राेल्पा : आइसोलेशन बन्यो, आएनन् सङ्क्रमित

 जेठ २९, २०७७ बिहिबार १३:०:४६ | माधवकुमार ओली
unn.prixa.net

 रोल्पा - रोल्पाको सदरमुकाम लिवाङमा जिल्ला स्तरीय आइसोलेशन बनेपनि सङ्क्रमित भने अझै आएका छैनन् ।

रोल्पामा यही जेठ २५ गते पहिलो पटक ३ जनामा सङ्क्रमण भेटिएको हो । सङ्क्रमण पुष्टि भएको चार दिन भइसक्दा पनि सङ्क्रमितहरु क्वरेन्टीनमै रहेका छन् । 
सदरमुकाम लिवाङमा रहेको जलजला बहुमुखी क्याम्पसमा ५० शय्याको आइसोलेशन सेन्टर स्थापना गरिएको भएता पनि बिहीबार बिहानसम्म काेही सङ्क्रमित नआएकाे आइसोलेशनको नेतृत्व गरिरहनुभएका रोल्पा अस्पतालका डा. अनिल केसीले बताउनुभयो ।

‘हिजो ल्याउने भन्ने खबर आएको थियो तर पछि गाडीको समस्या भयो रे’, डा. केसीले भन्नुभयो, ‘आज आउने सम्भावना छ ।’

सङ्क्रमित भेटिएका सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सङ्क्रमितहरुलाई छुट्टै राखिएको बताउनुभयो । ‘सुरुमा आइसोलेशन बनेको थिएन, घर्तीले भन्नुभयो, ‘हिजो बेलुका सङ्क्रमित भएको ठाउँमा एम्बुलेन्स जान सकेन त्यसैले ढिलो भएको हो ।’

प्रदेशमै पहिलो जिल्ला स्तरीय आइसोलेशन सेन्टर

यसैबीच प्रदेश नम्बर ५ मा जिल्ला स्तरीय आइसोलेशन सेन्टर स्थानपना भएको रोल्पामै पहिलो हो । प्रदेशमै सबैभन्दा पछि कोरोना सङ्क्रमण देखिएको रोल्पामा जिल्ला स्तरीय आइसोलेशन सेन्टर भने प्रदेशमै पहिलो नमूनाको रुपमा सञ्चालन भएको हो । 

सदरमुकाम लिवाङमा रहेको जलजला बहुमुखी क्याम्पसमा स्थापना गरिएको ५० शय्याको आइसोलेशन सेन्टर प्रदेशकै पहिलो जिल्ला स्तरीय आइसोलेशन रहेको डा. केसीले बताउनुभयो ।

‘प्रदेशका १२ जिल्लामा जिल्ला स्तरीय आइसोलेशन सेन्टर अहिलेसम्म सञ्चालन हुन सकेका छैनन्’, डा. केसीले भन्नुभयाे, ‘प्रदेश र पालिकाहरुले आ–आफ्नै ढङ्गले आइसोलेशन सञ्चालन गरेका छन्, तर जिल्लाका सबै पालिकाहरु, प्रदेश र संघीय सरकारको संयुक्त पहलमा आइसोलेशन सञ्चालन भएको रोल्पा नै पहिलो हो ।’

सुरुमा ५० शय्या क्षमताको आइसोलेशन स्थापना गरिएता पनि सङ्क्रमितको संख्या बढ्दै गए त्योभन्दा बढी पनि राख्न सकिने डा. केसीले बताउनुभयो ।

आइसोलेशन सञ्चालनका लागि प्रदेश सरकारको पहलमा रोल्पाका १० वटै पालिकाहरुले सहयोग गरेका छन् भने जिल्ला तहमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायको पनि उत्तिकै साथ र सहयोग रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया