‘पर्व र उत्सवका नाममा अटेर गरेर बाहिर ननिस्कनू, घरमै बसेर मनाउनू’

 भदौ ३, २०७७ बुधबार ८:५७:२४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – विगतमा चाडपर्व सुरु भैहाल्यो कि उत्साह र चहलपहल हुन्थ्यो । किनमेल, भेटघाट र अन्य धार्मिक तथा साँस्कृतिक कार्यक्रम पनि हुन्थे । मठ मन्दिर, नदी तलाउमा भक्तजन तथा दर्शनार्थीको भिड उत्तिकै देखिन्थ्यो ।

तर यसपाली कोभिड १९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण विगतमा जस्तो रौनक र चहलपहल छैन । तै पनि चाडपर्व र उत्सव मनाउने क्रममा देखिने गरेको जमघट र भिडभाडले कोरोनाको सङ्क्रमण र जोखिम भने बढाएको छ ।

सङ्क्रमण बढ्दै गर्दा अबको १५ दिनमा विभिन्न पर्व र उत्सव परेका छन् । बिहीबार प्रतिपदाका दिन तीजको दरखानेदेखि भदौ १७ गते पूर्णिमासम्म डोलेश्वर उत्सव, भक्तपुरे मंगल कुण्डेमेला, कागेश्वर मेला, फालो पर्व, गोरखकालीपूजा, इन्द्रध्वजोत्थान, इन्द्रदहस्नान र चेपाङ चोनामपर्व पर्छ ।

बुधबार कुशे औँसीका दिन बाबुको मुख हेर्ने गरिन्छ । त्यस्तै कुशेऔंसीको दुई दिनपछि शुक्रबार हरितालिका तीज परेको छ । तीजकै अवसरमा अघिल्लो दिन परिवार, आफन्त, इष्टमित्र भेला भएर दरखाने चलन छ । तीजको दुई दिन पछि आइतबार ऋषि पञ्चमी, १० गते गौरा पर्व, १६ गते कुमारी इन्द्रजात्रा मनाईंदैछ । यी पर्व र जात्रामा हुने जमघट, भिडभाड तथा नाचगानलाई घरपरिवारमै सीमित गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । बाहिर हेरेर कसलाई कोरोना सङ्क्रमण छ या छैन भन्न गाह्रो हुने भएकाले भिडमा सहभागी नहुन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ । 

चाडपर्व र जात्रा घरमै बसेर मनाउनू : स्वास्थ्य मन्त्रालय

सरकारले चाडपर्व, जात्रा, उत्सव घरमा नै बसेर मनाउन आग्रह गरेको छ । कोरोनाको सङक्रमण बढ्दै गएकाले घरमै बसेर चाडपर्व मनाउन र पूजा प्रार्थना गर्न, पाहुना नबोलाउन, जमघट गरेर रमाइलो नगर्न वा आस्थाका आधारमा धार्मिक समारोहमा भिडभाड नगर्न पटक पटक सचेत गराउँदै आएको छ । ‘आफू, आफ्नो परिवार, आफन्त तथा छिमेकीको स्वास्थ्यलाई ख्यालमा राखेर सचेत बन्नू, मन्दिर नजानू’ मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतम भन्नुहुन्छ, ‘दरखाने, नाचगान गर्ने या अन्य रमाइलो गर्ने निहुँमा जमघट र भिडभाड नगर्नू ।’ 

मन्त्रालयले चाडपर्व, जात्रा, उत्सव मनाउने मापदण्ड पनि जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै व्यक्तिगत र आयोजकले व्यवस्थापन गर्नुपर्ने विषय समेटेर चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड जारी गरेको हो ।

१) चाडपर्व घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट नगरी मनाउनुपर्ने र भेटघाट गर्नेपर्ने भएमा कम्तिमा २ मिटरको दूरी अनिवार्य रूपमा कायम गर्नुपर्ने ।

२) घर बाहिरको भेटघाटमा नजाने यदि जानै पर्ने भएमा मास्क अनिवार्य प्रयोग गर्ने ।

३) देवीदेवताका मूर्तिहरू र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउने सक्ने सामग्रीहरू नछुने, छोएको अवस्थामा साबुनपानीले हात धुने वा स्यानीटाईजर प्रयोग गर्ने ।

त्यस्तै उच्च जोखिम समूहमा पर्ने व्यक्तिहरू यस्ता चाडपर्व, जात्रा तथा धार्मिक कार्यमा  सहभागि नहुन पनि स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।

यस्ता व्यक्तिहरु मेलापर्व, धार्मिक कार्यक्रम तथा भिडभाडमा सहभागी हुनु हुँदैन

१) ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू,

२) ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरू,

३) १२ वर्ष मुनिका बालबालिकाहरू,

४) गर्भवती तथा सुत्केरीहरू,

५) रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू,

६) मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मृगौला र कलेजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य श्वासप्रश्वास सम्बन्धी दीर्घरोग भएका व्यक्तिहरू, अंग प्रत्यारोपण गरेका व्यक्तिहरू, शरीरमा मेडिकल उपकरणहरू राखेका व्यक्तिहरू ।

सरकारले चाडपर्व, जात्रा तथा धार्मिक कार्य गर्नेपर्ने खण्डमा व्यवस्थापनमा ध्यान दिन पनि आग्रह गरेको छ । त्यसका लागि मापदण्ड पनि तोकेको छ । भीड कम गर्न स्थानीय प्रशासन र सरोकारवालाहरूसँग समन्वय गरेर विभिन्न उपायहरू अपनाउनु पर्नेछ ।

१) पालिकाले स्थानिय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुने गरी कार्यक्रमको उचित प्रबन्ध मिलाउने,

२) कार्यक्रम स्थलमा धुमपान, मद्यपान र सूर्तीजन्य पदर्थहरूको सेवन पूर्णरूपले निषेधित गर्ने,

४) जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र जथाभावी थुक्ने व्यक्तिलाई स्थानीय प्रशासनले सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने,

५) सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ व्यक्तिले पञ्जा र ग्लोब्स लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र २ मिटरको भौतिक दूरी कायम गरी वितरण गर्ने,

६) प्रसाद वा अन्य फलफुलहरू निश्चित व्यक्तिहरूले घरमै गएर बाँड्ने व्यवस्था मिलाउने,

७) नदी वा तलाउमा समूहमा नुहाउनको सट्टा अन्य वैकल्पिक व्यवस्था मिलाउने, सम्भव भएसम्म एकाघरका परिवारका सदस्यहरू मात्रै बसी चाडबाड तथा पर्वहरू मनाउने ।

तोकेका मापदण्ड र निर्देशनको उल्लंघनले जोखिम बढ्यो 

चाडपर्वका बेला सरकारले तोकेका मापदण्ड र निर्देशनको उल्लंघन र अटेरी गर्ने क्रम बढेको छ । घरपरिवार र समुदायस्तरमा मनाइने सबै प्रकारका चाडपर्व, जात्रा र उत्सवहरुलाई ध्यानमा राखेर बनाएको मापदण्डलाई अटेरी गने क्रम बढेपछि कोरोना सङ्क्रमण र जोखिम पनि बढेको हो । निर्देशनको कार्यान्वयन, अनुगमन र आवश्यक व्यवस्थापनकाका लागि ७७ वटै जिल्लामा परिपत्र भएको गृह मन्त्रालयका प्रवक्ता बुढाले बताउनुभयो । 

‘यसपालि भेटघाट, जमघट गरेर चाडपर्व मनाउने अवस्था छैन’ मन्त्रालयका प्रवक्ता बुढाले भन्नुभयो, ‘सबै जिल्लाहरुमा आवश्यक निर्देशन भैरहेको छ, अटेरी गर्नेलाई कारवाही पनि गर्दै आएका छौं ।’ स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डलाई कार्यान्वयन गर्न बारम्बार निर्देशन दिंदै आएको गृह मन्त्रालयले जनाएको छ ।

चाडपर्व मनाउने मात्रै होइन चाडपर्वका बेला किनमेल पनि अलि बढी नै हुन्छ । किनमेलका लागि बजार जानेहरुले पनि उत्तिकै सजगता अपनाउनुपर्ने हुन्छ । अत्यावश्यक काम गर्दा होस् या धर्मकर्म र आस्थालाई अगाडि बढाउँदा सजग हुन र जिल्ला प्रशासन र पालिकाले जारी गरेका निर्देशनको पालना गर्न प्रवक्ता बुढाको आग्रह छ । ‘कतिपय ठाउँमा अपील गर्दागर्दै पनि पालना नभएको देखिन्छ’ उहाँले भन्नुभयो, ‘अटेरी गर्नेलाई कानुन अनुसार कारवाही गर्न सक्ने गरी निर्देशन भएको छ ।’

कस्तो कारवाही हुन्छ ?

सरकारले काठमाण्डौ उपत्यका सहित सकृय सङक्रमित दुई सय भन्दा धेरै भएका जिल्लामा भिडभाड, सभा सम्मेलन, आवतजावत निषेध गरेको छ । काठमाण्डौ उपत्यकामा बुधबार रातिदेखि एक हप्ता निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्ला र पालिकाले समेत निषेधाज्ञा लागू गरेका छन् । अटेरी गर्नेलाई विभिन्न जिल्ला र सङ्क्रमित क्षेत्रको अवस्था हेरेर फरक फरक कारवाही हुँदै आएको गृह मन्त्रालयले जनाएको छ । 

बिना पास हिँड्ने र गुड्ने गाडीलाई फर्काउने, मास्क नलगाएर हिँड्नेलाई मास्क वितरण गर्ने, होल्ड गर्ने, सम्झाईबुझाई गर्ने र जरिवाना गर्नेसम्मका काम हुँदै आएको गृह मन्त्रालयका प्रवक्ता बुढाले बताउनुभयो । त्यसैगरी स्थानीय प्रशासनले भिडभाड हुने गरी खोलिएका पसल तथा व्यवसायमा अनुगमन गर्ने, अवस्था हेरेर तत्काल बन्द गर्ने, अटेरी गरे कारवाही नै गर्ने गरेको उहाँको दावी छ । 

सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत आदेशलाई अपहेलना गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । ‘कानुन अनुसार हुने कारवाही त छँदैछ, थुनामै राखे पनि या अनुगमनमा पुगेर कारवाही गर्नुपर्ने अवस्थामा पनि कोरोना सङ्क्रमण बढाउन सक्ने अर्को जोखिम छ’ गृह प्रवक्ता बुढाले भन्नुभयो, ‘कारवाहीबाट बच्नका लागि मात्रै नभएर नागरिकले कोरोना सङ्क्रमण फैलिन नदिन आफ्नो दायित्व पालना गर्नु बढी महत्वपूर्ण हुन्छ ।’
 

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया