'नव सामान्य अवस्थासँग जुध्दै पर्यटन क्षेत्र खुलाउने तयारी गर्नुपर्छ'

 साउन ३२, २०७७ आइतबार १५:१२:३४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको महामारीका कारण संसारका धेरै देश अहिले लकडाउनमा छन् । आफ्नै देशका नागरिकलाई समेत घरबाहिर निस्कन नदिएका देशहरुले पर्यटक भित्र्याउन दिने त कुरै भएन । नेपालले पनि चैतको ९ गतेदेखि नै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको छ । पर्यटन क्षेत्र थला परेको छ । तर महामारी कम हुने बित्तिकै पर्यटक ल्याउने सरकारी तयारी छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा त यो वर्ष दुई लाख ६ हजार पर्यटक भित्र्याउने योजना बनाइएको छ । बोर्डले स्वास्थ्य मन्त्रालयले अनुमति दिएमा नेपालको पदयात्रा र पर्वतारोहणका गतिविधि सञ्चालन गर्न सकिने बताएको छ । यिनै विषयमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डाक्टर धनञ्जय रेग्मीसँग अर्जुन पोख्रेलले गरेको संक्षिप्त कुराकानी– 

महामारीको अवस्था झन्–झन् बढ्दो छ, तपाईँहरुले यो वर्ष दुई लाख ६ हजार पर्यटक ल्याउने योजना कसरी बनाउनुभयो ?

सधैँ यस्तो अवस्था नरहला, अवस्था सामान्य बन्दै जाला भन्ने पूर्वानुमान गरेर हामीले पर्यटकको अनुमानित सङ्ख्या नीति तथा कार्यक्रममा उल्लेख गरेका हौँ । नेपालमा लकडाउन खुलेको अवस्था, धेरै देशले बिस्तारै पर्यटकीय गतिविधि खुलाउँदै गरेको अवस्थालाई पनि हामीले हेरेका छौँ । 

अर्को कुरा साउन १५ गतेदेखि ट्राभल र ट्रेकिङ कम्पनी खुलेको अवस्था र भदौ १ गतेदेखि उडान खोल्ने सरकारी योजनाले पनि हामीलाई पर्यटक आउँछन् भन्ने विश्वास भएको हो । अहिले भदौ १ गतेको उडानलाई सारिएको छ तर पनि अवस्था सामान्य हुन थाल्यो र सरकारले विदेशी पर्यटकलाई अनुमति दिएमा हामीले राखेको लक्ष्य धेरै ठूलो लक्ष्य होइन । त्यसमाथि पोहोरकै बुकिङ पनि स्थगित भएका छैनन् । यी सबै आधार हेर्दा पोहोरको २० प्रतिशत लक्ष्य राख्नु खासै महत्त्वाकाङ्क्षी होइन भन्ने लागेर बोर्डले तथ्याङ्क सार्वजनिक गरेको हो । 

पर्यटक आउने कुरा नेपालको महामारीसँग मात्रै निर्भर भएन, अरु देशमा पनि महामारी कम हुनुपर्‍याे, होइन र  ?

हो, यस्तो विश्वव्यापी महामारीको बेलामा एउटा देशको मात्रै नीतिले काम गर्दैन, दुवै देशका नीतिले नै काम गर्ने हुन् । तर अब भोकै बस्ने कि कोरोनासँग लड्दै, बच्दै अघि बढ्ने भन्ने बहस संसारभर सुरु भइरहेको छ । त्यही भएर अहिले धेरै देशमा आन्तरिक उडान खुला भइरहेका छन्, केही देशमा बाह्य उडान पनि चलिरहेका छन् । ट्रेकिङ र पर्वतारोहणका गतिविधि संसारका धेरै देशमा चलिरहेकै छन् । हामी पनि कोरोनासँग जुध्दै अघि बढ्न सक्छौँ भन्ने लागेरै योजना बनाएका छौँ । तर यो कुरा पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र अरु कुनै एउटा मात्रै निकायसँग सम्बन्धित छैन, स्वास्थ्य मन्त्रालय र सीसीएमसीको निर्णयमा पनि भर पर्छ । 
तर अर्को कुरा के हो भने हामी कति दिन यसरी अन्योलमा बस्ने ? पर्यटन व्यवसाय र यससँग जोडिएका लाखौँ मजदुरको भविष्य के हुने लगायतका कुरालाई पनि गम्भीर बनेर सोच्दै निर्णय गर्नुपर्छ  । 

दुई लाख पर्यटक आउने कुरा तपाईँहरुको अनुमान मात्रै हो, परिस्थिति खराब हुँदै गए त शून्य हुन पनि सक्छ, होइन ?

पक्कै पनि हो । हामीले बजेट बनाउने भनेकै सामान्य अनुमानका आधारमा हो । अवस्था खराब हुँदै गएर एक जना विदेशी पनि नआउने अवस्था हुन सक्छ भन्नेमा पनि हामी तयार नै छौँ । हामीले प्राथमिकता एक र दुई भनेर बजेटमै राखेका छौँ । प्राथमिकता एकका कार्यक्रम अहिले हामीसँग भएको बजेटबाट चलाउँछौं, यदी एक जना पनि पर्यटक आएनन् भने प्राथमिकता दुईका कार्यक्रम स्थगित हुन पनि सक्छन् ।

तपाईँले अघि नै भन्नुभयो, धेरै देशले ट्रेकिङ र पर्वतारोहण जस्ता क्षेत्र पर्यटकको लागि खुला गरेका छन्, नेपालमा पनि यस्ता क्षेत्र खोल्न सम्भव छ ? तपाईँहरु तयार हो ?

हामीले यी क्षेत्र सुरक्षित नै देखेका छौँ, त्यही भएर ट्रेकिङ र क्लाइमिङ खुला गर्नुपर्छ भनेका छौँ । तर ती क्षेत्रमा जाने मान्छेहरुको पीसीआर परीक्षण अनिवार्य हुनुपर्छ, उनीहरुमा सङ्क्रमण नभएको पक्का हुनुपर्छ । 

यसअघि हामीले पीसीआर परीक्षणपछि विदेशमा चार दिन बसेको व्यक्ति नेपालमा आएर तीन दिन क्वरेण्टीनमा बस्ने र कुनै पनि लक्षण नदेखिएमा पर्यटकीय क्षेत्रमा जान सक्ने विकल्प पनि सुझाएका थियौँ तर नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसलाई उपयुक्त विकल्प ठानेन  । मन्त्रालयले नेपालीहरुको हकमा ६ दिन नेपालमा आएर क्वरेण्टीनमा बस्ने, त्यही दिन पीसीआर परीक्षण गर्ने र सातौँ दिनसम्म केही नभएको  पाइएमा घरमा केही दिन क्वरेण्टीनमा बस्ने गरी जान दिने निर्णय गरेको छ । विदेशीको हकमा निर्णय भइसकेको छैन । 

भनेपछि विदेशी पर्यटक कहिले ल्याउन सकिन्छ भन्नेमा कसैले पनि केही भन्न सक्ने अवस्था नरहेको हो ?

हामीले सतर्क रहँदै अघि बढ्ने हो । हामी सुरक्षित छौँ भनेर ग्यारेण्टी दिन सक्ने अवस्था अहिले छैन । तर अब हामी कोरोनासँग लड्दै अघि बढ्ने हो, नव सामान्य जीवनमा फर्कनुको विकल्प छैन । हामीले जतिसुकै तयारी गरे पनि पहिलेकै अवस्थामा फर्कन तत्कालको लागि सम्भव देखिन्न । त्यसैले नव सामान्य अवस्थासँग जुध्दै बाँच्न सिक्नैपर्छ, हामीले पर्यटकीय क्षेत्र खुलाउने तयारी गर्नुपर्छ । 

हाम्रो देशमा अवस्था सामान्य भए पनि अरु देशमा सामान्य नहुँदा पर्यटक ल्याउन समस्या होला, त्यस्तो अवस्थामा आन्तरिक पर्यटक कत्तिको भरपर्दो विकल्प बन्न सक्छ ? यसमा तपाईँहरुको तयारी छ कि छैन  ?
आन्तरिक पर्यटक नै अहिलेको लागि सबैभन्दा ठूलो विकल्प हो । त्यसैले हामीले विभिन्न क्षेत्रको लागि प्याकेज बनाइरहेका छौँ । तर आन्तरिक होस् या बाह्य, दुवै पर्यटक सुरक्षाको प्रत्याभूत नभइकन घुम्न निस्कँदैनन् ।

तपाईँ, हामी र दुई/चार जना युवा यसो घुम्न निस्केको भरमा पर्यटन क्षत्रेले बिजनेस पाउँदैन । त्यसैले परिवारसहित केही दिन घुम्न निस्कने वातावरण बनाउनुपर्छ । हामीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई अनिवार्य गर्नुपर्छ । अवस्था केही सामान्य भएपछि  होटलमा कति मान्छे राख्ने, कसरी राख्ने, सामान्य स्वास्थ्य समस्या आएमा कहाँ लैजाने, घुम्नेहरुले पनि के–कस्ता सतर्कता अपनाउने भनेर प्रस्ट हुँदै आन्तरिक पर्यटन खुलाउन सक्छौँ ।

विदेशीलाई बन्देज लगाएका छौँ तर स्वदेशी पर्यटकलाई बन्देज नलगाउने अवस्था आउन सक्छ, त्यसको लागि हामी तयार नै छौँ । 

आन्तरिक पर्यटन खुलाउने अवस्था छिटै आउला त ?

पर्यटन बोर्ड त पर्यटकीय क्षेत्र खुलाउनुपर्छ भन्ने मान्यतामा छ । हामीले विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरणसहित विभिन्न निकायले बनाएका मापदण्ड पालना गरेर आन्तरिक पर्यटन खोल्दा हुन्छ भन्छौँ । तर पनि समग्र अवस्थाको मूल्याङ्कन गर्ने र निर्णय गर्ने निकाय स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषद् हो । हामीले भन्दा धेरै अध्ययन/अनुसन्धान उहाँहरुले गर्नुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया