पशुपति क्षेत्रको सौन्दर्यता बढाइने

 असार २३, २०७७ मंगलबार १४:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्रस्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता बढाइने बताउनुभएको छ । 

नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिण द्वारको मङ्गलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताउनुभयो । 

त्यसका लागि पशुपति क्षेत्रभित्र जीर्ण रहेका संरचनाहरुको पुनर्निर्माण गर्ने र सरसफाइमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको मन्त्री भट्टराईले बताउनुभयो । पशुपति क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माण कार्यले गति लिने बताउनुभयो ।

उहाँले एसबीआई बैंकले समाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको दक्षिण द्वारको सुन्दरताले भक्तजनलाई पवित्र धार्मिक स्थलमा प्रवेश गरेको अनुभूति गराउने जानकारी दिनुभयाे ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र त्यहीअनुसार नै यसको सौन्दर्यता कायम गरिने बताउनुभयो । 

उहाँले विश्वमा नै हिन्दूहरुको प्रमुख तीर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपति क्षेत्रलाई विकास गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेश द्वार निर्माण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । बैंकले पशुपति क्षेत्रको दक्षिणतर्फको प्रवेश द्वार, जुत्ता राख्ने घर, एटीएम घरलगायतका संरचना निर्माण गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया