'अस्पतालले भर्ना लिन नमान्दा बिरामीकाे ज्यान गयाे'

'पीसीआर रिपाेर्ट देखाउँदा पनि अस्पतालले लिन मानेन'

 साउन २२, २०७७ बिहिबार १९:४९:९ | केसी लामिछाने
unn.prixa.net

पर्सा – अस्पतालले उपचार गर्न नमानेपछि वीरगञ्जमा ६४ वर्षीय एक जना पुरुषको ज्यान गएकाे मृतकका आफन्तले आरोप लगाएका छन् । वीरगञ्जकाे नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको उपचार गर्न नमान्दा वीरग्ज महानगरपालिका ११ श्रीपुरका ६४ वर्षीय चलितर महतोको मृत्यु भएको उहाँका भाइ शम्भू महतोले बताउनुभयो ।

पर्सा – श्वासप्रश्वासमा समस्या भएपछि उपचार गराउन बिहीबार बिहान नेशनल मेडिकल कलेज लैजाँदा अस्पतालले भर्ना लिन नमानेकाे हाे । परिवारजनले अस्पतालको लापर्वाहीका कारण वृद्धको ज्यान गएकाे आरोप लगाएका छन् ।

बुधाबार राति पनि शरीरमा समस्या देखिएपछि महतोलाई उपचारको लागि नेशनल मेडिकल कलेजमा लगिएको थियो । त्याे बेला अस्पतालले कोरोना परीक्षणकाे रिपोर्ट माग गरेको थियो । रिपोर्टको कागज नभएकोले बिरामीको भर्ना हुन सकेन ।

महतोको साउन ११ र १५ गते गरी दुई पटक स्वाब परीक्षण भएको थियो । दुवै पटक रिपोर्ट नेगेटिभ आएको थियो । बिहीबार रिपोर्ट हात परेपछि उपचारको लागि फेरि अस्पताल लगेर रिपोर्ट देखाउँदा समेत उपचारकाे लागि अस्पतालले भर्ना नगरेको मृतकका भाइ शम्भू महतोले बताउनुभयो । 

'भर्नाका लागि निकै आग्रह गर्‍याैँ', महतोले भन्नुभयो, 'अस्पतालका सुरक्षाकर्मीहरुले कलेजका एमडीले (बसरुद्दीन अन्सारी) ले आदेश नदिएसम्म बिरामी भर्ना गर्न नमिल्ने भनेर जवाफ दिए ।' 

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद सर्राफले अस्पताललाई लगाएको आरोग गलत भएको बताउनुभयो । 'सब गलत कुरा हो, गलत कुरो हो, मिस न्युज हो', उहाँले भन्नुभयो । 

अस्पतालले भने बदनाम गर्न यस्तो आरोप लगाइएको दाबी गरेकाे छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया