अर्घाखाँचीमा परीक्षणका लागि पठाएको स्वाब हरायो : दाहसंस्कारमा अन्याेल, शव खुला चौरमा

 जेठ २९, २०७७ बिहिबार ९:३०:२९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाइएको स्वाब हराएको छ ।  

परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको छ । 

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा  रहेको क्वरेन्टीनमा बसेका ५७ वर्षीय पुरुषको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो । 

घर फर्केका ती पुरुष १४ दिन देखि क्वरेन्टीनमा रहँदै आएका थिए । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । 

सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । 
लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि घरमा गएर आराम गराउने सल्लाहसहित घर फर्काउँदै गर्दा उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।

शव व्यवस्थापनका लागि स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहबामा मृतक व्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृतकका आफन्तले बताएका छन् । 

जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि फेरि मृतकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ । रिपोर्ट नआउँदासम्मका लागि शवको दाहसंस्कार रोकिएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया