नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
मेरो नाम वीरेन्द्र कुमार चौधरी हो । मेरो घर बर्दघाट नगरपालिका–११ नवलपरासी हो । तर म १८ वर्षदेखि साउदी अरेबियामा बसेर काम गरिरहेको छु । मेरो परिवारमा आमा, श्रीमती र छोराछोरी छन् । मैले आईएसम्म अध्ययन गरेको छु । मेरो श्रीमती नवलपरासी घर नजिकैको स्कूलमा शिक्षिका छिन् । छोराछोरीको पढाइ राम्रो छ । आमाबुबा खुशी हुनुहुन्छ ।
म द्वन्द्वकालमा विदेश आएको हो । त्यस बेला देशको स्थिति निको थिएन । के गर्ने, कसरी घर व्यवहार सम्हाल्ने केही टुङ्गो थिएन । काम पनि पाएको थिइनँ । घर परिवार मेरो जिम्मामा थियो । मन त खास देशमै बस्छु, केही गर्छु भन्ने थियो तर सम्भव भएन । ‘अब के हुन्छ ?’ यो प्रश्नको जवाफ पनि थिएन मसँग । त्यसैले घर परिवारको सुख र शान्तिका लागि दुई दशकअघि म विदेशिएको हुँ । घर आउने जाने गर्छु ।
विदेश जानुअघि कामकै लागि भनेर म काठमाण्डौमा बस्ने गर्थेँ । विदेश जाने सोच बनाएर परिवारसँग सल्लाह गरेँ । यताउता कसैको कुरा सुनिनँ । सीधै म्यानपावर कम्पनीसँग कुराकानी गरेँ । मैले सीप चाहिँ केही पनि सिकेको थिइनँ । तर अहिले जो विदेश आउने सोचिरहनुभएको छ, प्राविधिक सीप सिकेर आउन म सल्लाह दिन्छु ।
विदेश भन्ने शब्द सुन्दा जति रमाइलो लाग्छ, यहाँको जीवन उत्तिकै कष्टकर हुन्छ । शुरुआती दिनहरू मेरा लागि सहज थिएनन् । परिवार छोडेर आएको । भाषा केही नबुझ्ने । न संस्कृति मिल्छ । न रहनसहन । साउदी आएको केही समय आफ्नो मन बुझाउन धेरै गाह्रो भयो । कुनै बेला त ‘म नेपालमै ठीक थिएँ । जसोतसो जे जे हुन्छ– गर्थेँ ’ भन्ने पनि लाग्थ्यो । तर फेरि परिवारको आर्थिक अवस्था सम्झिन्थे, मन भारी हुन्थ्यो ।
मलाई म्यानपावर कम्पनीले अफिसमा नै काम हुन्छ भनेर पठाएको थियो । तर साउदी आइसकेपछि भाषाकै कारण मैले सोचेअनुसारको काम पाउन समय लाग्यो । तर कम्पनीले बस्ने सुविधा चाहिँ राम्रो दिएको थियो । विदेश आउनुअघि पैसा हुनासाथ घर पठाइहाल्छु भन्ने लागेको थियो । तर यहाँ आएर परिस्थिति फरक भइदियो ।
काम, भाषा, प्रविधिबारे राम्रो जानकार नहुनाले पनि त्यस बेला पैसा पठाउन सक्ने अवस्था भएन । अहिले यो सबै कुरा सपनाजस्तो लाग्छ । अब त पुरानो भइसकेँ । धेरै कुरा थाहा भइसक्यो । काममा पनि आत्मसन्तुष्टि मिलेकाे छ ।
परिवार खुशी छ । आफू बिरामी परेको बेला चाहिँ परिवारको यादले सताउँछ । जति जे नै गरे पनि विदेश देशजस्तो हुँदैन । यहाँ रेखदेख गर्ने कोही पनि हुँदैनन् । त्यसैले विदेश, त्यसमा पनि साउदी अरेबिया आउने सोचमा हुनुहुन्छ भने सीप सिकेर आउनुस् । यहाँको भाषा र संस्कृतिबारे जानकारी लिएर आउनुस् ।
साउदी हाम्रो देशजस्तो छैन । सबै कुरा फरक छ यहाँ । भाषा, संस्कृति र धर्म केही पनि मिल्दैन । अहिले झन् महँगी बढेको छ । नेपालबाट केही सीप नसिकेर यहाँ आएर अप्ठ्यारोमा पर्नुभएको कतिपय नेपाली दाजुभाइ मैले देखेको र भेटेको छु ।
त्यसैले तपाईं कामका लागि साउदी आउँदै हुनुहुन्छ वा अरू देश नै जाँदै हुनुहुन्छ भने सबै कुरा राम्ररी बुझेर मात्र जानुस् । अवैध रूपमा नबस्नुस् । सबै प्रक्रिया पूरा गरेर मात्र विदेश गए आफूलाई राम्रो हुन्छ । आफ्नो वैदेशिक रोजगारलाई सुरक्षित बनाउन आफूले पहल गर्नुपर्याे ।
यही विषयमा राज्यको भूमिकाको कुरा पनि आउँछ । राज्यले सामाजिक सुरक्षा कोषको विषयलाई अझ चुस्त बनाउनुपर्छ किनकि यो हाम्रै लागि हो ।
नेपाल सरकारले विदेश आउँदा लाग्ने शुल्क कम गरिदिए धेरै श्रमिकलाई सजिलो हुन्छ । वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेका सङ्घ–संस्थाहरुले थप सक्रिय भएर काम गर्नुपर्याे । दूतावासलाई झक्झकाउनु पर्याे ।
नेपाल सरकारले हरेक देशसँग सहकार्य गरेर हेल्प डेस्क राख्नुपर्छ । यसका साथै प्राविधिक सीप र तालिम उपलब्ध गराउन पनि सरकारले पहल गर्नुपर्छ । कम्तीमा यहाँबाट सीप सिकेर गएको श्रमिकले गन्तव्य देशमा राम्राे तलब पाउँछ ।
जसरी कोरिया र जापानजस्ता देशमा जानका लागि भाषा सिक्न आवश्यक छ, त्यसैगरी अरबका देशहरू जान पनि भाषा सिक्न आवश्यक छ । यस्ता विषयमा सरकारले ध्यान दिए वैदेशिक रोजगारीलाई केही भए पनि सुरक्षित बनाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।