अस्पतालले पीसीआर परीक्षणविना डायलासिस गर्न नमान्दा मिर्गौला पीडित ज्यान गुमाउन बाध्य

 असार ११, २०७७ बिहिबार १३:२७:४५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल पुग्नुभएका बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकलाई डायलासिस गराउनुपर्ने भन्दै धनगढी रेफर गरियो । असार ७ गते धनगढी पुग्नुभएका धानुकलाई सेती प्रादेशिक अस्पतालका डाक्टरले जाँच गरेपछि मिर्गौलामा जटिल समस्या भइसकेकाेले डायलासिस गराउन सल्लाह दिए । सेतीको मेडिकल वार्डमा भर्ना हुनुभएका धानुकलाई अस्पतालमै बिरंग हेल्थ केयर प्रालीले सञ्चालन गरेको डायलासिस वार्डले पीसीआर रिर्पोटविना  डायलासिस गराउन मानेन ।

अस्पताल भर्ना भएको दुई दिनपछि मङ्गलबार साँझमात्र उहाँको थ्रोट स्वाबको नमुना सङ्कलन भयाे । धानुकको मङ्गलबार साँझ नै अस्पतालको मेडिकल वार्डमा ज्यान गयो । बुधबारमात्र कोरोना परीक्षण हुँदा उहाँकाे रिर्पोट नेगेटिभ आएको छ ।

‘अस्पतालको गम्भीर लापर्वाहीले डायलासिस गराउन नपाउँदा उहाँले ज्यान गुमाउनुपर्‍याे’, मृतकका भतिज धनबीर धानुक भन्नुहुन्छ, ‘बिरामी भएपछि अस्पताल आए पनि उपचार नपाएरै मर्नुपर्छ भने किन चाहिए अस्पताल ? गरिबको नियति यस्तै रहेछ ।’ धानुक मिर्गौलासम्बन्धी रोगको पुराना बिरामी नभए पनि कोरोनाको कारण देखाउँदै बिरंग हेल्थ केयर प्रालीले डायलासिस गराउन आनाकानी गरेपछि अकालमै ज्यान गुमाउनुपरेको हो ।

कुनै ट्राभल हिस्ट्रीसमेत नदेखिएकाे धानुकको जटिल स्वास्थ्य अवस्थाको बेवास्ता गर्दै बिरंग हेल्थ केयर प्रालीले पीसीआर रिर्पोट खोज्न थालेपछि र अस्पतालले पीसीआर परीक्षणमा ढिलाइ गर्दा उहाँको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । तर बिरंग हेल्थ केयर प्रालीको डायलासिस वार्डका व्यवस्थापक दिपक भट्ट भने मृतक भारतबाट फर्किएकाले पीसीआर रिपोर्ट मागिएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘पीसीआर रिर्पोट अनिवार्य त हैन, तर मृतक भारतबाट फर्किएर बैतडी, डडेल्धुरा हुँदै धनगढी आएकाले हामीले परीक्षण गर्न भनेका हौँ ।’

अस्पतालले समेत आफूहरुलाई ढिलो गरी खबर गरेको  भट्टको दाबी छ । स्वास्थ्य सेवा विभागको सहजीकरणमा सेती प्रादेशिक अस्पतालसँग सम्झौता गरी डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरंग हेल्थ केयर प्रालीले कोरोनाको कारण देखाउँदै बिरामीको गाम्भीर्यता नहेर्दा समस्या हुँदै आएको छ । यो संस्थालाई नियमन गर्ने अधिकार अस्पतालसँग भए पनि बेवास्ता गरिँदा मिर्गौला पीडितहरु झनै समस्यामा परेका छन् । प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेले मिर्गौला पीडितको कोरोना परीक्षण अनिवार्य नगरिएको बताउनुभयो ।

उहाँले गम्भीर बिरामीको पीसीआर गरे पनि नगरे पनि डायलासिस गर्नुपर्ने बताउनुभयो । अस्पतालले समेत बिरंग हेल्थ केयर प्रालीलाई पत्राचार गर्दै पीसीआर पोजेटिभ देखिएका बिरामीको पनि छुट्टै डायलासिस गराउने व्यवस्था गर्न भनिएको मेसु डाक्टर पाण्डे बताउनुहुन्छ । कोरोना भाइरसको महामारीमा पीसीआर रिर्पोटको पर्खाइमै मिर्गाैला पीडितले ज्यान गुमाउनुपर्ने मात्र नभइ गाडी अभाव र आर्थिक समस्या पनि अर्को कारण बनेको छ ।

सेती प्रादेशिक अस्पतालमै नियमित डायलासिस गराउँदै आउनुभएकी कैलालीको गोदावरी नगरपालिका १ की लिलादेवी जोशीको पनि उपचार नपाउँदा गएको जेठमा ज्यान गएको थियाे । दुवै मिर्गाैला फेल भैसकेपछि जोशीलाई थप उपचारकाे लागि काठमाण्डौ लैजान नसक्दा उहाँको ज्यान गएको हो । मृतकका श्रीमान प्रेमराज जोशीले लकडाउनले गाडी नचल्दा र आर्थिक जोहो गर्न नसक्दा थप उपचारकाे लागि काठमाण्डौ लैजान नसकेपछि श्रीमतीको ज्यान गएको बताउनुभयो ।

सुदूरपश्चिममै धनगढीमा मात्र मिर्गौला पीडितका लागि सेती प्रादेशिक अस्पतालमा नियमित डायलासिस सेवा उपलब्ध भए पनि व्यवस्थित नहुँदा कोरोनाको महामारीमा मृत्युवरण गर्नुपर्ने बाध्यता बनेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया