'कुलमान नहुँदा बत्ती गयाे' भन्ने हल्ला बढेपछि ऊर्जा मन्त्रालयमा बैठक

 असोज ८, २०७७ बिहिबार १७:१२:१५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – भदौको ३१ गते कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बिदा हुनुभयो । कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदा पनि फाट्टफुट्ट बत्ती जान्थ्यो, नागरिकले प्राविधिक कारणले बत्ती गएको भनेर टिप्पणी गर्थे । तर पछिल्लो एक हप्तायता बत्ती जाने क्रम बढेको छ । त्यो पनि ११/१२ घण्टासम्म । झ्याप्प झ्याप्प बत्ती जाने क्रम बढेपछि नागरिकले पहिलेकै लोडशेडिङको झल्को आएको र कुलमानको बिदाइसँगै अघोषित लोडशेडिङ भएको शङ्का गर्न थालेका छन् । 

पछिल्लो एक हप्तामा ललितपुरका विभिन्न ठाउँमा तीन दिन १० घण्टाभन्दा धेरै समयका दरले बत्ती गएको छ । काठमाण्डौमा पनि विभिन्न क्षेत्रमा बत्ती गएको भन्दै सामाजिक सञ्जालमा दुखेसो र आक्रोश पोख्नेको कमी छैन । 

तर नेपाल विद्युत् प्राधिकरणले भने अहिले केही ठाउँमा बत्ती गइरहेको कुरालाई कुलमानसँग जोड्नुको कुनै अर्थ नरहेको जनाएको छ । लगातारको झरी र हावाहुरीका कारण ठाउँ ठाउँमा खम्बा ढलेको, रुख ढलेको, पहिरोले क्षति पुर्‍याएको लगायतका कारण बत्तीमा केही समस्या आएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताउनुभयो । 

‘पानी पर्दा, हावाहुरी चल्दा विभिन्न समस्याका कारण केहीबेर बिजुली जानु स्वभाविक हो, यसलाई कुनै व्यक्तिसँग जोड्नु उचित होइन’, कोइरालाले भन्नुभयो, ‘यस्तो झरीमा पनि हाम्रा कर्मचारी खटिएर जतिसक्यो छिटो लाइन सञ्चालनमा जुट्नुभएको छ, बाहिर हल्ला गरेजस्तो लोडशेडिङ हुन लागेको हुँदै होइन ।’

लगातारको झरीका कारण कहाँनेर समस्या आएको हो भन्ने ठम्याउन पनि समस्या हुने र मर्मतमा पनि समय लाग्ने भएकाले बत्ती गएका ठाउँका सर्वसाधारणले धैर्यता गर्नुपर्ने पनि बताउनुभयो । 

मन्त्रालयमा आकस्मिक बैठक

कुलमान घिसिङ प्राधिकरणमा नभएकैले बत्ती गयो भनेर धेरै गुनासो बढेपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त प्रमुख लेखनाथ कोइरालालाई बोलाएर समस्या समाधानको लागि निर्देशन दिनुभएको छ । झरीका कारण विद्युत् वितरणमा आएको समस्यालाई पूर्ण शक्ति लगाएर समाधान गर्न मन्त्री पुनले निर्देशन दिनुभएको हो । 

‘तपाईँले आफूलाई निमित्त होइन पूर्ण कार्यकारी निर्देशक नै सम्झेर काम गर्नुहोस्, नागरिकका जायज गुनासा तत्कालै समाधान गर्नुहोस्, तपाईँको तहबाट समाधान नहुने भएमा मलाई भन्नुहोस्, मैले पनि पहल गर्छु’, मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई भन्नुभयो ।

कसैले काम गर्न अटेर गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने जिम्मेवारी पनि रहेको भन्दै मन्त्री पुनले हल्लाको पछि नलागी काम गर्न निर्देशन दिनुभएको  छ । 

‘जनता हाम्रा ग्राहक हुन्, जनताको समस्या समाधान गर्नु कर्तव्य हो, गुनासा आउँदैमा नआत्तिनुहोस्, काम गर्नुहोस्’, मन्त्रीले निर्देशन दिनुभयो । 

अहिले बिजुलीको बारेमा कतिपय हल्ला नियोजित रहेको र इमान्दारिताका साथ काम गरेमा हल्ला हटेर जाने मन्त्री पुनको भनाइ छ ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया