ । सङ्क्रमण हाम्रो हातबाट सर्ने या हुने हो । सामान किन्दा, केही सामान चलाउँदा अथवा केही काम गर्दा हातमा सङ्क्रमण आउन सक्ने सम्भावना हुन्छ । हामीले हातले नाक र मुखमा छुने बानीलाई त्याग्नुपर्यो ।

पटक–पटक साबुन पानीले हात धोइरहनुपर्‍याे । सकभर घरभित्रै बस्नुपर्‍याे । बाहिर निस्कनै परे मास्क, पञ्जा, ग्लोब्सहरु लगाउने गर्नुपर्‍याे । घर फर्किएपछि बाहिरी पोसाकहरु बाहिर नै राख्ने, मास्कहरुलाई बाहिरै खाल्डो खनेर पुर्ने, नुहाएर घरभित्रै बस्ने, हरेक व्यक्तिसँग ६ फिटको दुरी कायम गर्नेलगायत केही सतर्कता अपनाइयो भने यो एक व्यक्तिबाट अर्को व्यक्तिमा हतपती सर्दैन । सजग र सतर्क रहौँ, अनावश्यक डराउनु पर्दैन ।

(जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेसँग टेकमान शाक्यले गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: असार ५, २०७७

डाक्टर रवीन्द्र पाण्डे

डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।

1 Comments

  • Dr. K. B. Rokaya

    May 31, 2020, 9:32 a.m.

    This is the first time some one has said the truth about coronavirus in Nepal which comforts people and removes fear from their mind. In Nepal so much unnecessary fear, panic, terror and rumors by government, media and even doctors and nurses which has caused much economic, social, religious and mental damage with long term effects. From the very beginning I have been saying what Pandey has said. There was even no need to have this kind of prolonged lockdown which has killed more people and done more damage than the coronavirus. The government should take Dr. Ravindra Landry's views seriously and begin easing the lockdown. Thank you so much Dr. Pandey. It takes selfconfudence, honesty and courage to speak the truth.

  •  0 Reply

तपाईको प्रतिक्रिया