पर्यटनको फाइदा गाउँगाउँमा पुग्दै,  सबै प्रदेशमा ‘पर्यटन गाउँ' बनाउने प्रक्रिया सुरु

 असोज ६, २०७७ मंगलबार ९:२६:१० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले हरेक प्रदेशमा एक एक वटाका दरले नयाँ पर्यटन गाउँ निर्माणको लागि कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले कार्यविधिको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेर सुझाव मागेको छ । 

नेपाली ग्रामिण क्षेत्रमा ट्रेकिङ, जंगल सफारी, साहसिक पर्यटन‚ जंगली जनावर तथा चरा अवलोकन, प्राकृतिक दृष्यावलोकन, स्थानीय संस्कृतिको अवलोकनको लागि नयाँ पर्यटन गाउँ बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

यस्तै कृषि तथा घरेलु उद्यम खानपान, ग्रामिण जीवनशैली, संस्कृति, भेषभुषा, सीप र परम्परा जस्ता उद्यम तथा सांस्कृतिक विविधतामा आधारित पर्यटनको लाभ स्थानीय पालिकासम्म पुर्याउनको लागि पर्यटन गाउँको कार्यविधि बनाएर लागू गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

चार प्रकारका पर्यटन गाउँ बन्दै

मन्त्रालयले बनाएको कार्यविधि अनुसार चार प्रकारका पर्यटन गाउँ बन्नेछन् । प्राकृतिक पर्यटन गाउँ, सांस्कृतिक पर्यटन गाउँ, मानव निर्मित पर्यटन गाउँ र मिश्रित पर्यटन गाउँ बन्नेछन् । यस्ता गाउँ निर्माणको लागि सबैभन्दा पहिले सम्बन्धित पालिकाले प्रस्ताव बनाएर जिल्ला समन्वय समितिमा पठाउनुपर्नेछ । पालिकाले पुरै पालिका वा पालिकाभित्रका दुई ठाउँलाई  पर्यटन गाउँको रुपमा तोकेर प्रस्ताव पठाउनुपर्नेछ । असोज मसान्तभित्र गाउँ छनोट गरेर जिल्ला समन्वय समितिमा पठाइसक्नुपर्नेछ । 

जिससले विभिन्न अंकभारका आधारमा पर्यटन गाउँको सूची सम्बन्धित प्रदेशको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयमा सिफारिस गर्नुपर्नेछ । 

जिससले पठाएका पर्यटन गाउँको सूचीमध्ये बढी अंक पाउने दुई वटासम्म पालिकाको नाम मंसिर तेस्रो हप्तासम्म संघीय मन्त्रालयमा पठाइसक्नुपर्नेछ । यसरी हरेक प्रदेशले पठाएका दुई वटाका दरले १४ वटा पर्यटन गाउँको सूची संघीय पर्यटन मन्त्रालयमा आउनेछ ।

प्रदेश मन्त्रालयको छनौटकाका आधारमा संघीय पर्यटन मन्त्रालयले हरेक प्रदेशमा एउटा पर्यटन गाउँ छनोट गर्नेछ । संघीय सरकारले स्थलगत अध्ययनसमेत गरेर हरेक प्रदेशमा पर्यटन गाउँको योजना तयार पार्नेछ । पर्यटन गाउँमा सबै प्रकारका सुविधा हुनेछन् ।

पर्यटन गाउँ छनोटका आधार

पर्यटन गाउँको प्रारम्भिक सूची सार्वजनिक गर्दा तीन वटा कुरालाई मुख्य ध्यान दिनुपर्नेछ । गाउँ छनोट गर्दा मुलवस्तुलाई ध्यान दिनुपर्नेछ । यस अन्तरगत अद्धितीय र विशिष्ट पर्यटकीय आकर्षण, स्थानीय सामाजिक र सांस्कृतिक जीवन, मनोरञ्जनात्मक स्थल, साहशिक गतिविधि तथा पर्यटक आकर्षित गर्ने संरचना हुनुपर्नेछ । 

सहयोगी वस्तु अन्तरगत विशिष्ट प्रकारका आवास, ग्यालरी, अद्धितिय लज, उपहार, पकवान, पाकशाला, परम्परागत यातायात र पर्यटकको अनुभवलाई  बढी रमाइलो पार्न मद्दत गर्ने वस्तुलाई प्राथमिकता दिनुपर्ने कार्यविधिमा उल्लेख छ । 

यस्तै पर्यटन गाउँ छनोट गर्दा पूरक वस्तुलाई पनि ध्यान दिईनेछ । यस अन्तर्गत पर्यटन सूचना केन्द्र, संकेत चिन्ह, पर्यटक पथ, पर्यटक गाइड तथा पर्यटकीय क्रियाकलाप गर्न सहयोग पु¥याउने सुविधालाई हेरिने कार्यविधिले जनाएको छ । 

गाउँको सूची टुंगो लागेपछि पर्यटन मन्त्रालयले सम्बन्धित प्रदेश र पालिकासँग समन्वय गरेर पर्यटन गाउँको गुरुयोजना बनाउनेछ । पर्यटन विभागले पर्यटन गाउँको डीपीआर निर्माण गरेर स्वीकृत गर्नेछ । पर्यटन गाउँ बनाउँदा लाग्ने स्रोतको बन्दोबस्त तीनवटै सरकारले गर्नेछन् । पर्यटन गाउँको प्रवद्धन र बजारीकरण प्रदेश सरकार र पर्यटन बोर्डले गर्नेछन् । 

पर्यटन गाउँमा जन सहभागितालाई जोड

पर्यटन गाउँ बनाउने सिलसिलामा विभिन्न कामको लागि उपभोक्ता समिति निर्माण गर्न सकिनेछ । तर एउटा वडामा तीन वटा भन्दा धेरै उपभोक्ता समिति बनाउन पाइने छैन । 

पर्यटकीय गाउँ बनाउने क्रममा ठूला उपकरण सञ्चालन गर्नुपर्ने भएमा प्रतिस्पर्धाका आधारमा ठेक्कामा लगाउन सकिनेछ । पर्यटन गाउँको अनुगमन र मूल्याङक्नको लागि पालिकाले नै समिति बनाउन सक्छन् । संघीय र प्रदेश मन्त्रालयले प्राविधिक सहयोग गाउँपालिकालाई उपलब्ध गराउनेछन् ।

यस्तै पर्यटन गाउँ निर्माण  भएपछि सञ्चालन र व्यवस्थापनको लागि गाउँपालिकाका अध्यक्ष नै अध्यक्ष रहने गरी सञ्चालन तथा व्यवस्थापन समिति गठन हुनेछ । 

(तस्बिर : नेपाल पर्यटन बोर्ड)


 

अन्तिम अपडेट: चैत ४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया