कथा : अनुदानको फोहोर

 साउन १७, २०७७ शनिबार १४:३४:२२ | सुवाश जमरकट्टेल
unn.prixa.net

पहाडी भूभागको ग्रामिण गाउँ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो ।

हिउँ र बुकीफूल फुल्ने नागीदेखि क्रमैंसँग भिरालिँदै धान झुल्ने फाँटहरु वर्णन गर्न लायक थिए । हजाराैं पहाडी गाउँहरुको रानीगाउँ थियो । मिश्रित जात–जाती, भाषा, धर्म र संस्कार संस्कृतिको बसोबास र चालचलन भएको हुँदा साझा चौतारी भन्न रुचाउँथे गउँलेहरु ।

गाउँको बीचमा  साप्ताहिक हाट लाग्थ्यो । हाटमा सियोदेखि फालीसम्म, नुनदेखि सुनसम्म कारोबार हुन्थ्यो । लेनदेनको भाका र भेटघाटको केन्द्रबिन्दु त्यही हाट थियो । हप्ताभरिको थकाई मेटाउन होस् वा नुन, तेल र सुर्ती किन्न गाउँलेहरु हाट पुग्नै पथ्र्यो । हाट भर्नकै लागि विद्यालयहरु हटियाको दिन दिउँसो १ बजे नै छुट्टि हुन्थे ।

पछाडि परेका/पारिएकाहरुको अधिकार सहित समावेशी लोकतन्त्र आयो । उनीहरुलाई जागरुक गराउन दातृ संस्थाहरु गाउँ÷गाउँमा पुग्न थाले । गाउँ घरमा आमा समूह, महिला समूह, बाल समूह, कृषि समूह, दलित समूह, जनजाति, अपाङ्ग, जेष्ठ नागरिक, पोषण समूह जस्ता हजारौं समूहहरु खडा भए । सबैलाई अध्यक्ष, उपाध्यक्ष वा सदस्य बनाईयो । एक ढिक्का भई मिलेर बसेको समाज विभिन्न समूहमा बाँडियो । दातृ संस्थाहरुले आफू अनुकूलका भेला, बैठक र प्रतिवेदनहरु बनाउन थाले । आफ्नो नियमित नित्यकर्म र कृषि पेशा छोडेर गाउँलेहरु बैठक र भेलामा सहभागी हुन थाले । 

एउटा संस्थाले एक दिन त्यही हाटमा विशाल कार्यक्रम गरेर “यस गाउँलाई हामी खुल्ला दिसामुक्त गाउँ बनाउन आएका छौं” भनेर भाषण गरे । तालीले बजार र गाउँ नै गुञ्जायमान भयो । बुझ्नेहरुले उनीहरुका कुरा बुझे, नबुझ्नेहरु अब दिसापिसाब गर्न नपाईने रहेछ भन्ठानेर चकित परे ।

उनीहरुले आजैदेखि काम सुरु गर्नेछौं र एक वर्षभित्र यस गाउँलाई दिसामुक्त गाउँ बनाउँछौं भनेर घोषणा गरे । उनीहरुलाई सघाउन रेडक्रस लगायतका स्थानीय समूहहरुले हात अगाडि बढाए । काम सुरु भयो । उनीहरुले प्यानसेट जडान गरेको निश्चित प्रकारको चर्पी सबै घरले बनाउनु पर्ने शर्त राखे । आफूले भनेअनुसारको चर्पी बनाए प्रति घरधुरी एउटा प्यानसेट, एक बोरा सिमेन्ट र १५ सय रुपैयाँ नगद दिने नत्र गाउँपालिकाबाट प्रवाह हुने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन रोक लगाउने डर देखाए । 

टिलिक्क टल्किने सेतो प्यान सेट, एक बोरा सिमेन्ट र नगदका लोभले सबैले आफ्ना परम्परागत र पुस्तौंदेखि चलिआएका चर्पी भत्काएर उनीहरुले भने जस्तै चर्पी बनाउन सुरु गरे । अभियान प्रभावकारी र सफल बनाउन गाउँका जान्ने बुझ्नेहरु सम्मिलित विज्ञ अनुगमन समिति गठन गरियो । चर्पी नाप जाँच र निरीक्षण गर्न इन्जिनियरको टोली गाउँ गाउँमा घुम्न थाल्यो । आधुनिक चर्पीमा दिसा पिसाब गर्न र त्यसको सरसफाई गर्ने तरिका सिकाउन टोल टोलमा दिसापिसाब व्यवस्थापन अभिमुखीकरण तालिम, गोष्ठी र सेमिनारहरु सञ्चालन भए ।

दिसा पिसाब गर्ने तरिका सिक्न गाउँलेहरु दश काम छोडेर तालिममा सहभागी भए । गाउँमा बुढापाकाहरु हिजो हामीले पढ्न पाएनौं, केही बुझ्न र जान्न पाएनौं भनेको अहिलेका पढेलेखेका मान्छेहरुलाई दिसापिसाब गर्ने कुरा नै सिकाउनु पर्दो रहेछ भनेर कुरा गर्न लागे । दातृ संस्थाले बजार र विद्यालयमा सार्वजनिक शौचालय बनाईदियो । बजार वरपर फोहोर संकलन गर्न टोकरी (डस्बिन)हरु राखिदियो र फोहोर डस्बिनहरुमा जम्मा गर्न सिकायो ।

एक वर्ष भनिएको कार्यक्रम लम्बिएर ३ वर्षमा सम्पन्न भयो । देश, विदेश र जिल्लाबाट ठूलाबडाहरु बोलाएर विशाल कार्यक्रमकाबीच बाजागाजा सहित गाउँलाई खुल्ला दिसामुक्त गाउँ घोषणा गरियो । कार्यक्रममा अतिथिहरुले निकै बढाईचढाई लामो भाषण गरे । गाउँ प्रवेश गर्ने नाका, गल्ली, चोक र बजार आसपास भंगेरा टाउके अक्षरमा साईन बोर्ड र ब्यानरहरु टाँगियो ।

अभियान साविक समयमा नसकिएर समय थप्नुपरे पनि प्रभावकारी र गुणस्तरीय भएर सम्पन्न भएको प्रतिवेदन सुनाईयो । गाउँलेहरु सबैले खुशीले ताली पिट्दै हस्ताक्षर गरे । दातृ संस्था र अभियानमा संलग्नहरुलाई फूलमाला, अबिर र खादा ओडाएर सम्मानका साथ बिदाई गरियो । यो भव्य कार्यक्रम देखेर गाउँका बुढापाकाहरु हाम्रो पालामा दिसापिसाबका कुरा गर्न लाज लाग्थ्यो, घिन लाग्थ्यो, तर अहिले यस्ता कुरा गरेर हिँड्नेलाई यस्तो सम्मान गरेको देखेर अचम्ममा परे । 

कार्यक्रम समापनसँगै अतिथिहरुलाई होटेलमा चियापान गराईयो । चियापानपछि प्रमुख अतिथि (दातृ संस्थाका अध्यक्ष) लाई पिसाबले च्यापेछ । चर्पी कता छ भनेर सोधेछन् । बजारको जग्गामा बनाईएको होटलको आफ्नै चर्पी थिएन । होटलवालाले बढो फूर्तिसाथ हजुरहरुले नै बनाईदिएको नयाँ सार्वजनिक शौचालय भनेर देखाईदियो ।

दिनभर कार्यक्रम हेर्न आएका गाउँलेहरुले चर्पी फोहोर मात्र हैन भरिभराउ पारिसकेका रहेछन् । पानीको थोपा समेत थिएन त्यहाँ । चर्पी भित्र खुट्टा टेक्ने ठाउँ रहेनछ । आफ्नै बेइज्जता होला भन्ने ठानेर नाक, मुख थुनेर बलतल पिसाब गरेर फर्किए । रातीको बास त्यही होटलमा भयो । चर्पी जाम भएका कारण अतिथिहरुले अँध्यारोमा बजार आसपासमा खुल्ला आकाशमुनि नै दिसापिसाब गरे र बिहान सबेरै उठेर आ–आफ्नो बाटो लागे । 

घर नजिकै बनेका आधुनिक चर्पीहरु पानीको अभावमा प्रयोग बिहीन भए । पानी भए पनि सानो खोर जस्तो ठाउँमा बसेर दिसापिसाब गर्न गाउँलेलाई असजिलो लाग्यो । चर्पीमा कसैले दाउरा राख्न थाले । कसैले कुखुरा, सुँगुर र बाख्रा बाँध्न थाले ।

बजारको सार्वजनिक चर्पी भरिएर बजार नै दुर्गन्धित भएका कारण सरकारी बजेट व्यवस्था गरी ढोकामा काँटी ठोकेर बन्द गरियो । दातृ संस्थाले राखिदिएका टोकरी (डस्बिन)हरुमा फोहोर भरिनु मात्र हैन, फोहोरका साना साना पहाड जस्ता थुम्काहरु नै बनिसके । बजार आसपासका खोलाखोल्सा र खाली भूभागहरु फाहोरले हेरी नसक्नु भए ।

गाउँघरका वरपिपल र चौताराहरु बियर, रक्सी, कोक लगायत पेयपदार्थका खाली बोतल र फोहोरले बसी नसक्नु भएका छन् । तर पनि न दिसापिसाब गर्न सिकाउने सर मिसहरु आउँछन्, न फोहोर संकलन गर्न लगाउनेहरु अनुदान लिएर आउँछन् । हिजोको सुन्दर गाउँ आज अनुदानको  फोहोरले दुर्गन्धित भएर उनीहरुलाई नै पर्खी रहेछ ।

अन्तिम अपडेट: असोज ५, २०७७

सुवाश जमरकट्टेल

जमरकट्टेल चोमोलुङ्मा फाउन्डेसन नेपालका केन्द्रीय सचिव हुनुहुन्छ ।

1 Comments

  • Rajesh U.

    Aug. 1, 2020, 5:24 p.m.

    मात्र विकास पर्याप्त छैन ..प्रेरणादायक कहानी।

  •  0 Reply

तपाईको प्रतिक्रिया