दैलेख प्रयोगशालालाई मान्यता, तर सञ्चालनमा समस्या

 असार १९, २०७७ शुक्रबार ८:२७:३८ | अमर सुनार
unn.prixa.net

दैलेख – पीसीआर मेसिनमा जाँचिएका कोरोना भाइरस नमूना पुनः परीक्षण गराउँदा हुबहु रिपोर्ट आएपछि दैलेख प्रयोगशालालाई मान्यता प्राप्त भएको छ । १०–१० वटा पोजेटिभ र नेगेटिभ रिपोर्टहरु हुबहु आएपछि राष्ट्रिय प्रयोगशालाबाट मान्यता प्राप्त भएको इञ्चार्ज शंकर शाहीले जानकारी दिनुभयो ।

मेसिनको विश्वसनीयता जाँच्न १०–१० वटा पोजेटिभ र नेगेटिभ पुनः परीक्षण गर्ने विश्वव्यापी नियम अनुसार दैलेख प्रयोगशालाले परीक्षण गरेका नमूनाहरु नेपालगञ्ज प्रयोगशालामा बिहीबार पुनः परीक्षण गराउँदा हुबहु रिपोर्ट आएको शाहीले बताउनुभयो ।

राष्ट्रिय प्रयोगशालाले मान्यता दिइसकेकोले अब दैलेख प्रयोगशालाको रिपोर्टलाई जिल्लाले नै प्रकाशन गर्न पाउने भएको छ । कोभिड संकट व्यवस्थापन समितिलाई जानकारी गराएर स्वास्थ्य सेवा कार्यालयले शुक्रबारदेखि रिपोर्ट सार्वजनिक गर्ने अधिकार प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डा. निरञ्जन पन्तले जानकारी दिनुभयो ।

मेडिसोलुसन इण्टरनेशनल प्रालि काठमाण्डौले पाएको टेण्डरमा ‘माइक्रोपेट्टे प्लस डी–ल्याब’ ब्राण्डको पीसीआर मेसिन १२ घण्टा चलाउँदा तीन सय वटा कीटको रिपोर्ट निकाल्न सक्ने क्षमता रहेको कर्णाली प्रदेश प्रयोगशालाका बायोमेडिकल इञ्जिनियर राकेशकुमार साहले जानकारी दिनुभयो । आरएनए एक्सट्याक्रेसन मेसिन थपे एकै दिन पाँच सय जनाको परीक्षण गर्न सकिने उहाँको भनाइ छ ।

अहिलेलाई कोरोना सङ्क्रमण छ–छैन भनी परीक्षणको मात्र काम गरिरहेको पीसीआर मेसिनले वंसाणुगत जिवाणु (डीएनए) पहिचान, एचआईभी–एड्स, हेपाटाइटिस, इन्फुलुञ्जा परीक्षणदेखि बिरुवाको प्रजाति समेतको परीक्षण लगायतका बहुउपयोगी काम गर्ने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो ।

पीसीआर मेसिन जोडियो, तर सञ्चालनमा कठिनाइ

पीसीआर रिपोर्ट ढिलाइकै कारण ठाउँठाउँका क्वरेण्टीन र आइसोलेसनमा बसेकाहरुले आनदोलन गर्न थालेपछि दैलेख क्षेत्र नंं १ को संसदीय क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट कोरोना जाँच्ने पीसीआर मेसिन खरिद गरिएको हो ।

दैलेख सदरमुकामको काँडाचौरदेखि भैसेखोर सडक कालोपत्रे गर्न बिनियोजन गरिएको ६ करोड रुपैयाँमध्ये ठेक्का घटाघटमा बचेको एक करोड ८ लाखमध्येबाट एक करोड ६ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।  

मेसिन किनेपछि बिना बजेट विभिन्न श्रोतहरुको जोहो गरेर दैलेख प्रयोगशाला सञ्चालन गरिएको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले बताउनुभयो ।

पीसीआर खरिदपछि बिना बजेट प्रयोगशालाका निम्ति आवश्यक जनशक्ति, उपकरण र रासायनिक पदार्थ आफैंले जोहो गर्नुपरेको कारण दैलेख प्रयोगशाला सञ्चालन गर्न जिल्लालाई व्यय थपिएको दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले बताउनुभयो ।    

कर्णाली प्रदेश सरकारले सुर्खेतमा जेठ पहिलो हप्तादेखि प्रयोगमा ल्याएको पीसीआर मेसिन असार दोश्रो हप्ता बिग्रेका कारण सुर्खेत प्रयोगशालाले समेत कर्णाली प्रदेश प्रयोगशालामा प्राप्त भएका नोजल स्वाबहरु दैलेख पठाउन थालेको छ ।

कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि जेठको दोश्रो हप्ताबाट पीसीआर मेसिन ल्याइएको भए पनि पायक नपर्ने भएकाले कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा सङ्कलित नोजल स्वाबहरु मात्र परीक्षण गर्ने गरिएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया