नेपालमा कोरोनाबाट थप १ को मृत्यु, मृतकको सङ्ख्या १६ पुग्यो

 जेठ २९, २०७७ बिहिबार १९:३:३४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - नेपालमा कोरोना सङ्क्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

अस्पतालबाट फर्कँदै गर्दा ज्यान गुमाउनुभएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । 

घाँटीको शल्यक्रियासमेत गर्नुभएको उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गएकाे मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । 

अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गर्नुभएका उहाँको हिजो बाटोमै ज्यान गएको हो । यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बस्नुभएका उहाँको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि हिजो फेरि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको हो । 

रिपोर्ट नआउँदा हिजोदेखि नै शव रातुको चौरमा बेबारिसे अवस्थामा राखिएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया