स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेकामध्ये एकैदिन ४८ जना पक्राउ

 असोज ५, २०७७ सोमबार १०:२८:३० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेकामध्ये एकैदिन ४८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो एकैदिन उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, अंशवण्डा, सम्बन्धविच्छेद, कुटपिट लगायतका विभिन्न मुद्दा लागेपछि फरार भएका उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।

पक्राउ पर्नेहरुमा हाडनाता करणी मुद्दामा २ वर्ष कैद तोकिएपछि २३ वर्षदेखि फरार रहेका हरिनास गाउँपालिका ५ का ६४ वर्षका कर्णबहादुर भट्ट क्षेत्री, सवारी ज्यान मुद्दामा २ वर्ष कैद तोकिएपछि विगत १५ वर्षदेखि फरार रहेका चापाकोट नगरपालिका ४ का भक्त सुनारी मगर, डाँका चोरी मुद्दामा ६ वर्ष कैद तोकिएर विगत १० वर्षदेखि फरार रहेका हरिनास १ का ६२ वर्षका लालबहादुर नाम्जालीलगायत रहेका अधिकारीले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक महिनामा ८३ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता अधिकारीले बताउनुभयो । केहीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया