काेराेनाविरुद्धकाे खाेप मानिसमा परीक्षण गर्ने तयारीमा भारत

 असार १६, २०७७ मंगलबार १७:३१:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानिसमा परीक्षण गरिने भएको छ । हैदराबादको एक फर्मा कम्पनी ‘भारत बायोटेक’ ले बनाएको खोप परीक्षणमा स्वयंसेवीहरु सहभागी हुने भएका छन् । 

कम्पनीले यो खोपको मानिसमा चाँडै नै परीक्षण सुरु गरिने दाबी गरेको छ । तर कति जना स्वयंसेवीलाई यो खोप दिइने भन्नेबारेमा कम्पनीले जानकारी दिइसकेको छैन । 

कम्पनीका अनुसार जनावरमाथि यो खोप परीक्षणको नतिजा उत्साहजनक र सुरक्षित पाइएको छ । विश्वका विभिन्न देश अहिले कोरोनाविरुद्धको खोपको परीक्षण गरिरहेका छन् । 

विशेषज्ञहरुका अनुसार अहिले एक सय २० भन्दा धेरै खोपको कार्यक्रम चलिरहेको छ । झण्डै आधा दर्जन भारतीय फर्मा कम्पनी कोरोना भाइरसको खोप बनाउन लागिपरेका छन् । 

मानव परीक्षणसम्म पुगेको, भारतमा बनेको यो पहिलो कोरोना खोप हो । भारतमा औषधिको नियामक संस्थाले पनि भारत बायोटेकको खोप मानवमा पहिलो र दोस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ । 

भारत बायोटेकले जारी गरेको विज्ञप्ति अनुसार, ‘कम्पनीको प्रि–क्लिनिकल अध्ययन र खोप सुरक्षित भएको दस्तावेज जम्मा गरेपछि क्लिनिकल परीक्षणको अनुमति मिलेको हो ।’  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया