भारतले 'नक्कली अयाेध्या' खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍याे : प्रधानमन्त्री

 असार २९, २०७७ सोमबार १९:४६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभयो ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउनुभयो । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन । 

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्नसमेत गर्नुभयो । त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उहाँको आशय थियो ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उहाँले भन्नुभयो, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन, न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन । नजिकै पर्थ्याे, सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमलामाथि अर्को...।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताउनुभयो । आजै हिमवत्खण्ड कला साहित्य सम्मिलन—२०७५ स्मारिका समेत विमाेचन गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया