सिँचाइ कुलोले पलायो आत्मनिर्भर बन्ने आशा

 असार २५, २०७७ बिहिबार १०:३३:४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – सिँचाइ अभावका कारण बाह्रै महिना खेती गर्न नसक्ने रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ का किसानले अबदेखि बाह्रै महिना खेती गर्न सक्ने भएका छन् ।

यसअघि पक्की सिँचाइ कुलो नहुँदा गाउँपालिकाको भलबाङ र धारबाङका किसानले सुख्खायाममा खेती गर्न समस्या भोग्दै आएका थिए । तर अब भने त्यो समस्या भोग्न नपर्ने भएको छ ।

पहाडी साना किसानका लागि अनुकूलन ९आशा० आयोजनाको सहयोग र किसानकै जनश्रमदानबाट भलबाङका २८ घरधुरी र धाराबाङका २६ घरधुरी लाभान्वित भएका छन् । कच्ची कुलोमा पानी चुहिने समस्याका कारण सिँचाइ गर्न समस्या थियो प्रगतिशील सिँचाइ कुलो आयोजना भलबाङका अध्यक्ष रामचन्द्र घर्तीले भन्नुभयो, ‘अहिले त पक्की कुलो भएपछि मुहानबाट जति पठायो त्यति नै पानी बारीमा पुग्छ ।’

सिँचाइ कुलो निर्माणका लागि आशा आयोजनाबाट ११ लाख ४० हजार र उपभोक्ताहरुको दुई लाख ९० हजार बराबरको जनश्रमदान रहेको अध्यक्ष घर्तीले बताउनुभयो ।

सिँचाइ कुलो निर्माणका लागि यसअघि नै वडा कार्यालयले पहल गरिरहेकोमा अहिले निर्माण गर्न सफल भएको सुनिलस्मृति गाउँपालिका–१ का वडासदस्य मोहनविक्रम भण्डारीको भनाइ छ । 

‘अघिल्लो वर्ष नै हामीले स्थानीय अनुकूलन आयोजना ९लापा०बाट छनौट गरेका थियौं’ वडा सदस्य भण्डारीले भन्नुभयो, ‘अहिले हामीसँग सहकार्य गरिरहेको आशा आयोजनाबाट सिँचाइ आयोजना निर्माण भयो ।’

त्यस्तै धाराबाङमा पनि आशा आयोजनाकै सहयोगमा सिँचाइ कुलोको मर्मत गरिएको छ । आशा आयोजनाको ६ लाख १० हजार र स्थानीयको एक लाख ५५ हजार बराबरको जनश्रमदानबाट धाराबाङ सिँचाइ कुलो मर्मत भएपछि धाराबाङका २६ घरधुरी लाभान्वित भएका छन् ।

विषेशगरी यहाँका किसानहरुले वर्षामा मकै, हिउँदमा गहुँ र केही बेमौसमी तरकारी बाली लगाउने गरेका छन् । हिउँदमा सिँचाइ अभावका कारण राम्रो उत्पादन गर्न नसकेका किसानले अबदेखि उत्पादनको बृद्धि गरी खाद्य बालीमा आत्मनिर्भर बन्ने अपेक्षा लिइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया