अमेरिकामा कोरोना महामारीको स्वरुप अझै डरलाग्दाे हुने खतरा छ : डाक्टर फाउची

 असार १८, २०७७ बिहिबार १६:३६:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाका विशेषज्ञ डाक्टर एन्थनी फाउचीले देशमा कोरोना महामारीको स्वरुप अझै डरलाग्दाे हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोना सङ्क्रमणको बढ्दो दरलाई लिएर डाक्टर फाउचीले यस्तो चेतावनी दिएका हुन् । 

सङ्क्रमणलाई नियन्त्रणमा लिन नसक्ने हो भने अमेरिकासामु कोरोना महामारीको खतरा बढ्ने उनले बताए । देशमा कोरोना भाइरस सङ्क्रमणको बढ्दो दरलाई लिएर उनले चिन्ता व्यक्त गरेका हुन् । 

उनले बीबीसी रेडियो फोरसँग भने, ‘कोरोना सङ्क्रमणको दर र त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या हेर्दा अमेरिका अरु कुनै देशको तुलनामा नराम्रोसँग प्रभावित भएको छ । सरकारी कामकाज र दैनिकी सामान्य अवस्थामा ल्याउने कोसिस गरिरहँदा विभिन्न राज्यमा सङ्क्रमणको दर बढिरहेको छ, जो निकै चिन्ताको विषय हो ।’

‘हामीले यो अवस्थालाई नियन्त्रणमा नै लिनुपर्ने हुन्छ नत्र अमेरिकासामु कोरोना महामारीले अझै खतरनाक स्वरुप लिन सक्ने खतरा छ ।’  

कोरोना महामारी नियन्त्रणमा लिने केही युरोपेली देशसँग अमेरिकाको तुलना गर्दै डाक्टर फाउचीले भने, ‘उनीहरुले ९७ प्रतिशतसम्म लकडाउन गरेका थिए भने अमेरिकाले ५० प्रतिशतसम्म मात्र लागू गरेको थियो । यसले महामारी फैलिन मद्दत पुगेको हो ।’

खासगरी युवा वर्गलाई सामाजिक जिम्मेवारीको सुनिश्चितता गर्नुपर्ने उनले बताए । 

अमेरिकामा अहिलेसम्म २७ लाख ८० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३० हजारभन्दा धेरैको ज्यान गइसकेको छ  ।

त्यस्तै विश्वभर अहिलेसम्म एक करोड आठ लाख ३३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा पाँच लाख १९ हजारभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमितमध्ये ६० लाख ५२ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया