यूएईको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको प्रक्षेपण सफल

 साउन ५, २०७७ सोमबार १३:५६:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) का मङ्गल ग्रहको लागि ऐतिहासिक अन्तरिक्ष अभियान सुरु भएको छ । यो अभियानको उपग्रह जापानबाट छोडिएको छ । 

होप नामक उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–ए नामक रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइएको हो । यो उपग्रहले ५० करोड किलोमिटरको दुरी पार गरेर मङ्गल ग्रहको मौसम र जलवायुको अध्ययन गर्ने बीबीसीले जनाएको छ । 

यसअघि खराब मौसमको कारण यो अभियान दुई पटकसम्म रोकिएको थियो ।   

होप उपग्रहलाई फेब्रुअरी २०२१ सम्म मङ्गलसम्म पुर्‍याउने सम्भावना छ । यो मिति यूएईको लागि महत्त्वपूर्ण छ किनकि त्यस समय यूएई गठनको ५० वर्ष पूरा हुन्छ । 

यूएईको यो अन्तरिक्ष अभियान मङ्गल ग्रहको लागि यो महिना सुरु हुने अभियानमध्ये एक हो । 

अमेरिका र चीन पनि मङ्गल ग्रहको लागि आफ्नो नयाँ अभियान सुरु गर्न गइरहेका छन् । 

मङ्गल किन गइरहेकाे छ यूएई ?

अन्तरिक्ष यानको उत्पादन र डिजाइनिङको बारेमा संयुक्त अरब इमिरेट्ससँग निकै कम अनुभव छ । 

तर यसो हुँदा पनि यूएई त्यो कदम चाल्न गइरहेका छन्, जसमा अहिलेसम्म अमेरिका, रुस, युरोप र भारत मात्र सफल भएका छन् ।  

तर संयुक्त अरब इमिरेट्सका नागरिकको महत्त्वाकाङ्क्षा हेर्दा ऊ चुनौतीको लागि तयार रहेको देख्न सकिन्छ । 

अमेरिकी विशेषज्ञको निगरानीमा यूएईका इन्जिनियरले ६ वर्षको मेहनतपछि एक परिष्कृत उपग्रह तयार गरेका हुन् । 

यो उपग्रह मङ्गलसम्म पुगेपछि यसले विज्ञानको नयाँ सूचना, मङ्गलको वातावरणको बारेमा ताजा जानकारी सार्वजनिक हुने आश गरिएको छ । 

खासगरी वैज्ञानिकहरुले मङ्गल ग्रहमा के कारणले गर्दा हावा र पानी समाप्त भइरहेको भन्नेबारेमा ‘होप’ मिसनबाट पत्ता लाग्ने विश्वास जनाएका छन् । 

‘होप’ मिसनलाई अरबमा प्रेरणाको एक निकै ठूलो स्रोतको रुपमा हेरिएको छ । 

यसबाट संयुक्त अरब इमिरेट्सका युवा र बालबालिकाको विज्ञानप्रति रुचि बढ्ने आश गरिएको छ । 

यूएई सरकार देशको अर्थव्यवस्थाको निर्भरता तेल र ग्यासबाट हटाएर भविष्यमा ज्ञानमा आधारित अर्थव्यवस्थातर्फ लैजान चाहन्छ । 

तर मङ्गल ग्रहको कुरा गर्दा यसको जोखिम पनि निकै छ । रातो ग्रहमा अहिलेसम्म पठाइएको अभियानमध्ये आधा विफल भएका छन् ।  

होप मिसनका प्रोजेक्ट डाइरेक्टर ओमरान शराफलाई पनि यो खतराको अनुमान छ तर उनले आफ्नो देश सही दिशामा अघि बढ्दे कोसिस गरिरहेकोमा जोड दिन्छन् । 

उनले बीबीसीसँग भने, ‘यो एक अनुसन्धान र विकास मिसन हो र यसमा विफल पनि हुने सम्भावना छ । तर एक राष्ट्रको रुपमा विकास गर्दा विफल हुने कुनै विकल्प हुँदैन । यूएई यो अभियानमा जे क्षमता हासिल गर्छ, त्यसले नै धेरै महत्त्व राख्छ ।’  

मङ्गलमा होप मिसनको उद्देश्य

संयुक्त अरब इमिरेट्स मङ्गल ग्रहमा पुगेर यसअघि अरु देशले गरिसकेको कुरा दोहोर्याउन चाहँदैन । 

यसको लागि युएई अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाकोमा गयो । नासाले मङ्गल मिसनको लागि एक सल्लाहकार समिति ‘माक्र्स एक्सप्लोरेशन प्रोग्राम एनालिसिस ग्रुप’ (एमईपीजी) बनाएको छ ।  

मङ्गल ग्रहसम्बन्धी अहिलेको जानकारीमा वृद्धि गर्न के अनुसन्धान गर्ने भनेर यूएईसँग सोधिएको थियो । एमईपीजीको सिफारिसको आधारमा मिसन होपको लक्ष्य तय गरिएको हो ।  

छोटोमा भन्दा यूएईको स्याटलाइटले वातावरणमा ऊर्जाको गति कस्तो हुन्छ भन्ने विषयमा अध्ययन गर्नेछ । माथिदेखि तलसम्म, दिनको पूरै समय र वर्षभरिको सबै मौसममा । यो स्याटलाइटले मङ्गलमा फैलिएको धुलोको पनि अध्ययन गर्नेछ । यही धुलोको कारण मङ्गल ग्रहको तापमान प्रभावित हुन्छ ।   

मङ्गलको वातावरणमा रहेको हाइड्रोजन र अक्सिजनको तटस्थ परमाणुको गतिविधिको अध्ययन पनि स्याटलाइटले गर्नेछ । सूर्यबाट आउने ऊर्जा कण मङ्गल ग्रहमा पुगेर त्यसको क्षतिको कारण बन्छ, हाइड्रोजन र अक्सिजनको तटस्थ परमाणुको यही प्रक्रियामा सक्रिय भूमिका रहने आशङ्का गरिएको छ । 

पहिले मङ्गल ग्रहमा पानी रहेको वैज्ञानिक मान्यता छ । तर त्यो पानी कहाँ गयो भन्नेबारेमा पनि होप मिसनले अध्ययन गर्नेछ ।   

मङ्गलको अध्ययनको लागि होप स्याटलाइट भूमध्यरेखीय क्षेत्रमा रहनेछ । ग्रहबाट स्याटलाइटको दुरी २२ हजारदेखि ४४ हजार किलोमिटरको बीचमा रहनेछ ।  

होप प्रोजेक्टमा काम गरिरहेको एलएएसपीको साइन्स टिमको नेतृत्वकर्ता डेभिड ब्रेन भन्छन्, ‘लाल ग्रहको जमिनको प्रत्येक टुक्रा दिनको कुनै पनि समयमा देखिरहनको लागि होपको कक्षालाई ठूलो र अण्डाकार बनाइएको छ । यही कारण होप ओलिन्पस मन्स (सौर्यमण्डलको सबैभन्दा ठूलो ज्वालामुखी) को माथिबाट पनि देख्न सकिन्छ ।’    

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया