आङरिता शेर्पा : जसको काम किंवदन्ती जस्तै लाग्छ

 असोज १०, २०७७ शनिबार ८:२७:३३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

‘कैयौंका लागि किंवदन्ती लाग्ने कीर्तिमान राखेका हिमाल आरोही आङरिता शेर्पाको निधन’, आङरिता शेर्पाको मृत्युपछि सोमबार प्रबोध मल्लले गर्नुभएको यो ट्वीट्ले कीर्तिमानी आरोही शेर्पाको असाधारण क्षमतालाई संकेत गर्छ ।

आफ्नो आरोहण कालमा सबैभन्दा चर्चित आरोही शेर्पाको गएको सोमबार ७२ वर्षको उमेरमा काठमाण्डौमा निधन भयो । बिक्रम संवत २००५ सालमा सोलुखुम्बुको थामे गाउँमा जन्मनुभएका शेर्पाले झण्डै २५ वर्षअघि राख्नुभएको कीर्तिमान तोड्न आजसम्म कसैले सकेको छैन भने अब पनि त्यो कीर्तिमान तोड्न असंभव जस्तै रहेको सबैभन्दा कम उमेरमा विश्वका सबैभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्नुभएका आरोही मिङ्मा डेभिड शेर्पा बताउनुहुन्छ ।

आङरिता शेर्पाले अतिरिक्त अक्सिजन बिना १० पटक सगरमाथाको आरोहण गरेर कीर्तिमानी राख्नुभएको थियो । त्यसैले उहाँलाई पर्वतारोहण जगतले हिउँ चितुवाको उपनाम दिएको छ । हिउँ चितुवा हिमाली क्षेत्रको सबैभन्दा बलियो जनावर मानिन्छ । संकटमा रहेको हिउँ चितुवा जस्तै आङरिता जस्ता बलिया आरोहीहरुको पनि कमी हुँदै गएको आरोहण क्षेत्रमा काम गर्नेहरु बताउँछन् । आङरिता शेर्पाको निधनबाट नेपालको पर्वतारोहण क्षेत्रले एउटा चम्किलो तारा गुमाएको छ । 

दुई दशकअघि कलेजो सम्बन्धी रोगबाट पीडित भएका शेर्पालाई साढे चार वर्षअघि मस्तिष्क सम्बन्धी समस्या थपिएको थियो । थामेमा चाैँरीपालन गर्ने सामान्य परिवारमा जन्मिएका शेर्पाले भारत, अमेरिका लगायतका देशका नागरिकले आफ्नो देशमा बसोबासको राम्रो व्यवस्था मिलाइदिन्छु भनेका थिए । तर उहाँले यो मेरो माटो भन्दै जान नमान्नुभएको परिवारका सदस्य बताउँछन् । 

पछिल्ला वर्षहरुमा उपचारका लागि खर्च जुटाउन धौधौ परेको भए पनि सरकारबाट सहयोग नपाएको उहाँको परिवारका सदस्यले बारम्बार गुनासो गर्दै आएका थिए । 

काम गर्दै जाँदा बनेको कीर्तिमानी

​नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ्छिरिङ शेर्पा आङरिताले हिमालमा कीर्तिमानी बनाउनुपर्छ भनेर कहिल्यै नसोचेको बताउनुहुन्छ । शेर्पा भन्नुहुन्छ, ‘सामान्य परिवारमा जन्मेको एउटा किशोर काम खोज्दै हिमालतिर गयो, कामलाई प्राथामिकता दियो, उसको बलियो शरीरले साथ दियो र सधैं प्रकृतिको साथमा रह्याे । यही कारण उसको कीर्तिमानी बन्यो, यसमा कीर्तिमानी बनाउनेतर्फ उसको सोच कहिल्यै गएको थिएन ।’

१५ वर्षको कलिलो उमेरमै भरियाका रूपमा पर्वतारोहण पेशा सुरु गरेर उकालो लागेका आङरिता आफ्नो व्यवसायमा कहिल्यै तल झर्नु परेन । सन् १९८३ देखि सन् १९९६ को १३ वर्षमा अतिरिक्त अक्सिजन बिना संसारको अग्लो चुचुरोमा पुगेर विश्वलाई नै चकित बनाइदिनुभयो । सगरमाथा बाहेक अरु विभिन्न हिमाल पनि उहाँ अतिरिक्त अक्सिजन बिनै चढ्नुभएको छ । उहाँको कामलाई अहिले पनि विश्वका ख्यातीप्राप्त पर्वतारोहीले किंवदन्तीका कथा जस्तै ठान्छन् । तर त्यही काम आङरिताले बारम्बार गर्नुभयो ।

हुन त सन् १९८३ मा आङरिताले सगरमाथा चढ्नु पाँच वर्षअघि नै अष्ट्रियाका पिटर हेब्लर र इट्लीका राइनहोल्ड मेस्नरले अक्सिजनबिना सगरमाथा चढेका थिए । तर बारम्बार यो काम निकै कठिन भएको आरोहणको क्षेत्रमा काम गर्नेहरु बताउँछन् । आङरिता शेर्पाले संचारमाध्ययमसँग कुरा गर्दा अक्सिजन बिना सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सक्दा आफ्नो आत्मविश्वास र पेशाप्रतिको प्रतिबद्धता बढेको बताउनुहुन्थ्यो । 

उहाँ शोखले हैन कामका लागि सगरमाथाको शिखर जानुभएको हो । आरोहणका लागि आएका विदेशीहरुलाई बाटो देखाउँदै, तान्दै, उचाल्दै, बोक्दै गर्दा उहाँ बारम्बार शिखरमा पुग्नुभयो । पर्वतारोहण सहयोगीहरुले आफूले जिम्मा लिएको आरोहीलाई शिखरमा पुर्याएर आधार शिविर ल्याउन धेरै संघर्ष गर्नुपर्छ । अहिले हिमालमा लगाउने कपडादेखि अरु प्रविधिहरु निकै सुधारिएका छन् । तर निकै गहु्रँगो सामान भएको उहाँको आरोहणकालमा आरोहीलाई माथि लैजानु निकै कठिन काम थियो । त्यसबेला आफ्नो लागि अक्सिजनको सिलिण्डर नचाहिँदा पनि आरोहीलाई सहयोग गर्न सजिलो हुन्थ्यो । यसका लागि उहाँको स्वास्थ्यले साथ दियो । 

प्रकृतिलाई सम्मान 

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ्छिरिङ शेर्पा निकै शक्तिशाली क्षमता भएका आङरिताले आरोहणमा प्रकृतिको बिरुद्धका कहिल्यै जान नहुने कुरा बारम्बार दोहोर्याउने गरेको बताउनुहुन्छ । हिमालमा हिउँ पर्छ, हावाहुरी चल्छ, हिमपहिरो जान्छ, यी सबै भइरहने कुरा भएकोले यिनीहरुको अवस्था विचार गरेर मात्र आरोहणमा जान सल्लाह दिने आङरिताले आफूसँग भएका आरोहीलाई जोगाउन हिमालको मौसमबारे ज्यादै ख्याल गर्ने गरेका शेर्पा बताउनुहुन्छ । 

सन् १९८७/८८ को हिउँदयाममा गरेको आफ्नो एक मात्र सगरमाथा आरोहणका क्रममा उहाँले एउटा दक्षिण कोरियाली समूहलाई सघाउनुभएको थियो । त्यसबेला खराब मौसमका कारण एक जना कोरियाली पर्वतारोहीसँगै आफू हराएको र दुवै जनाले शरीरलाई न्यानो बनाइराख्न रातभरी व्यायाम गरेको आङरिताले बताएका खबरहरु छापिएका थिए । आफ्नो साथमा रहेकाहरुलाई समस्या आएमा सजिलै बोकेर हिँड्न सक्ने शेर्पा प्रतिकूल अबस्थाबाट जोगिन सावधानीका उपायहरु सिकाउनुहुन्थ्यो । हिमाल आरोहण सम्बन्धी पढाइ वा तालिम नभए पनि उहाँ आरोहणमा अब्बल हुनुहुन्थ्यो । 

सन् १९९६ मा सगरमाथाको शिखरमा पुगेपछि उहाँको आरोहण रोकियो । उहाँ अझै सगरमाथाको शिखरमा जाने इच्छा राखेको भए पनि कलेजो सम्बन्धी रोग देखा परेपछि शरीरमा समस्या हुने भन्दै तत्कालीन राजा वीरेन्द्रले नै अब आरोहणमा नजान आग्रह गर्नुभएको थियो । वीरेन्द्रले छोरा दीपेन्द्रलाई शेर्पाको कोठामै पठाएर अब आरोहण नगर्न अनुरोध गरेपछि शेर्पाले आरोहण छाड्नुभएको उहाँको परिवार बताउँछन् । 

राष्ट्रिय सम्मान

तत्कालीन राजा वीरेन्द्रले दरबारमा आउनु भन्ने खबर पठाएका भए पनि आफू नगएको शेर्पा बताउनुहुन्थ्यो । राजाले केही चाहिन्छ कि भनेर सोध्दा अहिले सबै ठिक छ भन्ने शेर्पाले जिन्दगीको उत्तराद्र्धमा भने आर्थिक समस्या भोग्नुप¥यो । तर त्यसबेला सरकारले वास्ता गरेन । उपचार गर्ने बेलामा पटक/पटक खर्च नपुगेर उपचार रोक्नुपर्ने अवस्था आउँदा पनि सरकारले वास्ता नगरेको परिवारका सदस्य गुनासो गर्थे । 

आरोहण छाडेको झण्डै साढे दुई दशकसम्म अनेक समस्या झेलेका शेर्पालाई मृत्युपछि भने सरकारले सम्झेको छ । राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेर सरकारले आङरिता शेर्पाको योगदानलाई कदर गरेको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो । गएको सोमबार निधन भएका शेर्पाको बुधबार राष्ट्रिय सम्मानका साथ बुधबार टेकु दोभावमा अन्त्येष्टि गरिएको हो । 

आङरिता शेर्पाको निधनको खबर बीबीसी, सिन्ह्वा, सिएनएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ सम्प्रेषण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री योगेश भट्टराई लगायतले कीर्तिमानी आरोही आङरिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 
 

अन्तिम अपडेट: असोज १३, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया