तथ्याङ्कमा सुदूरपश्चिमको कोरोना कहर : युवाहरु बढी सङ्क्रमित

 जेठ ३१, २०७७ शनिबार १३:१३:४३ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङख्या १ सय ९१ पुगेको छ। ४० दिनसम्म शान्त रहेको प्रदेशमा घर फर्कने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितहरु पनि एक्कासी बढिरहेका छन् ।

यसअघि चैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै सङ्क्रमित रहेका थिए । उनीहरु सबै जना कोरोनालाई जितेर घर फर्किएपछि प्रदेश कोरोनाका बिरामी मुक्त भएको भन्दै प्रचार समेत गरियो । 

बीचको ४० दिन शान्त रहेको सुदूरपश्चिममा पछिल्लो तीन सातामा मात्रै सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । तीन सातामा १८६ जना सङ्क्रमित पुष्टि भएका छन् । 

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका धेरै नमुनाहरु जाँच गर्न बाँकी रहेकोले सङ्क्रमित थपिने सम्भावना रहेको सम्बद्धहरु बताउँछन् । 

परीक्षणको दायरा बढाउँदै लगिएकोले सङ्क्रमित संख्या बढ्न सक्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताउनुभयो । 

सबैभन्दा बढी युवामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा युवा उमेर समूह नै सबैभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएको छ । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशका सङ्क्रमितमध्ये सबैभन्दा बढी १६ देखि ४० वर्षसम्मका १ सय ४१ जना कोरोना सङ्क्रमित भएका छन् । यो कुल सङ्क्रमितको ७४ प्रतिशत हो ।

१८ र १९ वर्षका पाँच पाँच जना युवामा कोरोना सङ्क्रमण भएको छ । त्यसैगरी १६ र १७ वर्षका दुई दुई जनामा कोरोना पुष्टि भएको छ । यो कुल सङ्क्रमितको ५ प्रतिशतभन्दा बढी हो ।

११ देखि २० वर्ष उमेर समूहका पनि २७ जनालाई कोरोना भएको छ ।

सुदूरपश्चिमका युवाहरु किशोर अवस्थामै रोजगारीका लागि भारत जाने गरेका छन् । विभिन्न बाध्यता र परिस्थितिले पढाई बीचमै छोडेर भारत जाने र कमाउने उमेरसम्म भारतमै काम गर्ने गरेका कारण युवा उमेर समूह बढी सङ्क्रमित भएको शिक्षाविद् डाक्टर हेमराज पन्तले बताउनुभयो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका सङ्क्रमित मध्ये १० वर्षसम्मका ७ जना, ११ देखि २० वर्ष उमेर समूहका २७ जना, २१ देखि ३० वर्ष उमेर समूहका ८६ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ४१ जना, ४१ देखि ५० वर्ष उमेर समूहका १६ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ६ जना र ६१ देखि ७० वर्ष उमेर समूहका ३ जना सङ्क्रमित रहेका छन् ।

बालबालिका र वृद्धवृद्धाहरुमा प्रतिरोधक क्षमता कम भएका कारणले सङ्क्रमित भएपनि युवाहरु भने सावधानी नअपनाउँदा बढी सङ्क्रमित भएको सेती प्रादेशिक अस्पतालको कोरोना विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले बताउनुभयो ।

अधिकांश सङ्क्रमितहरु भारताटसँगै आएको, सीमामा घुलमिल भएको एउटै गाडी प्रयोग गरेको र एउटै क्वारेन्टिनमा वसेकाहरु पाईएकोले पनि बढी सङ्क्रमण फैलिएको डाक्टर कमरको भनाई छ ।

सुदूरपश्चिममा सबैभन्दा कम उमेर जन्मेको चार दिन भएको शिशुलाई कोरोना भएको छ भने सबैभन्दा बढी ७० वर्षको वृद्धलाई कोरोना भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

सुदूरपश्चिममा ११ महिनाका बालकदेखि दुई तीन पाँच एघार वर्षका बालबालिकालाई पनि कोरोना भएको उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई पनि विभिन्न रोगहरुको समस्या रहने गरेका कारण उनीहरुलाई पनि सङ्क्रमणले समात्ने गरेको श्रेष्ठको भनाई छ । 

२१ देखि ३० वर्षको उमेर समूह सबैभन्दा बढी सङ्क्रमित

कोरोना सङ्क्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका भएका छन् । कुल सङ्क्रमितका झण्डै आधा भाग यो उमेर समूहकै रहेका छन् । सबैभन्दा बढी २१ देखि ३० वर्षका ८६ जना सङ्क्रमित रहेका छन् । १९१ मा सबैभन्दा बढी अर्थात यो संख्या ४५ प्रतिशत हो ।

त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहका सङ्क्रमित बढी रहेका छन् । कुल सङ्क्रमित मध्ये झण्डै ४१ जना ३१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । यो कुल सङ्क्रमितको साढे २१ प्रतिशत हो । तेस्रो नम्बरमा भने किशोर अवस्थाका युवाहरु सङ्क्रमित भएका छन् ।

११ देखि २० वर्ष उमेर समूहका २७ जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क रहेको छ । यो संख्या भनेको कुल सङ्क्रमितको १४ प्रतिशत हो ।

त्यस्तै सबैभन्दा कम भने ६१ देखि ७० वर्षका वृद्धहरुमा सङ्क्रमण देखिएको छ । हालसम्म यो उमेर समूहका ३ जना अर्थात कुल सङ्क्रमितमध्ये डेढ प्रतिशत रहेका छन् ।

त्यसैगरी ४१ वर्षदेखि ५० वर्षसम्मका १६ जना अर्थात साढे ८ प्रतिशत, ५१ देखि ६० वर्षका ७ जना अर्थात साढे ५ प्रतिशत र जन्मदेखि १० वर्ष उमेर समूहका ७ जना अर्थात साढे ३ प्रतिशत सङ्क्रमित भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया