सुदूरपश्चिममा ९२ प्रतिशत राेपाइँ सकियाे, कुन जिल्लामा कति ?

 असार ३०, २०७७ मंगलबार २०:४२:३० | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । 

सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले झण्डै ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी जिल्लाहरुबाट आएको बताउनुभयो । 'आकाशे पानी र सिँचाइको सुविधा विस्तार भएकाले समयमा रोपाइँ हुँदा यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ,' उहाँले भन्नुभयो 'यस वर्ष असारमै रोपाइँ सकिने भएको छ ।' उहाँका अनुसार जिल्लाहरुबाट प्राप्त तथ्याङ्क आइतबारसम्मको हो । दुई दिनमा थप दुई प्रतिशतको हारहारीमा रोपाइँ भएको छ ।

विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यस वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिएको छ । किसानले यस वर्ष पनि राधा-४, सुख्खा-३, सावित्री, मन्सुली, रामधान जातको धान राेपेका छन् । खजुरा गाउँपालिका २ का अगुवा कृषक अर्जुन उप्रेतीले यस वर्ष आकाशेपानी परिरहेका कारण बेलैमा रोपाइँ सकिएको बताउनुभयो । 

असारको अन्तिमसम्म ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको हो । सुदूरपश्चिमको नाै जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।अहिलेसम्म एक लाख ६२ हजार दुई सय ३० हेक्टर अर्थात् ९१.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । अघिल्लो वर्षको साउन मसान्तसम्म हुने रोपाइँ यसपाली असारमै भएको हो । 

अघिल्लो वर्षको साउन मसान्तसम्म ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो । यसपाली समयमै पानी परेपछि किसानहरुलाई राहत भएको छ । आकाशेपानीको भरमा रोपाइँ हुने अधिकांश ठाउँहरुमा पनि रोपाइँ भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका नाै जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भने डोटीमा भएको छ । 

अहिलेसम्म सबैभन्दा कम रोपाइँ बाजुरामा र सबैभन्दा बढी रोपाइँ कञ्चनपुरमा भएको छ । असार १५ गतेसम्मकाे तथ्याङ्क हेर्दा सबैभन्दा धेरै रोपाइँ अछाममा भएको थियो । धानका लागि उर्बर भूमि मानिने कैलाली र कञ्चनपुरमा झण्डै पूरै क्षेत्रफलमा रोपाइँ सकिएको छ । असारको पहिलो हप्ता कञ्चनपुरमा सबैभन्दा कम १५ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने कैलालीमा १७ प्रतिशत रोपाइँ भएको थियो । 

अछाममा १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइँ गरिँदै आएकोमा १४ हजार ९३ हेक्टर (८५ प्रतिशत) मा रोपाइँ भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा आठ हजार नौ सय ३६ हेक्टर (८२ प्रतिशत) मा रोपाइँ भएको छ ।

धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ९३ दशमलव ५ प्रतिशत र कञ्चनपुरमा ९६ दशमलव ५ प्रतिशतमा धान रोपाइँ भएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ६७ हजार ५३ हेक्टरमा रोपाइँ भएको छ । कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा ४६ हजार ६ सय ८१ हेक्टरमा रोपाइँ भएको सुदूरपश्चिम सरकारको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले दिएको तथ्याङ्क अनुसार डडेल्धुरामा ६ हजार दुई सय २६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा पाँच हजार ६ सय तीन (९० प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाइँ भएकाे छ । दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाइँ हुदै आएकोमा तीन हजार नौ सय ४२ (८८ प्रतिशत) हेक्टरमा रोपाइँ भएको छ ।

मन्त्रालयकाअनुसार प्रदेशको बाजुरामा ८०, बझाङमा ८५ र बैतडीमा ९० प्रतिशतमा रोपाइँ भइसकेको छ । बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा पाँच हजार सात सय ७६ हेक्टरमा रोपाइँ भइसकेको छ ।

बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ६ हजार ४३ हेक्टरमा रोपाइँ भइसकेको छ भने बैतडीमा नौ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा आठ हजार एक सय हेक्टरमा रोपाइँ भइसकेको छ ।

यसपाली मनसुनले पनि साथ दिएकाेले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । धान खेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाइ छ । 'यसले उत्पादन बढ्छ । तर यसपछि के हुन्छ भन्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षभन्दा पहिले नै धेरै रोपाइँ भइसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मद्दत मिल्छ ।’ 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Prabin chaudhary

    July 15, 2020, 4 p.m.

    कैलालीमा रोपाई समयमाभएपनि किसानलाई चाहने रासायनिक मल छैन कसरी उत्पादन बृध्द्रि हुन्छ भन्न सकिदैन |

  •  0 Reply

तपाईको प्रतिक्रिया