कविता : जनताको माया लाग्दैन ?

 भदौ २०, २०७७ शनिबार ८:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

डा.राजुबाबु श्रेष्ठ

 

म जनता हुँ

पानी जस्तै कञ्चन छु

मेरो कुनै रङ्ग छैन

जस्ले जे मिसाउँछ त्यस्तै बन्छु 

रातो मिसाउँदा 

गुराँस जस्तै सुन्दर देखिन्छु

सेतो मिसाउँदा 

हिमाल जस्तै बेदाग देखिन्छु

निलो मिसाउँदा 

आकास जस्तै निश्चल बन्छु ।

 

म जनता हुँ

पानी जस्तै स्वच्छ छु 

मेरो कुनै जात छैन 

म कतै ब्राम्हण छु 

कतै दलित छु

म कतै मधेशी छु

कतै पहाडी छु

म सबैमा छु

मलाई कुनै सिमानाले छेक्दैन 

कुनै रंग र जातले छुँदैन ।

 

म जनता हुँ

पानी जस्तै पवित्र छु

मेरो कुनै एउटा धर्म छैन

कहिले मन्दिर र मस्जिदमा जान्छु

कहिले चर्च, गुम्बा र गुरुद्वारा जान्छु

म कुनै एकमा बाँधिन सक्दिनँ

म सबैको हुँ

सबै देउताहरुको अस्तित्व

उस्तै उस्तै देख्छु

विश्वासको आयतन

उस्तै उस्तै देख्छु ।

 

ए नेता ज्यू !

फेरि तपाईं किन मलाई

कहिले दलितको कित्तामा राखेर

आन्दोलन गर्न लगाउनु हुन्छ ?

कहिले रामको नाम जपेर

मस्जिदमा आगो झोस्न लगाउनु हुन्छ ?

कहिले पार्टीको झण्डा बोकाएर

बिरोधी सफाया गर्न लगाउनु हुन्छ ?

के साँच्चै तपाईंलाई

जनताको माया लाग्दैन नेता ज्यू ?
 

इमेल : [email protected]


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया