हामीले स्थानीय सरकार बनाएका हौँ, राजा होइन : प्रचण्ड

 साउन २२, २०७५ मंगलबार १८:२९:७ | केसी लामिछाने
unn.prixa.net

पर्सा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि प्राप्तिका लागि मुलुकमा लगानीमैत्री वतावरण बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

मंगलबार वीरगंजमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नगर तथा जिल्ला संघहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो संघर्षपछि आएको परिर्वतनमा अपेक्षा गरिए जस्तो उपलब्धि हासिल नभएको चिन्ता समेत व्यक्त गर्नुभयो  । 

उहाँले राज्य र नेतृत्वको सोच परम्परागत रहेको र त्यसको विरासत अहिले पनि कायमै रहेकोले सचेत हुन पर्ने अवस्था हुन  पर्ने बताउनुभयो । अध्यक्ष दाहालले राज्यको सोचमा उद्योग व्यवसायीहरु ठग हुन भन्ने कुराले जरा गाडेको बताउनुभयो । संसारमा देशहरुले कसरी विकास गरे भन्ने चर्चा गर्दै अध्यक्ष दाहालले जुन देशमा मुनाफा कमाउने स्वतन्त्रता छ त्यस्ता देशहरु विकासको दिशामा अगाडि बढेको छन् भन्नुभयो । उहाँले भन्नुभयो, ‘नाफा कमाउने कुराको सुनिश्चतता नहुँदासम्म लगानी पनि हुँदैन उत्पादन पनि बढ्दैन र रोजगारी पनि सिर्जना हुँदैन ।’
 
अध्यक्ष दाहालले राज्यले लगानीमैत्री वतावरण नबनाउँदासम्म पूँजी पलायन हुने चर्चा गर्नुभयो । उहाँले मुलुकमा देखिएको करप्रणालीको चर्चा गर्दै कताकता आफूलाई बाइसे र चौबसे राज्यको अभ्यासतिर जान खोजेजस्तो भएन भन्ने प्रतिप्रश्न गर्नुभयो  । तीन ठाउँमा कर तिर्नु  पर्ने अवस्थामा आएको उहाँले आफू सबैभन्दा बढी चिन्तित भएको बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहले कर तिर्दातिर्दै आजित भएका जनताको सर्मथन पाएर नेपालको एकीकरण गरेको प्रसंग समेत सुनाउनुभयो ।

अध्यक्ष दाहालले आफूहरुले राजा नभई स्थानीय सरकार बनाएको बताउँदै जनताको घरदैलोमा स्थानीय सरकारको पहुँच र विकास निर्माणमा जनताको सहभागिताको वातावरण बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको  बताउनुभयो ।  
 
बढ्दो आयातलाई प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धनका लागि वैदेशिक लगानी अपरिहार्य बनेको दाहालले बताउनुभयो  । वैदेशिक लगानीबिना विकासको भावनालाई सम्बोधन गर्न असम्भव भएको बताउँदै नेकपा अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यसका लागि आफ्नै देशभित्रका पूँजीको सुरक्षा गरी ऐन कानुनको झन्झट हटाई वैदेशिक लगानीको वातावरण बनाउनुपर्छ ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया