आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
स्याङ्जा – आइतबार एकाबिहानै खबर फैलियो, ‘लौ कमल पंगेनीको त हृदयघातको कारण निधन भयो रे ।’ सुन्दै अपत्यारिलो र उदेकलाग्दो खबरले स्याङ्जाका जनता मात्रै होइन पंगेनीलाई चिन्ने देशभरका सबै व्यक्तिहरु अचम्ममा परे ।
हक्की स्वभावका पंगेनी उत्तिकै मिजासिला र मिठो बोल्ने नेताका रुपमा समेत चिनिनुहन्थ्याे । नेपाली कांग्रेस स्याङ्जाको सभापतिको रुपमा तेस्रो कार्याकाल समालिरहेका पंगेनी, निधनको अघिल्लो दिन पनि नेता कार्यकर्ता भेटघाटमा नै व्यस्त रहनुभएको कांग्रेस जिल्ला सदस्य अर्जुन खनालले जानकारी दिनुभयो ।
कांग्रेस भिरकोट नगर सभापति तोयानाथ अर्यालको घरमा सुतेका पंगेनी बिहान अचेत अवस्थामा भेटिएपछि नजिकैको कालिका सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएको केही बेरमा नै चिकित्सकले पंगेनीलाई मृत घोषणा गरेका थिए । अस्पतालबाट पंगेनीको पार्थिव शरीरलाई सदरमुकामस्थित पार्टी कार्यालयमा लगिएको हो ।
नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु शेखर कोइराला, गोपालमान श्रेष्ठ, धनराज गुरुङ्, देवेन्द्रराज कँडेल,गगनकुमार थापा, प्रदीप पौडेल, पूर्व सांसद मोहन पाण्डे, कास्की कांग्रेस सभापति कृष्ण केसी, पाल्पा समापति वीरबहादुर राना, गुल्मी सभापति भुवन श्रेष्ठ, रुपन्देही सभापति तथा पूर्वमन्त्री अब्दुल रजाक, नेविसंघ सभापति नैनसिंह महर, नेविसंघ महामन्त्री कुन्दन काफ्लेलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली दिनका लागि कांग्रेस कार्यकर्ता तथा विभिन्न पार्टीका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । पंगेनीको आइतबार साँझ नै पवित्र तीर्थस्थल राम्दीमा दाहसंस्कार गरिएको छ ।
शनिबार दिनभर कार्यकर्ता भेटघाट र अनौपचारिक छलफलमा विभिन्न स्थानमा पुगेका पंगनी कालिगण्डकी किनार र राम्दीमा पनि पुग्नु भएको थियो । त्यही ठाँउमा सञ्चालित महायज्ञको भजनकिर्तनमा केहीबेर नाचेका पंगेनी भोलिपल्ट भने रुपमा त्यही ठाँउमा उहाँ चितामा चढाइनुभयो । पंगेनीले साँझ सात बजेदेखि एक घण्टा मुख्य कर्ताको रुपमा गंगा आरती गर्नुभएको कांग्रेस क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्यालले जानकारी दिनुभयो ।
त्यति बेला नै पंगेनीले असहज महसुस गरेपछि गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो । शनिबार बिहान प्रदेश सांसद भागवतप्रकाश मल्ल, क्षेत्रीय सभापति अर्जुन प्रकाश अर्याल, जिल्ला सदस्य अर्जुन खनाल, नेविसंघका क्षेत्रीय सभापति धनराज पौडेल, व्यवशायी एवं काग्रेस नेता महेन्द्र श्रेष्ठसहित पंगेनीले स्याङजाको मिर्मी तथा आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाट गर्नु भएको थियो । गाँउ—गाँउमा खिर, मकै, मही खाँदै र कार्यकर्ता भेट्दै हिँड्ने क्रममा साँझ मात्रै पंगेनीसहितको टोली राम्दी पुगेको थियो ।
स्याङ्जाको साविक खिलुङ् देउराली गाविस हालको भीरकोट नगरपालिका –६, मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिनुभएको थियो । उहाँ संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ मा विजयी हुनु भएको थियो । २०६४ सालको पहिलो संविधानसभामा स्याङजा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पंगेनी तत्कालीन एमालेका उम्मेदवार हितकाजी गुरुङसँग पराजित हुनुभएको थियो ।
राजनीतिको छोटो सयममै २०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य वन्नुभएको थियो । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशाली नेताका रुपमा चिनिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरी तीन पटक स्याङ्जा कांग्रेस सभापति वन्नु भएको हो । स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य देवेन्द्रप्रसाद भट्टराई भन्नुहुन्छ, ‘पछिल्लो समय सभापति पंगेनी स्याङजा कांग्रेसलाई गुट—उपगुटको राजनीतिबाट मुक्त गराउन सक्रिय रहनुभएको थियो ।’
उहाँको यो क्रियाकलापलाई स्याङजा कांग्रेसका नेताले निरन्तरता दिन जरुरी रहेको भट्टराईकाे बुझाई छ ।
अन्तरजातीय प्रेमविवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।
गएको वैशाखमा प्रदेशसभाको लागि भएको चुनावमा पराजित भएपछि पंगेनीले तत्कालीन अवस्थामा देखाएको भद्र एवं शालीनतालाई सबैले अहिले पनि प्रशंसा गर्ने गर्दछन् । त्यतिबेला आफूलाई पराजित गर्ने तत्कालीन माओवादीका नेता दीपक चर्तिमगरलाई खादा र मालाले सम्मान गर्दै पंगेनीले भन्नुभएको थियो, ‘लौ मेरो पनि प्रतिनिधित्व गरिदिनु होला ।’ प्रदेश सांसदमा चुनिन नसकेका पंगेनी पछिल्लो समय जिल्लाको संगठन विस्तारमा लाग्नुभएको थियो ।
स्वर्गीय पंगेनी कांग्रेसइतरमा समेत लोकप्रिय मानिन्थे, कुनै विवाद पार्टीगत रुपमा मिलाउनु पर्दा पंगेनीको खाँचो खड्कने गर्दथ्यो । नेकपाका जिल्ला नेता शैलेन्द्र घिमिरले पंगेनीलाई सम्झदै भन्नुहुन्छ, ‘उहाँ न्यून वर्गीयको हितका लागि काम गर्ने नेता भएका कारण कम्युनिष्टहरुसँग उठवस र सहकार्य अत्यन्तै राम्रो थियो ।
जिल्लाका समस्या समाधान गर्न तथा विकास निर्माणमा लागि पर्ने नेता जिल्लाले गुमाउनु पर्दा ठूलो क्षति भएको स्याङ्जावासीको भनाई छ । पंगेनीको परिवार भाडाको घरमा बस्दै आएको र उहाँको आफ्नै घर तथा कतै घडेरी समेत नभएको कांग्रेस स्याङजा—काठमाडौं सम्पर्क समितिका सभापति देवी अर्यालले वताउनुभयो ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कमल पंगेनीको निधनले स्याङजा मात्रै नभएर समग्र देशलाई ठूलो क्षतिी भएको बताउनुभयो । उज्यालोसँग कुरा गर्दै मन्त्री अर्यालले असल मित्र, समाज परिवर्तनको एक सहयोद्धा र स्याङजाको विकास यात्राको एक सहयात्रीलाई गुमाउनु पर्दा अत्यन्तै पीडा भएको बताउनुभयो ।
स्याङजा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसद समेत रहनुभएकी मन्त्री अर्यालले पंगेनी एक जुझारु, सक्रिय र क्रियाशील योद्धा समेत रहेको स्मरण गर्नुभयो ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।