गोरुसिङ्गे–सन्धिखर्क सडक ४ दिनदेखि अवरुद्ध, २१ घर पहिरोको जोखिममा

 असार ८, २०७७ सोमबार १५:४१:३२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा शुक्रबार राति गएको पहिरो खस्ने क्रम नरोकिएपछि ​गोरुसिङ्गे–सन्धिखर्क सडक चार दिनदेखि अवरुद्ध भएको छ । 

चार दिनदेखि परेकाे ​अविरल वर्षाका कारण गोरुसिङ्गे–सन्धिखर्क सडकको नरपानी र खाँची खोलाको बीचमा पहिरो गएको हो । चार दिनदेखि पहिरो पन्छाउने काम भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाेले सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । 

सडक बन्द हुँदा कुनै पनि गाडी आवत जावत गर्न नपाएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ​माधव बुढाथोकीले जानकारी दिनुभयो । लगातारको वर्षापछि अर्घाखाँचीका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् भने विभिन्न ठाउँका बस्ती उच्च जोखिममा परेका छन् । पहिरोकाे कारण दर्जनौँ परिवार विस्थापित भएका छन् । 

लगातारको वर्षाले सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकामा दुई घर बगाएको छ । जिल्लाभर २१ घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् । 

वर्षाकाे कारण पाणिनि गाउँपालिकाको दुर्गा खोलामा निर्माण हुन लागेको पुल र मालारानी र सन्धिखर्क जोड्न निर्माण गरिएको पुलमा क्षति भएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया