विना आधार लागेको र खुलेको लकडाउनका अनगिन्ति ‘साइड इफेक्ट’

 साउन ८, २०७७ बिहिबार १३:११:३५ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्दा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक जना मात्र थियो । एक सय २० दिनपछि लकडाउन खोलेको दिन नेपालमा एक सय ५० नयाँ सङ्क्रमित थपिएका थिए । एक जना सङ्क्रमित भेटिँदा गरेको लकडाउन एक सय ५० जना सङ्क्रमित थपिएका दिन खुल्दा धेरैलाई सरकारले गरेको निर्णयका आधार के थिए भन्ने जान्न मन छ । सरकारले लकडाउन हटाउने निर्णय गरेपछि धेरैले प्रश्न गरेका छन्, ‘सरकारले किन लकडाउन गर्यो र किन हटायो ?’ तर प्रश्न अनुत्तरित छ ।

एक जना सङ्क्रमित भएको बेला सरकारले कोरोनाले सखाप नै पारिसक्यो भन्ने पारामा लकडाउन लगायो । अहिले एक सय ५० जना सङ्क्रमित थपिएको दिन कोरोना सखाप नै भइसक्यो भन्ने शैलीमा लकडाउन हटाउने निर्णय गर्यो । चैत ११ गते लकडाउन गर्ने निर्णय पनि हतारमै भएको थियो । साउन ७ गते हटाउने निर्णय पनि हतारमै भयो । अहिले नै लकडाउन नगरेको भए हुन्थ्यो भन्ने धेरैलाई लागिरहँदा लकडाउन भयो । तत्काल लकडाउन नहटे हुन्थ्यो भन्ने भइरहँदा लकडाउन हट्यो । उतिबेला लकडाउन हुँदैछ भनेर नागरिकले तयारी गर्न पाएनन्, अहिले लकडाउन हट्दैछ भन्ने सोच्नै पाएनन् । अर्थात् नागरिकले सोचेभन्दा फरक भयो सरकारको निर्णय । 

हतारमा लकडाउन गर्नु र हतारमा ‘अनलक’ गर्नुमा सरकारको आफ्नै तर्क होला । लकडाउन गरेकैले सङ्क्रमण फैलिएन भनेर सन्तुष्ट पनि होला । सङ्क्रमण फैलिन नदिन लकडाउन कति सफल भयो भन्ने कुरामा सबैका आ–आफ्नै विश्लेषण होलान् । तर लकडाउनकै कारण आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा देखिने नै गरी ठूल्ठूला समस्या र अप्ठ्यारा निम्तिएका छन् । जुन सजिलै किनारा लगाउन गाह्रो छ ।
ती समस्याबारे चर्चा गर्नुअघि सरकारी निर्णयका केही अमिल्दा पाटो नियालौँ । 

तयारी विनाको हचुवा निर्णय

एउटा कुरा सत्य हो कि सङ्क्रमण रोकिएन भन्दैमा सधैँभरि लकडाउन गरेर सकिँदैन । आर्थिक क्रियाकलाप र नागरिकको दैनिकी चलायमान बनाउनुपर्छ, त्यसैले लकडाउन हटाउने निर्णय भयो । तर लकडाउन हटाउने निर्णय गर्दा सरकारले सङ्क्रमण रोकथामका लागि आवश्यक आधार तयार गर्न सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको आधारलाई समेत ख्याल गरिएको छैन ।  

डब्ल्यूएचओका अनुसार लकडाउन हटाउनको लागि सङ्क्रमितको सङ्ख्या अत्यन्तै कम हुनुपर्छ । लकडाउन हटेलगत्तै जोखिम बढ्ने भएकाले त्यसैअनुसार अस्पतालको तयारी गरिनुपर्छ । अस्पतालमा स्वास्थ्य जनशक्ति, भेन्टिलेटर र आईसीयू बढाउँदै पीसीआर परीक्षणको दायरा पनि बढाउनुपर्छ । कार्यालय या कार्यस्थलमा कर्मचारीलाई सङ्क्रमणबाट जोगाउन र सुरक्षित साथ काम गर्ने वातावरण हुनुपर्छ । अनि लकडाउन खुलेपछि कसरी सुरक्षित हुने भन्ने कुरा आमनागरिकलाई थाहा दिनुपर्छ । तर सरकारले यी कुनै कुरामा ख्याल नगरि लकडाउन हटाउने निर्णय गरेको छ ।

सरकारका निर्णय कुनै आधार विना हचुवाको भरमा भइरहेका छन् । पहिलो त एक जना मात्रै सङ्क्रमित थपिँदा लकडाउन सुरु भयो । एक सय ५० थपिएको दिन लकडाउन हटाउने निर्णय भयो । यातायात व्यवसायी जोर–बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउन राजी भएको भोलिपल्ट जोर–बिजोर प्रणाली हट्यो । सरकारले जोर–बिजोरको व्यवस्था हटाएलगत्तै सडकमा कोरोना सकिएझैँ गरी गाडी र मान्छेको ताँती लाग्यो ।

सरकारले साउन १५ देखि होटल र रेस्टुराँ खोल्न पाइने भनेको छ । तर होटल र रेस्टुराँले खानेकरा होम डेलिभरि गर्न पाउने भनिएको छ । अथवा सरकारी निर्णयअनुसार होटलमा जान र बस्न पाइन्छ तर खाना बाहिरबाट बोकेर ल्याउनुपर्छ, त्यही खान पाइँदैन । 

भदौ १ देखि स्कुलले भर्ना लिन पाउँछन् तर स्कुल खोल्ने निर्णय नभएकाले स्कुलमा पढाइ हुने छैन । अर्थात् अभिभावकले स्कुललाई भर्ना शुल्क बुझाउनुपर्छ तर छोराछोरीलाई स्कुल पठाउन चाहिँ पाइँदैन ।

भदौदेखि लामो दुरीका गाडी र हवाई जहाज पनि चल्छन् । चार महिनासम्म खुम्चिएर बसेका मान्छे अब जहाँको यात्रा पनि गर्न पाउँछन् । तर मानिस जति चलायमान भए र हिँडडुल गर्न पाए पनि स्पा, स्विमिङ पुल र हेल्थ क्लब बन्दै रहने छन् । कञ्चनपुरको मान्छे झापा र झापाको मान्छे कञ्चनपुर अर्थात् देशको जुनसुकै ठाउँबाट काठमाण्डौ र काठमाण्डौबाट जहाँ पनि जाँदा कोरोनाको डर नहुने अनि घर नजिकैको स्पा,

स्विमिङ पुल र हेल्थ क्लब जाँदा चाहिँ कसरी कोरोनाको डर हुने ? सरकारसँग प्रस्ट तर्क छैन ।

बजार, पसल र सपिङ मल खोल्न पाउँदा सिनेमा हल र चिडियाखाना खोल्न किन नपाइने भन्ने जवाफ पनि सरकारसँग छैन ।   

लकडाउनमा सम्बन्ध ‘डाउन’

लकडाउन गर्नुको मुख्य उद्देश्य थियो, कोरोनाको सङ्क्रमण समुदायमा नफैलियोस् । झण्डै चार महिना लकडाउन गर्दा कोरोनाको सङ्क्रमण धेरै फैलिन पाएन, उद्देश्य पूरा भयो भन्ने सरकारलाई लागेको छ । तर लकडाउनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा कति धेरै असर गरेको छ भन्ने चाहिँ कमैले मात्र लेखाजोखा गरेका छन् ।

लकडाउन भएपछि सबैतिर काम ठप्प भयो । व्यापार, व्यवसाय बन्द भए । उद्योग कलकारखाना, प्रतिष्ठान चलेनन् । कामदारले तलब पाएनन् अनि मालिक र कामदारको सम्बन्ध बिग्रियो । अहिले होटलदेखि मिडियासम्मको अवस्था यही छ । लकडाउन हटे पनि बिग्रिएको सम्बन्ध तत्काल सुधार हुने सङ्केत देखिएको छैन । 

लकडाउनकै बेला सत्तारुढ दल नेकपाभित्र शीर्ष नेताहरुबीचको सम्बन्ध बिग्रियो । लकडाउन नभएको भए पनि खटपट त हुन्थ्यो होला नै । तर लकडाउनकै बेला यसरी सम्बन्ध बिग्रनुको मुख्य कारण हो, लकडाउनले अरु काम नभएपछि नेताहरु फुर्सदिला भए अनि सत्ताको जोड, घटाउमा लागे ।

नेताहरुमा मात्र होइन, नागरिकबीचको सम्बन्ध पनि बिग्रिएको छ । पहिले पहिले विदेशबाट फर्किएकाहरुको गाउँघरमा अर्कै शान र मान हुन्थ्यो । कोही विदेशबाट आउँदा परिवार, आफन्त र छिमेकी वरपर झुम्मिन्थे । तर अहिले विदेशबाट कोही फर्कियो भने घर पुग्दासम्म उसले अपमान र अपजस भोग्नुपर्छ । लकडाउनकै बेलामा विदेशबाट आएर कोरोना ल्यायो भनेर समाजले अर्कै नजरले हेर्छ । 

गाउँघरमा भएका र विदेशबाट फर्किएकाबीचको सम्बन्ध मात्रै होइन, जागिर गुमाउने र नगुमाउनेबीचको सम्बन्धमा पनि खटपट आएको छ । लकडाउने गर्दा कतिपयको जागिर गएको छ, कतिपयको कामले पनि निरन्तरता पाएको छ । पहिले उत्तिकै कमाइ हुने तर अहिले एउटाको कमाइ नहुने र अर्कोको कमाइ हुने भएपछि इष्र्या र डाह त हुने नै भयो ।

लकडाउनपछि बिग्रिएका यस्ता सम्बन्ध कुनै सामान्यजस्ता देखिन्छन्, कुनै गम्भीर खालका । लकडाउनकै कारण बिग्रिएका यस्ता सम्बन्ध के कसरी सुधार हुन्छ भनेर अहिल्यै अनुमान गर्न गाह्रो छ ।

भाइरसभन्दा डरलाग्दो कोरोनाको ‘साइड इफेक्ट’

कोरोनाको सङ्क्रमण रोक्नकै लागि सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन गर्यो । लकडाउनकै अवधिमा कोरोनाबाट ४० जनाको ज्यान गयो । लकडाउन हटेको पहिलो दिनमै दुई जना थपिए । ज्यान गुमाउनेमध्ये सबै कोरोनाकै कारण होइनन् । अरु रोग भएकालाई कोरोनाले छिटो गलाएको मात्र हो । अर्थात् लकडाउनको अवधिमा कोरोनाबाट ज्यान गुमाउने तुलनात्मक रुपमा कम छन् । 

कोरोनाभन्दा डरलाग्दो आत्महत्या देखिएको छ । लकडाउनभन्दा पहिले दिनमा सरदर १२ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेकोमा लकडाउनपछि दैनिक १७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । कोरोनाको डरसँगै लकडाउनले आम्दानी गुमेपछि मानसिक तनावका कारण धेरैले आत्महत्या गरेको देखिएको छ । कतिपय मानसिक समस्यामा परेका छन् । कोरोनाभन्दा डरलाग्दो मानसिक समस्या देखिएको छ ।

अझै केलाउँदै र खोतल्दै जाने हो भने कोरोनालाई रोक्न भनेर लगाइएको लकडाउनले कोरोनाभन्दा अरु डरलाग्दा समस्या ल्याएको छ । एकातिर कोरोनाको जोखिम कायमै रहेको र अर्कोतिर लकडाउनकै कारण निम्तिएका समस्यातिर ख्याल नै नगरि सरकारले हचुवा पारामा निर्णय गर्ने गरेको छ । सरकारले कोरोना नै सकिएझैँ गरी लकडाउन हटाउने निर्णय गरे पनि आमनागरिकले कोरोना सकिएको छैन भनेर सावधानी अपनाउन जरुरी छ । 

अन्तिम अपडेट: असोज २, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Bishnu Ghimire

    July 23, 2020, 3:45 p.m.

    निकै उत्कृष्ट लेख लाग्यो अहिलेको समयमा हरेक नागरिकको मनमा खेलेको प्रस्न को सरल जवाफ

  •  0 Reply

तपाईको प्रतिक्रिया