गुल्मी पहिराे अपडेट : दुई जनाको ज्यान गयो, एक जना बेपत्ता

 असार १९, २०७७ शुक्रबार ९:३६:३५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।

इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले जानकारी दिनुभयो ।

बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन् ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे सम्पर्कबिहीन हुनुभएको स्थानीय रामबहादुर केसीले बताउनुभयो । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ ।

घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ । पानी परिरहेकाले अहिले पनि पहिरो खसिरहेको छ । पहिरोले सडक अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।  गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका स्थानीयले बताएका छन् ।

घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया