अटो र ट्रक ठोक्किँदा हेटौँडामा दुई जनाको ज्यान गयो, एक घाइते

 साउन २९, २०७७ बिहिबार १६:१३:३० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका ३ काे तीन ताप्केमा अटो र ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएकाे छ । बसामाडीबाट नेवारपानीतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रकमा भित्री रोडबाट राजमार्गतर्फ आउँदै गरेको ना २ ह ३४६५ नम्बरको अटो ठक्कर खाँदा दुई जनाको ज्यान गएकाे हाे । 

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि हेटौँडाको चुरेहिल अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।  

दुर्घटनामा ज्यान गुमाउनेमा मनहरी गाउँपालिका ५ काे डिल्लीपुरका बाबुराम रुम्बा र अमृत लोप्चन रहेको प्रहरीले जानकारी दिएको हो । दुवै जना अटोमा सवार थिए । 

ज्यान गुमाउनेकाे शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ । घाइते अटो चालक मनहरी गाउँपालिका ५ काे वसन्तपुर बस्ने ४७ वर्षीय ठूलोकान्छा खड्काको चुरेहिलमा उपचार भइरहेको छ । उहाँको शरीरको विभिन्न भागमा चोट लागेकाे प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया