सुदूरपश्चिममा काेराेना सङ्क्रमणकाे दर बढ्दै, सबैभन्दा बढी सङ्क्रमित भेटिएका प्रदेशकाे लहरमा तेस्राे स्थानमा

 असार २२, २०७७ सोमबार १३:१:९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा काेरोना सङ्क्रमितकाे दर तीव्र गतिमा बढिरहेकाे छ । देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित भेटिएकाकाे लहरमा सुदूरपश्चिम प्रदेश तेस्राे स्थानमा छ । प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ पछि नेपालमा सबैभन्दा बढी सुदूरपश्चिममा सङ्क्रमित भेटिएका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ७८ पुगेको छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा आठ सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै अछाममा पाँच सय ८७, बाजुरामा पाँच सय ५९, डोटीमा पाँच सय ५६ जनाामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरमा चार सय २९, डडेल्धुरामा दुई सय ६७, बैतडीमा दुई सय ६१, बझाङमा एक सय ४६ र बाजुरामा १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

सुदूरपश्चिमभन्दा सङ्क्रमित धेरै भेटिएका प्रदेश नम्बर २ मा चार हजार एक सय ६० र प्रदेश नम्बर ५ मा तीन हजार नौ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशमा एक हजार पाँच सय ७८, गण्डकी प्रदेशमा एक हजार एक सय ५०, प्रदेश नम्बर १ मा ६ सय ९२ र वाग्मती प्रदेशमा पाँच सय ५९ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिममा कोरोना पुष्टि भएका आठ जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितमध्ये ६ सय ६२ जना डिस्चार्ज भएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया