‘कक्षा ११ को आत्तिन परेन, १२ को परीक्षा हुन्छ’

 असार ७, २०७७ आइतबार १३:२०:११ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - एसईईको परीक्षा नलिने यसअघि नै सरकारले घोषणा गरिसकेको छ । कक्षा ११, १२ र विश्वविद्यालय तहका परीक्षाबारे भने सरकारले निर्णय गरिसकेको छैन । एसईईको नतिजा परीक्षा नलिईकन आन्तरिक मूल्यांकनका​आधारमा दिईने सरकारको निर्णयले त्योभन्दा माथिल्लो तहमा पनि त्यस्तै मोडल कार्यन्वयनमा ल्याईने पो हो कि भन्ने धेरैको अनुमान छ । कोरोना भाइरसको सङ्क्रमणदर अझै नसकिएकोले कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका विद्यार्थीहरुलाई आफूहरुको परीक्षा के हुने भन्ने अन्योल छ । यसै विषयमा साथी टेकमान शाक्यले शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग कुराकानी गर्नुभएको छ ।

एसईईको परीक्षाबारेको अन्योल त हट्यो, अब कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका परीक्षाहरु के हुन्छन् ?

कक्षा ११ को विषय अहिले हामीले आत्तिनु पर्दैन । ११ को परीक्षा १० को जस्तो होइन । ११ पास नभए पनि १२ पढ्न पाउने हाम्रो अभ्यास छ । ११ को परीक्षा नभए पनि साउनदेखि या भनौं शैक्षिक सत्र सुरु भएपछि १२ पढ्दै गर्दा हुन्छ। परीक्षा चाहिँ लकडाउन खुल्यो र सहज भयो भने मात्रै लिईन्छ । १२ पढ्दापढ्दै वातावरण अलि सहज भयो भने पनि लिनुपर्ने हुन्छ । १२ को चाहिँ परीक्षा गर्नुपर्ने भएकोले लकडाउनको अवस्था हेरेर हामी निर्णय गर्छौँ । विद्यार्थी स्कुलमा आउन सक्छ भन्ने वातावरण भएपछि हामी त्यसबारे निर्णय गर्छौँ । पहिले त घरबाट परीक्षाकेन्द्रसम्म आउन सक्ने वातावरण बन्नुपर्यो नि हैन ? तपाईंले भनेजस्तै अहिले नै तिथिमिति किटान नै गर्न सकिने अवस्था चाहिँ छैन । लकडाउनको विषय टुँगो नलागेसम्म परीक्षाबारे निर्णय गर्नु कुनै सान्दर्भिक हुन्छ जस्तो मलाई लाग्दैन ।
एसईईबारे पनि तपार्ईले यस्तै भन्नुभएको थियो, परीक्षा नलिने सरकारले घोषणा गर्यो । कक्षा १२ को परीक्षाको मोडालिटीबारे पनि केही छलफल गर्नुभएको छ ?

परीक्षाको मोडालिटीबारे त छलफल छ तर, कक्षा १० र १२ को परीक्षा फरक पाटो हो । १० को परीक्षा कक्षा ११ पढ्नका लागि हो र कक्षा १२ सम्म नै स्कुलस्तरको भनेर मानिएको छ । १२ कक्षाको परीक्षाबारे भने अलि सोच्नुपर्छ,किनभने यो विश्वविद्यालय प्रवेश गर्ने ठाउँ हो । कक्षा १० लाख सोचेजस्तै १२ लाई हेर्नु हुँदैन । हामी केही न केही निर्णय गर्छौँ नै ।

कोरोना भाइरसको सङ्क्रमण दर बढ्दो छ, तत्कालै अवस्था सहज हुने सम्भावना पनि देखिंदैन । ठ्याक्कै यही हुन्छ भन्नेबारेको निर्णय तत्काल दिन सक्ने सम्भावना छैन ?

१२ को मात्रै परीक्षा रोकिएको होईन । विश्वविद्यालयका परीक्षाहरु पनि रोकिएका छन् । १२ भनेकोे विद्यालय शिक्षा सकेर विश्वविद्यालय प्रवेश गर्ने अथवा विदेश पढ्न जाने ढोका हो भनेर बुझ्नुपर्छ । विकल्पहरु धेरै आएका छन् ।निर्णय नै नभईकन मन्त्रालयको धारणा यो भनेर अहिले नै भन्न मिल्दैन । विज्ञहरुले पनि १२ लाई १० को जस्तैगरी हेर्न हुँदैन भनेर सुझाव दिईरहेका छन् । त्यसैले अहिले नै यही हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।

कक्षा १२ बाहेक त्यो भन्दा माथिल्लो तहका परीक्षाबारे चाहिँ के हुन्छ ?

त्यसबारे सम्बन्धित विश्वविद्यालयले तयारी गर्दैछन् । विद्यालयस्तरको  भन्दा यो परीक्षा अलि फरक हुने गर्छ । त्यसमध्ये पनि कतिपयले डीनको कार्यालयलाई जिम्मा दिएको होला भने कतिपयले परीक्षा नियन्त्रणको कार्यलयको निर्णय कुरेर बसेको हुन सक्छ । वैकल्पिक उपायबारे पनि उहाँहरुले केही न केही छलफल गर्दै हुनुहुन्छ होला ।

प्रवक्ताज्यू, अलि प्रष्ट पारिदिनुपर्यो, परीक्षा हुन्छ की हुँदैन भन्नेमा नै विद्यार्थीहरु अन्योलमा परिरहेका छन् ।

सतप्रतिशतको ग्यारेन्टी त म लिन सक्दिन तर परीक्षा हुन्छ । यो प्राविधिक विषय भएकोले अहिलेलाई परीक्षा जसरी पनि हुन्छ भनेर बुझौँ । कक्षा ११ को परीक्षा अहिले नै गर्नुपर्छ भन्ने छैन । जहाँसम्म १२ को कुरा हो, यो विद्यालय तह छाड्ने स्तरको परीक्षा भएकोले पनि निर्णय गर्न हतार गरिहाल्न हुँदैन भन्ने मेरो भनाई हो ।

अन्तिम अपडेट: चैत ३, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

1 Comments

  • सुमन शर्मा

    June 26, 2020, 12:44 a.m.

    क्क्षा १२ उत्तीर्ण गरेका तर कक्षा ११ मा ब्याक लागेका विद्यार्थी पनि कक्षा ११को परीक्षा फारम भरेर बसेका छन् है ! तिनीहरूका बारेमा पनि इयर लस नहुने गरी न्यायोचित समाधान निकाल्नु पर्छ नि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया