कास्कीका विभिन्न ठाउँमा पहिरो : ६ जनाको ज्यान गयाे, १ बेपत्ता, ८ घाइते

 असार २६, २०७७ शुक्रबार १२:२७:३ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखराको विभिन्न स्थानमा गएको पहिरोमा परेर ६ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता र ८ जना घाइते भएका छन् । 

बिहीबारदेखि परेको अविरल वर्षाको कारण पोखरा महानगरपालिका १७ सराङकोट, गोठादीका टंकबहादुर थापा मगरको घरमा पहिरो जाँदा ५ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । 

पहिरोमा घरधनी ५० वर्षीय टंकबहादुर सहित उहाँकी श्रीमती ४५ वर्षीया सोममाया थापा मगरको ज्यान गएको हो । यस्तै टंकका दाइको नाति ६ वर्षीय सुवान थापा, त्यही ठाँउ बस्ने ११ वर्षीया ईशिका थापाको पनि ज्यान गएको छ । त्यही घरमा जन्मदिन मनाउन गएका तनहुँ दमौलीका ८ वर्षीय शीतल श्रेष्ठको समेत पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो ।

पहिरोमा परेर टंकको २२ र १८ वर्षीया छोरीहरु पिङ्की र आशा थापा मगर र पाँच वर्षीया नातिनी पिरिसा थापा मगर घाइते भएका छन् ।

यस्तै त्यही पहिरोमा परेर पोखरा १८ सराङकोटका रशि थापा, अनिश तामाङ्ग र रश्मी थापा र तनहुँ दमौली घर भएका २८ वर्षीया सरस्वती श्रेष्ठ र १० वर्षीय सन्देश श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रवक्ता हमालले बताउनुभयो ।  

बिहीबार राति जन्मदिन मनाउनका लागि धेरै मानिसहरुको जमघट भए पनि धेरैजसो राति नै आआफ्नो घर गएको भए पनि टंकबहादुरको घरमा परिवार सहित १३ जना बसेको स्थानीयले बताएका छन् । 
यस्तै पोखरा २५ हेमजा मेलबाटेका रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा उहाँकी आमा हिमकला अधिकारीको ज्यान गएको छ । 

यस्तै पोखरा–२६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनार बेपत्ता भएको प्रवक्ता हमालले बताउनुभयो । उहाँकी श्रीमती, एक छोरा र एक छोरीलाई सकुशल उद्धार गरी सुनारको खोजी कार्य जारी राखेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया