पर्वत पहिरो : थप दुई जनाको शव भेटियो, चार जना अझै बेपत्ता

 जेठ ३२, २०७७ आइतबार ८:३७:३ | सन्तोष थापा
unn.prixa.net

पर्वत - कुस्मा नगरपापिलका-३, दुर्लुङको ढकालबारीमा शनिबार राति पहिरो जाँदा पुरिएर ज्यान गुमाउनेकाे सङ्ख्या ५ पुगेकाे छ भने ४ जना अझै बेपत्ता छन् । 

शनिबार राति ३ जनाको शव पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार बिहान दुई जनाको शव फेला परेको छ । आइतबार भेटिएका शव दिपा थापा र कमला विकको भएकाे उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।

यसअघि शनिबार साँझै पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको थियो । अब बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको केवल जंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिनुभयो । 

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । थप चार जनाको खोजी कार्य भइरहेको र सहयोगका लागि कुश्मा नगरपालिकासँग एक्स्क्याभेटरको माग गरिएको उहाँले बताउनुभयो । राति १ बजेसम्म खोजी गरेकाे र वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । 

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिबाट पहिरो आएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया