सङ्खुवासभा : पहिरोमा फसेकाकाे उद्धार गर्ने क्रममा एक जनाको ज्यान गयाे

 असार २८, २०७७ आइतबार १५:५२:२० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ काे बेसिन्दा गाउँमा शनिबारदेखि परेको अविरल वर्षापछि गएको पहिरोमा परेकाहरुको उद्धार गर्ने क्रममा एक जनाको ज्यान गएकाे छ ।

पहिरोमा बेपत्ता भएकाकाे खाेजी र उद्धार गर्ने क्रममा दमका रोगीसमेत रहेका स्थानीय मदन राईको हृदयघातकाे कारण ज्यान गएकाे हो । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले घटनाबारे जानकारी दिनुभएको हो । बेपत्ता हुनेहरुमा राममान कुलुङ, हस्तकुुमारी कुलुङ, नम्रता कुलुङ, एन्जिला कुलुङ (गर्भवती), नम्रता कुुलुङ, बिनिला कुलुङ, गोरीमाया कुलुङ, उत्तरकुमारी कुलुङ, जुद्धबहादुर (माने) कुलुङ, धनशंकर (मलमराइ), आइतजिन (मारिम) कुलुङ र नजमाया कुलुङ रहेकाे डीएसपी मल्लले बताउनुभयो । 

उहाँका अनुसार स्थानीयको पहलमा गेदासिंह कुलुङ, भीमसरी राई, फुलमायाँ राई र भीमबहादुर कुलुङ गरी चार जनाको उद्धार गरिएकाे छ । पहिरोमा परेर सिलिचोङ गाउँपालिका १ बेसिन्दा गाउँका गेदासिंह कुलुङ, जुद्धबहादुर कुलुङको तीन जनाको परिवार, सन्दीप कुलुङको दुई जनाको परिवार, रामधन कुलुङ र भीमबहादुर कुलुङकाे घर बगाएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो । 

पहिराेका कारण चेप्चेवा स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ भने चटेक्मा हाइड्रोपावर हाउसमा समेत क्षति पुगेको जनाएको छ । उद्धारकाे लागि ताम्कु र सिसुवाटारमा रहेको प्रहरी चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेकाे छ । थप जनशक्तिकाे लागि सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी १५, सशस्त्र प्रहरी बल १५ र नेपाली सेनाका ३० जना गरी ६० जनाको टोली पनि गइसकेकाे जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । 

सिलिचोङ गाउँपालिकाको सिकदिममा एक दशकअघि गएको पहिरोले तीन जनाको ज्यान गएकाे थियाे भने ११ जना बेपत्ता भएका थिए ।

पानी नरोकिँदा खोजी कार्यमा समस्या

शनिबार रातिदेखि परेको अविरल वर्षा अझैसम्म रोकिएको छैन । निरन्तर वर्षाको कारण खोजी, उद्धार कार्य र आवात जावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

अरुणपारिको गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिका दुर्गम ठाउँमा रहेको छ । पानी पर्ने क्रम नरोकिएकाे, बीच बाटोमा स-साना पहिरो झरेकोले उद्धारकाे लागि गएको टोलीलाई सिलिचोङतर्फ जान पुग्न समस्या भएको सङ्खुवासभाका सहायक प्रजिअ घिमिरेले बताउनुभयो ।

विभिन्न ठाउँमा पहिरोले क्षति 

अविरल वर्षाकाे कारण सङ्खुवासभाकाे विभिन्न ठाउँ पहिरोले क्षति पुर्‍याएकाे छ । खाँदबारी नगरपालिका १ काे देवकोटा चौकदेखि सातकुवा जाने सडकमा दुई सय मिटरभन्दा माथिबाट पहिरो झरेकाले सडक अवरुद्ध भएको छ । पहिराे खस्दा केही घर जोखिममा परेका छन् भने केही सुरक्षित स्थानतर्फ गएका छन् । 

खाँदबारी १ ढोलबाजेको सडकमाथिबाट पहिरो झरेकाेले आवात जावातमा समस्या भएको छ । विभिन्न ठाउँमा गएको पहिरो र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया