वैकल्पिक शिक्षामा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्त्वपूर्ण

 असोज १, २०७७ बिहिबार ८:३७:६ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – सरकारले यो शैक्षिक सत्र आउँदो चैतमै सक्ने गरी पठ्यवस्तु समायोजन गरेको छ । सामान्यतया वैशाख पहिलो हप्ता नयाँ शैक्षिक सत्र सुरु हुने गरे पनि यो वर्ष कोरोना संक्रमणका कारण त्यसो हुन सकेन । अझै केही समय विद्यालय खुल्ने अवस्था छैन ।

झण्डै तीन महिना पठनपाठन ठप्प भएपछि केही निजी विद्यालयले अनलाइनबाट पढाई सुरु गरे । त्यसमा समर्थन गर्दै सरकारले साउन १ गतेदेखि रेडियो, टेलिभिजन, अनलाइन लगायत वैकल्पिक विधिबाट पढाउन थाल्यो ।यस्तै सरकारले वैकल्पिक पढाइलाई मान्यता दिएर यो शैक्षिक सत्र अन्त्य गर्ने निर्णय गरिसकेको छ । त्यसकै लागि पाठ्यक्रम विकास केन्द्रले सात महिनामा शैक्षिक सत्र सक्ने गरी कसरी पाठ्यवस्तु समायोजन गरेको छ । यसै विषयमा सजना तिमल्सिनाले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालसँग गरेको कुराकानीको सम्पादित अंश : 

सात महिनामा शैक्षिक सत्र सक्ने गरी कसरी पाठ्यवस्तु समायोजन गरियो ? 

मूल पाठ्यक्रमका विषयवस्तुलाई दुई भागमा विभाजन गरिएको छ । एउटा भागमा शिक्षकले सहजीकरण नगरी नहुने जुन कुरा विद्यार्थीले सिकेकै छैनन्, त्यस्तालाई राखिएको छ । अर्को भागमा शिक्षकले सहजीकरण गरिसकेपछि उसले जानेको आधारमा विद्यार्थी स्वयमले सिक्ने वा अभिभावक वा रेडियो, टेलिभिजनबाट हुने क्लासबाट सिक्ने विषयवस्तु राखिएको छ । 

शिक्षा मन्त्रालयले वर्गीकरण गरेको पाँच समूहका आधारमा पाठ्यवस्तु तयार पारिएको हो ? 

विद्यार्थीलाई त्यो वर्गीकरण भनेको पहुँचको आधारमा हो । तर सिक्नेले एउटै कुरा सिक्नुपर्छ । अलग अलग सिक्दैनन् । त्यही भएर सिकाइको विधि पनि फरक हुन्छन् । तरिका फरक हुन्छन् । कसैले किताब पढ्लान् । किताबै मात्र हेर्लान् । शिक्षक र अभिभावकले सहयोग गर्लान् ।

कसैले टेलिभिजन हेर्लान् । कसैले इमेल इन्टरनेटको प्रयोग गर्लान् अथवा कसैले सबै प्रविधिको प्रयोग गर्लान । त्यो त विद्यार्थीको विकल्पमा भर पर्छ र प्राप्त सुविधाको आधारमा भर पर्छ । यो त विभिन्न विधि भयो । तर सिक्नुपर्ने कुरा सबैलाई एउटै हो । 

पाठ्यवस्तु समायोजनले वैकल्पिक शिक्षा प्रणालीलाई कसरी सघाउँछ ? 

पाठ्यवस्तुलाई कसरी शिक्षण गर्ने भन्नेमा वैकल्पिक विधिमै केन्द्रित गरेका छौं । वैकल्पिक विधिमा विभिन्न तरिका छन् । एउटा होम स्कुलिङ, रेडियो, टेलिभिजन, अनलाइन अनि भोलि सहज भएको अवस्थामा आमने सामने ‘फेस टु फेस’ भएर पढाउन सकिन्छ ।

यी तरिकामध्ये कुन उपयुक्त हुन्छ त्यो तरिकाबाट स्थानीय तहले छनौट गर्छ । हाम्रो चाहिँ मुख्य ढाँचा हो । यी विधिबाट कुन उपयुक्त हुन्छ त्यही गर्नुहोस् भनेका छौं । 

समग्रमा यो शैक्षिक सत्र खेर जान नदिन पाठ्यवस्तु समायोजन गरियो होइन त ? 

पक्कै पनि यो शैक्षिक सत्र खेर नजाओस् । विद्यार्थीले सिक्नुपर्ने कम्तिमा न्यूनतम कुरा सिकुन् । जसले गर्दा माथिल्लो कक्षामा पढ्नलाई उनीहरुलाई सजिलो होस् । त्यसका निम्ति नै हामीले अहिलेको पाठ्यवस्तु समायोजन गरेर ढाँचा विकास गरेका हौँ । यो ढाँचा शिक्षा मन्त्रालयबाट स्वीकृत भएको ‘सिकाई सहजीकरण निर्देशिका’मा उल्लेख भएका विषयकै पुरकको रुपमा हो । 

कार्यान्वयनमा कतिको चुनौती देख्नुहुन्छ ? 

कार्यान्वयन एकदम चुनौती छ । किनभने अहिलेको परिस्थिती नै चुनौतीपूर्ण छ । चुनौतीभित्रै समाधान खोज्नुपर्ने रहेछ । त्यो भन्दा अरु विकल्प पनि छैन । यो चुनौतीको समयमा वैकल्पिक शिक्षामा बालबालिकाका लागि शिक्षक र अभिभावक क्रियाशिल हुनुपर्छ ।

शिक्षक र अभिभावक क्रियाशिल भएपछि विद्यार्थीले मैले पढ्नुपर्छ, मेरो शैक्षिक सत्र खेर जान दिनु हुँदैन भनेर सोच्न सक्छन् । शिक्षकले मेरा विद्यार्थीको पढाइमा क्षति नहोस् मैलै जसरी पनि सिकाउनुपर्छ भनेर सोच्नुपर्छ । सँगसँगै अभिभावकले पनि बालबाललिकाको चिन्ता गरेर सक्रिय हुने हो भने वैकल्पिक शिक्षा सम्भव छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया