ठूला अस्पतालको ठगी धन्दा : कतै नक्कली सेवा, कतै २० गुणासम्म असुल

 भदौ १, २०७७ सोमबार १२:५८:४० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – सरकारले मौलिक हकको रुपमा उल्लेख गरेको स्वास्थ्य क्षेत्रमा ठूलो व्यवसाय चलिरहेको छ । सरकारले नै निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्नेमा नागरिकले चर्को शुल्क तिरेर मात्रै स्वास्थ्य सेवा लिन पाउँछन् ।

पैसा र पहुँच नभएका बिरामीले उपचारै नपाउने, उपचार पाएका बिरामीले पनि चर्को शुल्क तिर्नुपर्ने र विदेशी पर्यटकको उपचारका नाममा त ठगी नै ठगी भएको सरकारी अध्ययनले नै देखाएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार काठमाण्डौका ठूला भनिएका धेरै अस्पतालले सरकारले तोकेका धेरै मापदण्ड पूरा गरेका छैनन् । सरकारले तोकेको शुल्कको पालना नै भएको छैन । 

निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा ठूलो ठगी गरिरहेका गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ भदौ २५ मा सात सदस्यीय अनुगमन समिति गठन गरेको थियो । समितिमा मन्त्रालय, वीर अस्पतालका चिकित्सक, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि र औषधि व्यवस्था विभागका प्रतिनिधि पनि सामेल  थिए । 

कुन अस्पतालका कस्ता बदमासी ?

अस्पतालको ठगीको व्यापक गुनासो आएपछि गएको वर्षको भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ भदौ २५ मा सात सदस्यीय अनुगमन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा विदेशी पर्यटकको उपचारको नाममा नाम चलेका अस्पतालले लुट नै मच्याएको देखिन्छ ।

कतिपय अस्पताले रगतको रकम नै २५ सय रुपैयाँ लिएका र कतिपयले अनौठा शीर्षकमा ६ लाख रुपैयाँसम्म लिएको पाइएको छ । मन्त्रालयले बनाएको अध्ययन प्रतिवेदन अनुसार निम्न अस्पतालले यसरी ठगी गरेका थिए : 

वयोधा अस्पताल, बल्खु

बल्खुमा रहेको वयोधा अस्पतालले सन् २०१५ देखि २०१८ सम्म सात सय विदेशी पर्यटकलाई स्वास्थ्य सेवा दिएको थियो । अस्पतालले एउटै बिरामीलाई १७ दिनमा विशेषज्ञ डाक्टरले एकसय नौ पटक ‘राउन्ड सर्भिस’ दिएको बिल बनाएको थियो ।

अस्पतालको आन्तरिक अभिलेखमा भने एकजना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएको, एउटै बिरामी एकै समयमा एसआईसीयू, आईसीयू, सुविधा सम्पन्न र अति सुविधा सम्पन्न कोठामा राखिएको भनेर बिल उठाएको देखिएको थियो । अस्पतालको बिलमा सुविधा सम्पन्न कोठा (डिलक्स रुम) भन्दा सीसीयू महँगो देखिएकोमा विदेशी पर्यटकसँग सीसीयूभन्दा डिलक्स रुमको बढी पैसा असुल गरेको पाईएको छ ।

ग्राण्डी अस्पताल, टोखा

टोखाको ग्राण्डी अस्पतालले रगतको लागि पनि पर्यटकबाट दुई हजार चार सय ५३ रूपैयाँ लिएको अनुगमन समितिले पत्ता लगाएको छ । अस्पतालको सवै सेवा सुविधामा दररेट महँगा देखिएका र रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच फेरि गर्न लगाउनुका साथै बिरामीसँग तोकिएको भन्दा बढी शुल्क लिएको देखिएको छ ।

नर्भिक अस्पताल, थापाथली

नर्भिक अस्पतालले बिरामीबाट उठाउनुपर्नेभन्दा अन्य थप शीर्षक राखेर पैसा असुलेको अनुगमन समितिले भेटाएको थियो । नर्भिकले ‘कोअर्डिनेसन चार्ज, ‘हस्पिटल सरचार्ज’ जस्ता अनौठा शीर्षक राखेर बिरामी पर्यटकबाट ५ लाख ९३ हजार रुपैयाँसम्म रकम उठाएको थियो । साथै शीर्षकको मूल्य सूची माग्दा अध्ययन टोलीलाई समेत अस्पतालले उपलब्ध नगराएको उल्लेख गरेको पाइएको छ । 

स्वाकोन अस्पताल, बत्तीसपुतली

अनुगमन समितिले स्वाकोन अस्पतालले कार्यालयमा राखेको र बिरामीलाई दिएको बिल फरक–फरक भेटाएको छ । अस्पतालले कन्सल्ट्यान्ट डाक्टर बापत ६ हजार ९ सय र ड्युटीमा रहेका डाक्टरबापत ४ हजार ४ सय १६ रूपैयाँ तोकेकोमा  बिरामीलाई ८ हजार ६ सय ९ रूपैयाँ तिराएको छ । यो रकम सरकारले तोकेभन्दा १० गुणा बढी हो ।  

स्वाकोन अस्पतालले औषधिको मूल्य पनि बिरामीअनुसार फरक–फरक लिने गरेको गरेको पाइएको छ ।  एउटै औषधि बापत बिरामी संकेत नम्बर ११२७६७ लाई १० हजार र बिरामी संकेत नम्बर ११११०३ लाई १६ हजार एक ४२ रूपैयाँ  लिएको छ । यस्तै बिरामी संकेत नम्बर १११९७४ लाई चार दिन अस्पताल राखिएकोमा ६ दिनको शुल्क उठाएकोे छ ।

अस्पतालले एमबीबीएस डाक्टरले सेवा दिएको शीर्षकमा पनि आठ हजार दुई सय ८० रूपैयाँ लिएको छ । जबकी सरकारले एमबीबीएस डाक्टरले सेवा दिँदा चार सय, विशेषज्ञ डाक्टरले सेवा दिँदा चार सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञ डाक्टरले सेवा दिँदा चार सय ७५ रूपैयाँ सेवा शुल्क निर्धारण गरेको छ । एमबीबीएस डाक्टरको सेवा नै २० गुणा बढी लिने यो अस्पतालमा सीटी स्क्यान, एमआरआई सेवा र मोडुलर अपरेसन थिएटर समेत छैन ।

इरा हेल्थ सेन्टर, नयाँबजार

इरा हेल्थ सेन्टरले सन् २०१५ देखि २०१८ सम्म एक हजार एक सय ३० विदेशी पर्यटकलाई उपचार दिएको छ । यो हेल्थ सेन्टरको स्तर हेरेर सरकारले इमर्जेन्सी सेवा मात्र दिनु र थप उपचार आवश्यक परेमा रेफर गर्नु भन्ने निर्देशन दिएकोमा हेल्थ सेन्टरले तीन दिनसम्म राखेर उपचार गरेको भेटिएको छ ।

इराले हिमाल चढेपछि सामान्य समस्या लिएर आएका एक बिरामीलाई तीन दिनसम्म राखेर दुई लाख ६८ हजार चार सय ११ रूपैयाँ उठाएको भेटिएको छ । इराले यस्तो सेवा सञ्चालन गर्ने अनुमति नै पाएको छैन । 

बिरामीलाई एउटै मितिमा इमर्जेन्सी बेडमा पनि राखेको र भर्ना पनि गरेको भनेर दोहोरो बिल बनाएको भेटिएको छ । इरा हेल्थ सेन्टरले एक डाक्टरलाई पल्मोनोलोजिस्ट भनी उनको नाममा चर्को शुल्क असुलेको छ । तर नेपाल मेडिकल काउन्सिलको अभिलेखमा यस्तो विशेषज्ञका रूपमा उनको नाम नै छैन ।

इरा हेल्थ सेन्टरले एक सय २० रूपैयाँ पर्ने औषधिलाई तीन हजार तीन सय रूपैयाँमा बिक्री गरेको, अझ एचआइभीको परीक्षण पनि दिनमा दुई पटकसम्म गरेको, पटक–पटक गरिएका जाँचको रिपोर्ट बिरामीलाई नदिएको पाईएको छ ।

सिवेक अस्पताल, लैनचौर

सिवेक अस्पतालले एक हजार सात सय ७३ बिरामीको उद्धार गरी १४ करोड २३ लाख ९१ हजार चार सय ४७ रुपैयाँ भुक्तानी लिएको छ । जबकी अस्पतालले तीन आइसीयूसहित १५ शैया मात्र सञ्चालन स्वीकृति लिएको छ । २०७५ सालको माघ ८ गते पानीको मात्रा कम भई अस्पताल ल्याइएका एक बिरामीको सामान्य उपचारमै एक लाख ६९ हजार नौ सय ९६ रूपैयाँ भुक्तानी लिएको अस्पतालको अभिलेख छ ।

तर त्यही मितिमा भर्ना गरिएका बिरामी क्रेइग फोसडिकबाट भने तीन हजार ६ सय २० अमेरिकी डलर (झण्डै चार लाख रूपैयाँ) उठाएको अध्ययन टोलीले फेला पारेको छ । अस्पतालले एउटै बिरामीबाट उपचार गर्दा चिकित्सक परामर्श तथा उपचार सेवा, निदानात्मक सेवा, औषधि तथा उपभोग्य वस्तुहरू र हेरचाह एवं सहयोगलाई अत्यधिक धेरै शीर्षक एवं उपशीर्षकमा विभाजन गरी शुल्क लिने गरेको भेटिएको छ । 

एउटै शीर्षकमा एकमुष्ट सेवा शुल्क लिँदा ठूलो रकम देखिने हुँदा यसरी सेवा तथा शुल्कहरूलाई विभिन्न शीर्षक, उपशीर्षकमा विभाजन गरी शुल्क लिएको पाइएको बिरामीलाई आवश्यक नै नपर्ने विभिन्न प्रकारका जाँच गराउने तथा एकै प्रकारका परीक्षण पटक–पटक गराएको अध्ययनका क्रममा देखिएको छ । 

दमासी र ठगी मनग्ये भेटियो, तर कारबाही भएन

अध्ययन टोलीले मन्त्रालय समक्ष पेश भएको प्रतिवेदनमा विभिन्न अस्पतालका बदमासी भेटिए पनि कारबाही नभएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । 

जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा २७ (१) अनुसार स्वास्थ्य संस्था तथा सेवा प्रदायकले तोकिएको मापदण्ड अनुसार गुणस्तर कायम गरे नगरेकोसम्बन्धमा अनुगमन गर्ने र  मापदण्डको पालना नगरेमा संस्था बन्द गर्नेसम्मको कदम सरकारले चाल्न सक्छ । तर बदमासी नै बदमासी हुँदा पनि अस्पताललाई कारबाही भएको छैन । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया