अर्घाखाँचीमा १७ वर्षीया गर्भवती युवतीमा कोरोना सङ्क्रमण

 असार २, २०७७ मंगलबार २०:११:८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा एक गर्भवती युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पाणिनी गाउँपालिका ८ को क्वरेण्टीनमा रहेकी १७ वर्षीया युवती गर्भवती रहेको खुलेको छ । भारतबाट परिवारसहित आएर क्वरेण्टीनमा बसेकी ती युवतीको पेटमा तीन महिनाको बच्चा रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । 

झण्डै डेढ वर्ष अगाडि विवाह भएकी ती युवती भारतको हरियाणमा श्रीमानसँगै बस्दै आएकी थिइन् । गएको जेठ १० गते कृष्णनगर नाका हुँदै आएकी उनको आरडीटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरी परीक्षणकाे लागि पठाइएको थियो ।

कोरोना सङक्रमित युवती भर्खर १७ वर्ष टेकेकी छिन् ।

अर्घाखाँचीमा आज एकैदिन गर्भवती युवतीसहित थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

शितगङ्गा नगरपालिकाका सात, भूमिकास्थान नगरपालिकाका एक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन, र ठेगाना नखुलेका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले बताउनुभयो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ । सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया