हेटौँडाका १९ वटै वडामा ड्रोन सर्वेक्षण सुरु

 जेठ ७, २०७७ बुधबार २०:२०:२८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाकाे १९ वटै वडामा बुधबारबादेखि ड्रोन सर्वेक्षण सुरु गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महले ड्रोन सर्वेक्षणको उद्घाटन गर्नुभयो । उहाँले उपमहानगरपालिका कार्यालयको छतबाट ड्रोन उडाएर सर्वेक्षण सुरु गर्नुभएको हो ।

पहिलो चरणमा सात वटा वडामा ड्रोन सर्वेक्षण गर्ने र दोस्रो चरणमा बाँकी वडामा ड्रोन सर्वेक्षण गर्ने तयारी गरिएको छ । ड्रोन सर्वेक्षणले उपमहानगरपालिकालाई आगामी वर्षको योजना निर्माणका लागि सहयोग पुग्ने मेयर महतले बताउनुभयो ।

नेपाल इन्जिरियरिङ एसोसिएशन वाग्मती प्रदेशको सहयोगमा ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन गर्ने कार्य सुरु भएको हो । उपमहानगरपालिकाको सबै वस्तुचित्र आउने गरी अबको दुई हप्ता हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा ड्रोन उड्नेछ । लकडाउनको समयमा सफा र सुन्दर तस्बिर आउने भएकाले पनि समयलाई सदुपयोग गर्न लागिएको इन्जिनियर एसोसिएशन वाग्मती प्रदेशका सदस्य सुरज गौतमले जानकारी दिनुभयो । तीन जना इन्जिनियरले दैनिक ड्रोनबाट सात वटा उडान गर्ने उहाँले बताउनुभयो ।

जग्गा जमिन कतै मिचिएको, बाढी, पहिरोको जोखिम परेको वा कुनै पनि स्थानमा परेका समस्या तत्काल समाधान गर्नका लागि यसले सहयोग पुर्‍याउने मेयर महतले बताउनुभयो । इन्जिरियरिङ एसोसिएशन, ड्रोन नेपाललगायतका संस्थाको सहयोगमा कुनै लगानीविना नै ड्रोनबाट डिजिटल नक्सा तयार पार्न लागिएको हो।

ड्रोनले जीपीएस लोकेशन लिनुका साथै उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण घर, स्कुल, सडक, जङ्गल, भिरपाखो, जमिन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना क्यामराले खिचेर नक्सा तयार पार्नेछ । उच्च रिजोलुसनको नक्सा प्राप्ति र उच्च रिजोलुसनको डाटाको आधारमा विस्तृत शहरी विकास योजना तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउनु ड्रोन सर्वेक्षणको मुख्य लक्ष्य रहेको नेपाल इन्जिरियरिङ एसोसिएशन वागम्ती प्रदेशका सदस्य सुरज गौतमले बताउनुभयो ।

नक्सा तयार भएपछि उपमहानगरपालिकाले आगामी दिनमा सहज रूपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी गर्न मद्दत एवं सहज हुने विश्वास लिएकाे छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया