कोरोनाको जोखिममा रहेका कैदीबन्दीलाई छाड्न वा सजाय घटाउन सर्वोच्चको आदेश

 भदौ २५, २०७७ बिहीबार १७:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका कारागारका कैदीबन्दीलाई छाड्न वा सजाय घटाउन आदेश दिएको छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको तर व्यवस्थापन उचित नभएको तथा सबै कारागारमा स्वास्थ्य उपचारको सहज पहुँच र स्वास्थ्यकर्मीको दरबन्दीसमेत नभएको भन्दै सर्वोच्चले तत्काल उचित व्यवस्था गर्न आदेश दिएको हो ।

कैदीको कोरोना परीक्षणको दायरा बढाउन, आइसोलेशन बेडको सङ्ख्या बढाउन, क्वरेण्टीनका लागि व्यवस्था गर्न, जोखिमपूर्ण कारागारका कैदीलाई स्थानान्तरण गर्न तथा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका अन्य कार्य गर्न आदेश दिएको हो ।

कारागारमा नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती तथा जटिल स्वास्थ्य समस्या भएका कैदीहरुलाई प्राथमिकताको आधारमा उनीहरुको अवस्थाको सतर्कतापूर्वक पहिचान गरी तत्काल छाड्ने वा सजाय कम वा छुट गर्ने निर्णय गर्न सरकारलाई आदेश दिएको हो ।

अहिलेसम्म कारागारमा रहेका २४ हजार एक सय ६३ कैदीमध्ये पाँच सय सय ९६ जनाको मात्रै कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये एक सय १८ जनामा पोजिटिभ देखिएको र तीमध्ये ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

केन्द्रीय कारागार काठमाण्डौमा थुनामा रहेका गोपाल सिवाकोटी चिन्तन, राम शर्मालगायत सात जना कैदी र थुनुवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालयविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । त्यसमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाले सरकारका नाममा विभिन्न आदेश दिएका थिए ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको आदेशको पूर्ण पाठमा वैकल्पिक कारागार प्रणालीको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया