सुदूरपश्चिमका ७ जिल्लामा कोरोना सङ्क्रमित भेटिए, कुन जिल्लामा कति ?

 जेठ १५, २०७७ बिहिबार १५:३५:६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशका सात जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । 

कैलालीमा पहिलो सङ्क्रमित भेटिएसँगै आजसम्म दार्चुलासहित प्रदेशका सात जिल्लामा कोरोना सङ्क्रमित भेटिएका हुन् । डोटी र बाजुरामा कोही पनि सङ्क्रमित भेटिएका छैनन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कैलाली कञ्चनपुर, डडेल्धुरा, अछाम, बैतडी, बझाङ र दार्चुलामा कोरोना सङ्क्रमित भेटिएका छन् ।

कैलालीमा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा सबैभन्दा कम एक/एक जनामा सङ्क्रमित भेटिएका छन् ।प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा पाँच, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छ । 

बझाङमा पनि एक जना सङ्क्रमित भेटिएका छन् । उनको सुर्खेतको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । सुदूरपश्चिममा आज मात्रै थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एक जना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो । कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयाे ।

नयाँ सङ्क्रमित तीनै जना भारतबाट आएको खुलेको छ । कैलालीका दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका सङ्क्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएको खुलेको हो । 

१३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो । 

अछामकी सङ्क्रमित बालिका जेठ ८ गते आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन् । उनका बुवामा पनि आइतबार कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । उनको सेती अस्पतालमा उपचार भइरहेको छ । 

कैलालीका सङ्क्रमित पनि भारतबाट आएको खुलेको थियो । सुदूरपश्चिम प्रदेशमा गएकाे चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी यूएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । 

लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए । वैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्बर १ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिइन् । 

वैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना सङ्क्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ सङ्क्रमित फेला परेनन् । 

जेठ ९ गते एकैदिन सुदूरपश्चिमका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो ।

कैलालीका तीन जना सङ्क्रमितमध्ये एक जना भारतबाट लुकीछिपी आएका थिए भने बैतडीका सङ्क्रमित पनि सङ्क्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए । 

अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २०, २२ र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । 

जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । सुर्खेतको प्रयोगशालामा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेकोमा एक जना सुदूरपश्चिमको बझाङका रहेका छन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये सुदूरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुषमा  कोरोना पोजिटिभ देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया