मलेसियाबाट आउने जहाजले १८ नेपालीको शव ल्याउँदै, भोलि साउदीबाट पनि १६ जनाको शव ल्याइने

 असार १२, २०७७ शुक्रबार १२:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज मलेसियाबाट १८ जना नेपालीको शव ल्याइने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो । आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत शव पनि ल्याउन लागिएको हो । 

सिरहाका बलराम ठाकुर, जाजरकोटका बीरबहादुर कामी, धनुषाका बिपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम बि.क, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहराको शव नेपाल ल्यायने वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

बोर्डका अनुसार इलामको पदमबहादुर सारु, बाग्लुङ्का शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दिपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दुःखीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खतवे र रुकुमका कुवीराम ओलीको शव ल्याईंदैछ  । यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ ।

यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा नेपालीका शव रोकिएका थिए । त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो । 

अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुर्‍याइदिन्छ । काठमाण्डौमै आफन्त भएमा शव बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आज आउने शवको ढुवानीका लागि बोर्ड तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया