प्रधानमन्त्री बैठकमा आउनैपर्छ, अरुका कुरा पनि सुन्नुपर्छ, विवाद मिलाउन अग्रसरता लिनैपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

'पार्टी र सरकार विचार तथा नीतिको आधारमा चलेनन्'

 साउन २०, २०७७ मंगलबार १६:३:१५ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र प्रधानमन्त्रीको राजीनामाका विषयमा औपचारिक रुपमा कुरा नउठेको बताउनुभएको छ । पार्टी र सरकार दुवैले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने विषयमा पार्टीका नेताहरुले व्यक्तिगत धारणा मात्रै व्यक्त गरेको उहाँले बताउनुभएको हो । 

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्ने क्रममा केही नेताहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे पनि त्यसलाई पार्टीले औपचारिक प्रस्तावका रुपमा अघि नसारेको बताउनुभयो । पार्टीले सरकार बनाउँदा सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्ने, समाजवादको आधार तयार गर्ने जस्ता काममा भएको प्रगति, कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा सरकारको भूमिकालगायतका विषयमा भने प्रश्न उठेको उहाँले बताउनुभयो ।

‘पार्टीको अवस्था र भूमिका, सरकारको अवस्था र भूमिकाको समीक्षा गर्ने क्रममा पार्टी र सरकार विचार र नीतिको आधारमा चल्ने काममा त्यति राम्रो भएन । विचार र पद्धतिको आधारमा चल्ने काममा त्यति राम्रो भएन भनेर प्रश्नहरु उठेका छन्’, नेकपा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘सरकारले केही सकारात्मक महत्त्वका र केही ऐतिहासिक कामहरु गरेको छ तर केही महत्त्वपूर्ण मुद्दाहरुमा चुकेको छ ।’

नेपाललाई सामाजिक आर्थिक रुपले रुपान्तरण गर्ने, समाजवादमा जाने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकता गरिएको भन्दै उहाँले यसबाट कोही विचलित हुन नसक्ने बताउनुभयो । नेकपाको एकता कायम राखिने र थप सदृढ गरेर अगाडि बढ्ने उहाँको दाबी छ ।  ‘त्यसैले पार्टीलाई पनि विधि पद्धतिमा चलाउने र सरकारले पनि जनादेशलाई केन्द्रबिन्दुमा राखेर पार्टीको घोषणापत्र कार्यान्वयन गराउने सन्दर्भमा विभिन्न कमरेडहरुले व्यक्तिगत रुपमा विचार प्रकट गर्नुभएको हो । प्रधानमन्त्रीले राजीनामा दिने भन्ने कुरा अहिले पार्टीको औपचारिक प्रस्ताव बनिसकेको छैन । पार्टीको बैठकलाई सुरु गरेर समीक्षा गर्दै हामी एउटा निष्कर्षमा पुग्छौँ’, श्रेष्ठले भन्नुभयो । 

पार्टीभित्रको अहिलेको अलमलको निकास दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने उहाँको भनाइ छ । ‘उहाँ बैठकमा आउनै पर्छ, अरुका कुरा पनि सुन्नुपर्छ, निकास दिने कुरामा उहाँले अग्रसरता लिनैपर्छ’, प्रवक्ता श्रेष्ठले बताउनुभयो ।  

पार्टीभित्रको अहिलेको विवादको निकासका लागि पार्टी र सरकार दुवैले कार्यशैलीमा सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । पार्टी एकताको रक्षा गर्ने गरी यसलाई सुदृढ बनाउने गरी अघि बढ्नुपर्ने भन्दै उहाँले  यसमा कसैले पनि यता–उता गर्न नमिल्ने बताउनुभयो । 

पार्टीले कार्यशैलीमा सुधार गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘यथास्थितिमा गुणात्मक र सार्थक परिवर्तन हुनुपर्छ, पार्टीको पनि साङ्गठनिक एकता पूरा नभएको, विधि प्रक्रियामा नचलेको, पार्टी निष्क्रिय र गतिहीन जस्तो भएको पार्टी आचरणका हिसाबले पनि अरुभन्दा गुणात्मक र भिन्न हुन नसकेको, यो अवस्थालाई गुणात्मक रुपमा परिवर्तन गर्ने गरि निष्कर्ष निकाल्नुपर्छ ।’ 

यस्तै आधारभूत नीति र राष्ट्रिय महत्त्वका निर्णयहरुमा सरकार पनि पार्टीको निर्देशनमा चल्ने र दैनिक काममा सरकारलाई पार्टीले पनि हस्तक्षेप नगर्ने अवस्था बनाउनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । ‘संविधान कानुन, नियमअनुसार हुने काममा घुस खुवाउनु परेन भन्ने अवस्था बन्नुपर्छ, नयाँ सबै राजनीतिक नियुक्तिहरु गर्दा ठिक मान्छे ठिक ठाउँमा आए भन्ने ढङ्गले नयाँ पहलकदमी गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पुँजीगत खर्च कार्यान्वयनको अहिलको अवस्था असारे विकास गर्ने र पुँजीगत खर्च ४०/५० प्रतिशत मात्रै हुने अवस्थाको अन्त्य गरिनुपर्छ ।’  

अन्तिम अपडेट: चैत ३०, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया